Clickmandu
इम्बार्क अनम्याथद्वारा प्रिमियरमा एनपीएल थिमको गणित अक्सन आयोजना

काठमाडौं । इम्बार्क अनम्याथले प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलसँगको सहकार्यमा एनपीएल सिजन २ को थिममा आधारित एक विशेष ‘मोक अक्सन’ आयोजना गरेको छ । नवीन सिकाइ केन्द्रित गणित सत्रले विद्यार्थीहरूले खेलकुद, रणनीति र गणितीय अवधारणाको बारेमा जानकारी पाएका हुन् ।
कार्यक्रममा ६० विद्यार्थी, तीन शिक्षक तथा चितवन राइनोजका विशेष अतिथि बिपिन आचार्यले अनलाइनमार्फत व्यावसायिक खेलकुदमा खेलाडी छनोटका रणनीति तथा निर्णय प्रक्रियामा गणितीय विश्लेषणको महत्त्वबारे आफ्ना अनुभव बताएका थिए ।
सत्रका क्रममा विद्यार्थीहरूले सांख्यिकीय विश्लेषण, बजेट व्यवस्थापन, सम्भाव्यता तथा रणनीतिगत योजना जस्ता गणितका प्रमुख तत्त्व प्रयोग गरी निर्धारित रकमभित्र सन्तुलित टिम निर्माण गर्ने अभ्यास गरेका थिए । उनीहरूले वास्तविक खेलकुदमा गणितीय सोचले कसरी निर्णय प्रक्रिया मार्गदर्शन गर्छ भन्ने कुरा प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाए ।
इम्बार्क अनम्याथका सहसंस्थापक दिवेश बठीजाले हरेक फ्रेन्चाइज टिममा सही संख्या, सीप र सन्तुलन मिलाउन गणित नै आधार रहेको बताए । ‘प्रभावकारी निर्णय लिन गणितीय सोच अपरिहार्य छ, यही कुरा यस सत्रको मूल सन्देश हो,’ उनले भने ।
कार्यक्रमपछि सहभागी विद्यार्थीहरू उत्साहित देखिए ।
नेपालकै एकमात्र आईबी कन्टिन्युम स्कुल प्रिमियर इन्टरनेशनल स्कुलले अनुभव, अनुसन्धानी मनोवृत्ति र अन्तरविषयक ज्ञानमा जोड दिँदै आएको छ ।
२०१२ मा स्थापना भएको अनम्याथले गणित सिकाइलाई नयाँ ढङ्गले परिभाषित गर्दै आएको छ। यसको ‘इम्बार्क अनम्याथ’ कार्यक्रमले सबै उमेरका विद्यार्थीका लागि अन्तरक्रियात्मक, अनुभवमूलक र परिवर्तनकारी गणित सिकाइका अवसरहरू प्रदान गर्दै गणितलाई सरल र अर्थपूर्ण बनाउँदै आएको छ ।