राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
प्रतिनिधिसभाका लागि दल दर्ता गर्न १ सय २० निवेदन
काठमाडौं । प्रतिनिधिसभाका लागि दल दर्ता गर्न दिइएको अन्तिम समयसम्म १ सय २० वटा निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले दिएको समय १४ मंसिरसम्ममा १ सय २० निवेदन आयोगमा दर्ता भए पनि निवेदनउपर वैधता अध्ययन तथा आवश्यक कारबाही गरी २० मंसिरमा अन्तिम निर्णय तथा एकल निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।
आयोगको २८ कात्तिकको निर्णयअनुसार १ देखि १० मंसिरसम्ममा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न समय दिइएकामा १० मंसिरमा निर्णय गरी १४ मंसिरसम्मलाई समय थपिएको थियो । आयोगले दलहरूलाई निर्वाचन आयोगमा एक्लै लड्ने वा दुई वा सोभन्दा बढी दलले एकल चिह्नमा निर्वाचन लड्नसमेत पाउनेगरी दल दर्ताको निवेदन मागेको थियो ।
थपिए १ सय ६८ मतदान केन्द्र
निर्वाचन आयोगले आगामी २१ फागुनको निर्वाचनका लागि १ सय ६८ मतदानस्थल थप गरेको छ । आयोगको आइतबार बसेको बैठकले मतदाताको सुविधाका लागि देशभर १ सय ६८ वटा नयाँ मतदानस्थल थप गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार मतदातालाई अपायक परेका, जीर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थल खारेजसमेत गरेको छ ।
केही खारेज भएकाको सट्टामा अर्को तोकिएको र ७५ वटा थप गरिएको प्रवक्ता भट्टराईले बताए । यसबाट साविकमा कायम १० हजार ८ सय ९२ मतदानस्थलमा समग्रमा ७५ मतदानस्थल थप हुन गई देशभर १० हजार ९ सय ६७ मतदानस्थल कायम भएका छन् ।
The post प्रतिनिधिसभाका लागि दल दर्ता गर्न १ सय २० निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....