Clickmandu
काबेली इनर्जीको १ अर्ब ५ करोडको संस्थापक सेयर बिक्रीमा

काठमाडौं। काबेली इनर्जी कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुलाएको छ ।
कम्पनीले संस्थापक सेयर लगानीसम्बन्धी प्रावधान सार्वजनिक गर्दै प्रभावित क्षेत्रका जनतालाई सहभागी गराउने पहलस्वरुप संस्थापक सेयर बिक्री खुलाएको हो। आयोजना ताप्लेजुङ र पाँचथरमा पर्छ ।
कम्पनीका अनुसार ताप्लेजुङ र पाँचथरका लाभग्राहीले न्यूनतम १० हजार रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गर्न पाउनेछन् भने जिल्लाका नागरिकका लागि न्यूनतम एक लाख रुपैयाँको सीमा तोकिएको छ ।
१ अर्ब पाँच करोड रुपैयाँ बराबरको सेयर संकलन भएपछि आवेदन बन्द हुने कम्पनीले बताएको छ । काबेली इनर्जीले ६२.६० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडेर आम्दानी गर्ने, बैंक कर्जाको भुक्तानी तथा सेयरधनीलाई लाभांश वितरण गर्ने योजना अघि सारेको छ ।
निर्माणाधीन आयोजना १५ महिनाभित्र पूरा गर्ने तयारी छ । पाँचथरको याङवरक गाउँपालिका–६ पिप्लेमा काबेली बि–१ जलविद्युत आयोजना निर्माण भई २०७६ कात्तिक २३ देखि २५ मेगावाट विद्युत नियमित राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
काबेली इनर्जीले बुटवल पावरसँग साझेदारीमा काबेली नदीमै निर्माण भइरहेको ३७.६० मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना समेत अघि बढाइरहेको छ ।
सोही आयोजनाका लागि संस्थापक सेयर निष्कासन गरिएको हो। काबेली ए आयोजना निर्माणका लागि ७ अर्ब ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।