npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

देउवाको विकल्पमा पूर्णबहादुर वा शेखर जसलाई भए पनि स्वीकार्न तयार थिएँ : गगन थापा

न्युज अफ नेपाल 16 hours ago

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रको जारी विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाको विकल्पमा अन्य नेताहरूलाई स्वीकार गर्न आफू तयार रहेको स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, “पार्टीलाई निकास दिन देउवाको विकल्प खोज्नुपर्छ भन्ने मेरो अडान हो। त्यो विकल्प पूर्णबहादुर खड्का होस् वा शेखर कोइराला, जसलाई भए पनि म स्वीकार्न तयार थिएँ।”

थापाका अनुसार व्यक्तिगत महत्वाकांक्षाभन्दा पार्टीको एकता, विधि र भविष्य ठूलो विषय हो। “म सभापति बन्नैपर्छ भन्ने सोचका कारण यो आन्दोलन अघि बढेको होइन। कांग्रेसलाई विधिसम्मत र लोकतान्त्रिक ढंगले अघि बढाउन सक्ने नेतृत्व चाहिएको हो,” उनले भने।

उनले संस्थापन पक्षसँग भएको वार्तामा आफूले लचकता देखाएको दाबी पनि गरे। “समाधानको बाटो खोल्न हामीले धेरै विकल्पहरू अघि सारेका थियौँ। तर अन्तिम समयमा सहमति बन्न सकेन,” थापाले बताए।

विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको माग उठाइरहेको समूहले पार्टीभित्र विधि मिचिएको, निर्णय एकपक्षीय भएको र संगठन कमजोर बन्दै गएको आरोप लगाउँदै आएको छ। थापाले पार्टीलाई जोगाउनका लागि कठोर निर्णय लिनुपरेको बताए।

उनले अझै पनि संवादको ढोका खुला रहेको उल्लेख गर्दै भने, “कांग्रेस टुट्ने होइन, जुट्ने पार्टी हो। अन्तिमसम्म पनि सहमतिका लागि प्रयास जारी रहन्छ।”

गगन थापाको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व विकल्प र भावी राजनीतिक समीकरणबारे बहस थप चर्किने संकेत गरेको छ।

Read more news from News of Nepal

Explore by Source or Category