नेपालीपोष्ट
चराहरुको गीत

आकाश बादलले ढाके पछि
सूर्य लुकेको छ
छेलिएको छ सूर्यको प्रकाश
ओसिएको छ दिन
उज्यालो खोज्दै छन चराहरु
बचेराहरुको चिरविर सुनिदैछ
चराहरु उड्न सकिरहेका छैनन
सुदूर घना जङ्गलको बाटो
चराहरु त्रसित छन
जीवनको सुरक्षा छैन
चरा आउने समय कुरेर
शिकारी मौका हेरी बसेको छ
निर्दयी
माउ चरालाई मारेर
बचेरा टुहुरो बनाइ दिन्छ
दर्दनाक छ बचेराको जीन्दगी
बचेरालाई कस्ले चारो ख्वाउँछ ?
माउ नै मारिए पछि ।
भोक भोकै छन बचेराहरु
बचेराको चिरबिर सुनिदैंन
उदास छन रुखहरु
रुखमा बसेर गीत गाउँथे चराहरु
रुखमै बसेर माया पिरती साट्थे चराहरु
चराहरुको मधुर गीत छैन
लाटकोशेरो रुन्छ वियोगले
हुच्चिल चिच्याउँछ पीडाले
स्वतन्त्र छ परिवेश
रुखका डालीहरु खाली नै छन
बैरागिएका छन बाँकी चराहरु
निःशब्द छ अँधेरी रात ।
चराहरु मौन नबसे हुन्थ्यो
निकाल्नु पथ्र्यो जुलुस
लगाउनु पथ्र्यो नारा
बचेराको जीवन रक्षार्थ
ठुङ्नु पथ्र्यो शिकारी
निर्वाध उड्न पाउने हक
सविंधानमा लेखिएको हुनुपर्ने
चरा मैत्री लेख्यौं कि लेखेनौं संविधान ?
सभामुख महोदय
चराहरुको यक्ष प्रश्न हो यो ।
अकालमा चराहरु मारिए पछि
बचेराको पालनपोषण गर्नलाई
क्षतिपूर्तिको व्यवस्था हुने गरी
संविधान संशोधनको
कार्यादेश जारी गरियोस
चराहरुको बाँच्न पाउने अधिकार
सुरक्षित छ कि छैन ?
म सोध्न चाहान्छु तिम्रो अदालतमा
तिमी चराप्रति अनुदार छौ
तिमी बधिक बनेर
चराहरुको वीभत्स हत्या गर्छौं
म चराहरुको गीत गाउँछु ।