npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

धनुषा क्षेत्र नम्बर–१ मा साहको उम्मेदवारी खारेज

राजधानी समाचारदाता 5 hours ago

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिस्पर्धा गरिरहेका उम्मेदवार किशोरी साह ‘कमल’को उम्मेदवारी खारेज भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी दिएका साहको उम्मेदवारी खारेज भएको हो । निर्वाचन आयोगले मंगलबार विज्ञप्तिमार्फत पनि उनको उम्मेदवारी खारेज भएको बताएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम साहको उम्मेदवारी अयोग्य रहेकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम साहको उम्मेदवारी खारेज भएको हो । आयोगका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी विषयमा कर्जा सूचना केन्द्रले उनलाई कालोसूचीमा राखेको पाइएकाले उम्मेदवारी खारेज भएको हो । यो निर्णयसँगै अब धनुष क्षेत्र नम्बर–१ मा रास्वपाको चुनाव चिह्नमा मत परे पनि त्यसलाई गणना नगरिने भएको छ ।

मतपत्र छापिइसकेपछि उम्मेदवारी रद्द भएका कारण उनले पाएको निर्वाचन चिह्नमा परेको मत स्वतः बदर हुने भएको हो । साहको कमल निर्माण सेवा प्रालिले २२ माघ २०८० देखि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको कारण कालोसूचीमा परेको आयोगको भनाइ छ । बैंकको ऋण नतिरेको, चेक बाउन्स भएकोलगायत मुद्दा लागेमा कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

कर्जा सूचना केन्द्रका प्रवक्ता विजय कुँवरका अनुसार वित्तीय संस्थाको ऋण लिएर नतिरेको, चेक बाउन्स गरेकोजस्ता विषयमा मुद्दा लागेका व्यक्तिलाई कालोसूचीमा राखिन्छ । कालोसूचीमा राख्नुपर्ने कारण के हो भन्ने विषयमा सरकारी निकाय र सम्बन्धित व्यक्तिबाहेकलाई भने खुलाउन नमिल्ने उनको भनाइ छ ।

धनुषा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालका अनुसार पनि साहविरुद्ध कालोसूचीमा परेको उजुरी परेपछि छानबिनका लागि पठाइएकामा पुष्टि भएका कारण उम्मेदवारी खारेज भएको हो । साह २०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी २०७९ सालमा जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेर पराजित भएका थिए ।

The post धनुषा क्षेत्र नम्बर–१ मा साहको उम्मेदवारी खारेज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category