npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

बौरिन नपाई थलियो नेपाली कांग्रेस !

नगेन्द्रराज पौडेल 12 hours ago

नेपाली कांग्रेस यतिबेला चीर निद्राबाट ब्युुँझन नपाई पुनः थला परेको छ । सात दशकभन्दा बढी इतिहास बोकेको पार्टी नेपाली कांग्रेसमा आएको उतारचढावले देशको राजनीतिलाई पक्कै पनि प्रभाव पार्दछ । २००७ सालदेखि हरेक राजनीतिक परिवर्तनमा अग्रणी भूमिका खेलेको कांग्रेस एक दशकदेखि राजनीतिमा शिथिलप्रायः देखिएको छ । अझ २०७९ सालको चुनावमा तत्कालीन नेकपा माओवादीसँग गठबन्धन गरेको कांग्रेसले भ्रष्टाचार उन्मुलन, सुशासन तथा राजनीतिक शुद्धिकरण दिशामा खासै उल्लेख्य भूमिका निर्वाह गर्न नसकेकोमात्र होइन, भ्रष्टाचारका पक्षमा माओवादी नेतृत्वको सरकारले कारबाही अघि बढाएपछि नेकपा एमालेसँग गठबन्धन गरी सरकारमा हिस्सेदार बन्यो । नेकपा माओवादी यही कारण प्रतिपक्षीमा बस्न पुुग्यो ।

एमालेसँगको सत्ता सहकार्य पनि कांग्रेसलाई फापेन । सरकारको नेतृत्व एमालेले गर्ने र सरकारका राम्रा र नराम्रा दुुबै कामको जसअपजस कांग्रेसले पनि लिनुपर्ने भयो । पछिल्लोपटक ‘भुटानी शरणार्थी प्रकरण’समेतमा तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले छानबिन अघि बढाउने भएपछि रातारात राजनीतिक उथलपुुथल हुन पुुगी माओवादी सरकारबाट बाहिर र नेपाली कांग्रेस एमाले नेतृत्वको सरकारमा सहभागी भएको चर्चा त्यतिबेला चुलियो ।

सत्ता प्राप्तिकै लागि कहिले कांग्रेस माओवादी, कहिले एमाले– माओवादीे गठबन्धन गर्दैगर्दा पछिल्लोपटक नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भई सत्ता सहकार्य भयो । झण्डै दुुईतिहाइनजिक पुुगेका यी दलले पनि पूरा अवधि सरकार चलाउन पाएनन् । यिनीहरूविरुद्ध जेनजी विद्रोह भयो । सरकार तुरुन्तै असफल भयो । कांग्रेससम्मिलित एमाले नेतृत्वको सरकारले पछिल्लोपटक सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धसमेतका कारण देशमा युवापुस्ता सरकारको विरोधमा थिए । उनीहरूले प्रतिबन्ध फुकुवा हुनुपर्ने, सुशासन कायम गरिनुपर्नेलगायत माग राखेर गत २३ भदौमा जेनजीका नाममा देशभर आन्दोलन घोषणा गरे । २३ भदौको प्रदर्शनमा डेढ दर्जनभन्दा बढी युवाले प्रहरीको गोली लागेर मृत्युवरण गरे । गृहमन्त्रीका रूपमा नेपाली कांग्रेसका नेता रमेश लेखक थिए । आन्दोलनको पहिलो दिन नै लेखकले गृहमन्त्रीबाट ‘नैतिकताका आधारमा’ भन्दै राजीनामा दिए । त्यसको भोलिपल्ट आन्दोलनले बृहत रूपमात्र लिएन, हिंसामै रूपान्तरण भयो । देशभर आगजनी भयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकै धर्मपत्नी डा. आरजु देउवामाथि सांघातिक आक्रमण भयो । देउवा रगताम्य हुनेगरी पिटिए । उनको निवास जलाइयो । एककिसमले सरकारको नेतृत्वमा नै देउवा भएजस्तोगरी आक्रमण गरियो ।

जेनजी आन्दोलनपछि सत्ता नेतृत्व गर्ने दलका अपेक्षा सरकारमा सहभागी दल नेपाली कांग्रेसले बढी मानवीय क्षति व्यहोर्नुप¥यो । यसरी जेनजी विद्रोहपछि बाह्य कारण थला परेको कांगे्रस यतिबेला विशेष अधिवेशनका कारण आन्तरिक द्वन्द्वमा फसेको छ । ‘पुरानो नेतृत्वले नयाँलाई हाँक दिन नसक्ने’ भन्दै बुधबार मध्यराति सम्पन्न विशेष महाधिवेशनले गगन थापा नेतृत्वमा नयाँ समिति चयन गरेको छ । उता, देउवा नेतृत्व ‘आफूलाई संस्थापन पक्ष’ भन्ने कांग्रेसले ‘विशेष महाधिवेशन विधि र प्रक्रियासम्मत नभएको’ भन्दै पार्टीबाट महामन्त्री गगन थापासमेतलाई निष्कासन गरेको जनाएको छ ।

बाध्यता कि रहर ?
यसबेला कांग्रेसका दोस्रो पुस्ताका नेताले मूल नेतृत्व बदल्नुपर्ने माग गर्दै आएका छन् । चुनावी गठबन्धनको विरोध विगतदेखि नै गर्दै आइरहेका थिए । जसलाई पहिलो पुस्ताको नेतृत्वले खासै महŒव दिएनन् । नेतृत्व हस्तान्तरणमा पहिलो पुस्ताको अरुचि देखियो । त्यसैले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर आगामी २१ फागुनका लागि तय आमनिर्वाचनमा जानुपर्ने बहस कांग्रेसमा चलिरहेको थियो । २०१४ सालमा नेताहरूले परिस्थिति बुझेर विधानअनुसार निर्णय गरेका थिए भने अहिले कार्यकर्ताले परिस्थिति बुझेर विधानअनुसार चल्न नेताहरूलाई आह्वान गरे ।

१४औं महाधिवेशनमा भाग लिएकामध्ये ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित गत २९ असोजमा विशेष महाधिवेशन बोलाउन माग गर्दै पार्टीमा निवेदन दिएकोमा पार्टीले बेवास्ता गरेपछि स्वतस्फूर्त रूपमा यो विशेष अधिवेशन डाकिएको जानकारी महाधिवेशन पक्षधरको थियो । मुलुकको पछिल्लो परिस्थितिको गाम्भीर्यता बोध गरेर विशेष महाधिवेशन बोलाउने दायिŒवलाई केन्द्रीय कार्यसमितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएको उनीहरूको दाबी थियो ।

‘अभागीलाई खानेबेला रिस उठ्छ’
एउटा भनाइ छ, ‘अभागीलाई खानेबेला रिस उठ्छ ।’ यतिबेला अन्य दल आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एक भएर कार्यक्रम सञ्चालन गर्दै छन् । तत्कालीन माओवादी पार्टी त प्रचण्ड नेतृत्वमा २१ राजनीतिक दल÷घटकको एकता गरी नेपाली कम्युनिस्ट पार्टी निर्माण गरेर चुनावी अभियानमा होमिएको छ ।

नेकपा एमाले भर्खर महाधिवेशन गरी निर्वाचित नेतृत्वसहित चुनावी मैदानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि विभिन्न दलसँग एकता गरी चुनावी प्रतिस्पर्धामा उत्रिसकेको छ । तर यस परिस्थितिमा एक भएर चुनावी मैदानमा जानुपर्ने कांग्रेस आफ्नै कारण थला परेको छ । नेतृत्व हानाथापका कारण अब उसको आधिकारिकता परीक्षणका लागि निर्वाचन आयोग गुहार्नुपर्ने भएको छ । आयोगले दिएको निर्णयमा चित्त नबुुझ्दा एउटा समूह आगामी दिन न्यायालयको ढोकासम्म पुुग्न सक्छ । चुनाव मुखमा यो हुनु भनेको ‘अभागीलाई खाने बेला रिस उठे’सरह नै हो । यसले कुनै पनि हालतमा कांग्रेसलाई फाइदा होइन, बेफाइदा नै बढी गर्दछ ।

देउवाको महत्वाकांक्षा
थोरै बोल्ने तर अडान नछाड्ने देउवाको स्वभाव छ । उनी हठी पनि छन् । उनको हठ यतिबेला कांग्रेसका लागि प्रत्युुपादक बनेको छ । यद्यपि, नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस निकै पहिल्यैदेखि उठ्ने गरेको हो । तर पाँच–पाँचपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति देउवाले यसपटक २१ फागुनमा हुने निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने घोषणा गरिसकेका छन् । उनी नियमित अधिवेशनबाट पार्टी सभापति छाडने बताए पनि प्रधानमन्त्रीका आकांक्षी हुनबाट पछि हटेका छैनन् । देउवा उपचारक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापति दिएर सिंगापुर गएका थिए । त्यहाँबाट फर्केर आएपछि खड्कालाई ‘नाममात्रको कार्यबाहक’ बनाएका छन् । हरेक मामिलामा आफैं सक्रिय छन् । खड्कालाई ‘बाहक’मात्र बनाएर कार्यचाहि“ आफैंले गरेको देउवावृत्तका कांग्रेसी बताउँछन् । अर्थात् उनमा ‘पदलोलुपता अझै बाँकी छ’ भन्ने देखिन्छ ।

अहिले पनि समयको पदचाप बुझ्नेखाले ‘डाइनामिक लिडर’कै खोजीमा कांग्रेसको विशेष महाधिवेशनको माग भएको थियो । तर, अहिले कांग्रेसभित्र न सुवर्णजस्तो त्यागी नेता देखिएको छ, न त बिपीजस्तो सर्वमान्य व्यक्ति नै जन्मेका छन् । यो दुर्दशा र दुर्नियतिबीच जेनजी विद्रोहपश्चात् बौरिन खोजेको कांग्रेस आफ्नै कारण थला परेको छ । पराईसँग जुध्नुपर्ने बल, बुद्धि आपm्नैसँग जुधेर खेर फाल्नु परिरहेको छ ।

केपी ओली र उनको दल नेकपा एमालेसँग कांग्रेसको चुनावी गठबन्धन हुने सम्भावना प्रबल देखिन्छ । ’cause यही ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा पनि यी दुुई पार्टीबीच गठबन्धन भएर सहमतिका उम्मेदवार मनोनयन भइसकेका छन् । अब प्रतिनिधिसभामा पनि गठबन्धनसहित निर्वाचनमा जाँदा कांग्रेसले बढी मत ल्याउने र पुनः एकपटक देउवा प्रधानमन्त्री हुने देउवा वृत्तभित्र अनुमान गर्न थालिएको छ । आमजानकार भने उनले पाँचौंपटक प्रधानमन्त्री हुुँदा गर्न नसकेको ‘कुन काम गर्नलाई छैटौंपटक प्रधानमन्त्री हुने रहर गरेका छन् ?’ भनेर प्रश्न पनि गर्न थालेका छन् । तर, यी संम्भावना हालै सम्पन्न सो पार्टीको विशेष महाधिवेशनपछि न्यून हुुँदै गएका छन् । अबको विवाद ‘आधिकारिक कांग्रेस को ?’ भन्नेमै केन्द्रित रहने देखिन्छ । निर्वाचन आयोगले दिने फैसलापछि त्यसमा चित्त नबुुझ्ने समूह न्यायालयमा जाने सम्भावना नकार्न सकि“दैन । न्यायालयबाट अन्तिम फैसला नआएसम्म कांग्रेस एकप्रकारले शिथिल अवस्थामा नै गुुज्रने लगभग निश्चित छ । कतै भूइ“को टिप्न खोज्दा पोल्टाको पनि गुमाउने अवस्था त आउने त होइन ? प्रधानमन्त्रीका आकांक्षी देउवाका लागि यो परिघटना पक्कै पनि सम्झनालायक बन्ने देखिन्छ ।

के भन्छ कांग्रेस इतिहास ?
‘विशेष परिस्थितिमा विशेष महाधिवेशन’ गरेर नेतृत्व परिवर्तन गरेको कांग्रेसको इतिहास छ । विषम परिस्थितिका कारण कांग्रेसले २०१४ सालमा पहिलो विशेष महाधिवेशन गरेको थियो । हालै सम्पन्न यो उसको दोस्रो विशेष महाधिवेशन हो । चुनावका लागि पार्टीलाई तयार बनाउने ‘डाइनामिक लिडर’ खोजीमा तत्कालीन सभापति सुवर्ण शमशेरले नै विशेष महाधिवेशन गराउन नेतृत्व लिएका थिए भने यसपटक जेनजी आन्दोलनको मर्म र भावनाअनुरुप नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण उद्देश्यसहित महाधिवेशन प्रतिनिधिको बहुमत सदस्यको मागका आधारमा पार्टी केन्द्रीय समितिले विशेष महाधिवेशन नबोलाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत २८ देखि देखि ३० पुससम्म विशेष महाधिवेशन भएको होे । यद्यपि, यसको वैधता र आधिकारिकता विवाद पार्टीभित्र कायमै रहेकोले समयक्रममा निरुपण हुने नै छ ।

पहिलो विशेष महाधिवेशनक्रममा सभापति सुवर्ण शमशेरले ‘निर्धारित समय चुनाव गराउन सरकारलाई बाध्य गराउने र चुनावमा विजय हासिल गर्नका निमित्त सक्षम र गतिशील नेतृत्वको आवश्यकता छ’ भन्दै बिपी कोइरालाई नेतृत्वका लागि अनुरोध गरेका थिए । यो आग्रहपछि बिपीले ‘साथी सुवर्णजी, अहिले हाम्रो पार्टी सभापति पदमा हुनुहुन्छ । यो पदबाट उहाँले राजीनामा दिएर अर्को सभापति चयन गर्न उहाँले विशेष महाअधिवेशन बोलाउनुभएको छ । यसले सुवर्णजी पार्टीको हितबाहेक अरु केही चाहनुहुन्न भन्ने कुरा अरु पुष्टि गरेको छ,’ भनेका थिए । नभन्दै सो विशेष महाधिवेशनले बिपीलाई सभापति चयन गरेको थियो । त्यसपछि २०१५ सालको चुनावमा कांग्रेस पहिलो पार्टीमात्र भएन, कोइराला नेपालको ‘पहिलो जननिर्वाचित सरकार’को नेतृत्व समेत गरे । तर, यसपटक यस्तै अवसर देउवा नेतृत्वको कांग्रेसले गुमायो ।

यसपटक जेनजी आन्दोलनसमेतको भावनाको कदर गर्दै आसन्न निर्वाचन केन्द्रमा राखेर नेतृत्व हस्तान्तरणका लागि सभापति देउवालाई आग्रह गरिएकोमा उनी र उनको समूह नै अधिवेशनमा उपस्थित भएन । नेतृत्व हस्तान्तरण त धेरै परको विषय बन्यो ।

अहिले पनि समयको पदचाप बुझ्नेखाले ‘डाइनामिक लिडर’कै खोजीमा कांग्रेसको विशेष महाधिवेशनको माग भएको थियो । तर, अहिले कांग्रेसभित्र न सुवर्णजस्तो त्यागी नेता देखिएको छ, न त बिपीजस्तो सर्वमान्य व्यक्ति नै जन्मेका छन् । यो दुर्दशा र दुर्नियतिबीच जेनजी विद्रोहपश्चात् बौरिन खोजेको कांग्रेस आफ्नै कारण थला परेको छ । पराईसँग जुध्नुपर्ने बल, बुद्धि आपm्नैसँग जुधेर खेर फाल्नु परिरहेको छ । यसले कांग्रेसलाई त फाइदा गर्दैन नै, अन्य पार्टीलाई समेत परोक्ष प्रभाव पार्नसक्छ ।
(लेखकको यो निजी विचार हो ।)

The post बौरिन नपाई थलियो नेपाली कांग्रेस ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category