npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

बंगलादेशः मेटलाइफले भिसाका कामदारलाई पूर्ण बीमा कभरेज प्रदान गर्ने

जयराम गौतम 1 day ago

काठमाडौं । ग्लोबल डिजिटल भुक्तानी नेटवर्क भिसाले बंगलादेशमा आफ्ना कर्मचारी र तिनका आश्रित परिवारका सदस्यलाई पूर्ण बीमा लाभ प्रदान गर्न मेटलाइफ बंगलादेशसँग सम्झौतामा हस्ताक्षर गरेको छ।

यस सम्झौताअन्तर्गत भिसा कर्मचारीले दुर्घटना, अशक्तता र मृत्युको अवस्थामा वित्तीय सुरक्षा प्राप्त गर्नेछन्। कर्मचारीका आश्रितले पनि इनपेसेन्ट, आउटपेसेन्ट र मातृत्व बीमा कभरेज प्राप्त गर्नेछन्।

भिसा बंगलादेश, नेपाल र भुटानका लागि कन्ट्री म्यानेजर सब्बीर अहमद र मेटलाइफ बंगलादेशका प्रमुख कार्यकारी अधिकृत अला अहमदले आ–आफ्ना संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन्।

बीमा कभरेजले कर्मचारीमा सुरक्षा र बफादारीको भावना निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ। हालै गरिएको रोजगार लाभ प्रवृत्ति अध्ययन (ईबीटीएस) सर्वेक्षणले ५६ प्रतिशतभन्दा बढी कर्मचारीले वित्तीय चिन्ताले उनीहरुको उत्पादकत्व घटाउने बताएको पत्ता लगाएको छ। यसबाहेक ४१ प्रतिशत कर्मचारीले आर्थिक तनावलाई मानसिक स्वास्थ्य समस्यासँग जोडेका छन्।

सोही सर्वेक्षणमा ७८ प्रतिशत कर्मचारीले भने कि बीमा र मानसिक स्वास्थ्य समर्थनजस्ता कल्याण लाभले उनीहरुलाई आफ्नो संस्थाप्रति बढी वफादार बनाउँछन्। भिसाले आफ्ना कर्मचारीका लागि मेटलाइफलाई छनोट गर्यो। किनकि यसको निरन्तर सफल बीमा दाबी भुक्तानी क्षमता, अनुकूलित बीमा सेवा, अत्याधुनिक ड्यासबोर्ड, नगदरहित बहिर्गमन र एम्बुलेन्स सेवा, छिटो भुक्तानी र झन्झटमुक्त दाबी भुक्तानी क्षमता छन्।

भिसा बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘डिजिटल भुक्तानीमा अग्रणी संस्थाका रुपमा हामी तयार हुनुपर्छ र यस सन्दर्भमा हाम्रा कर्मचारी हाम्रो सबैभन्दा ठूलो शक्ति हुन्। व्यापक बीमा कभरेज उनीहरुको वित्तीय सुरक्षा र समग्र कल्याण सुनिश्चित गर्न महत्वपूर्ण छ। बीमा लाभहरु हुनुले उनीहरुलाई आत्मनिर्भर बन्न र जीवनको अनिश्चितताको समयमा आफ्नो र आफ्नो परिवारको हेरचाह गर्न, उनीहरुको काममा एकाग्रता र आत्मविश्वास बढाउन र नवीनतालाई बढावा दिन सक्षम बनाउनेछ।’

मेटलाइफ बंगलादेशका प्रमुख कार्यकारी अधिकृत अला अहमदले भने, ‘मेटलाइफको प्राथमिकता संस्थाहरुलाई आफ्ना कर्मचारीका लागि सुरक्षित र हेरचाह गर्ने कार्य वातावरण सिर्जना गर्न मद्दत गर्नु हो। भिसासँगको यो साझेदारीले कर्मचारी कल्याणका लागि बलियो र एकीकृत बीमा समाधान प्रदान गर्ने हाम्रो साझा प्रतिबद्धतालाई प्रदर्शन गर्दछ।’

भिसाले मानिस र व्यवसायलाई विश्वव्यापी अर्थतन्त्रसँग जोड्दछ। यसले २०० भन्दा बढी देश र क्षेत्रमा सुरक्षित डिजिटल भुक्तानी सक्षम पार्छ।

बंगलादेशमा लगभग १० लाख मानिस र ९०० भन्दा बढी संस्थालाई बीमा कभरेज प्रदान गर्ने मेटलाइफले हालै बीमा विकास तथा नियामक प्राधिकरण (आईडीआरए) को आईडीआरए बीमा उत्कृष्टता पुरस्कार २०२५ मा शीर्ष मान्यता प्राप्त गरेको छ। यी पुरस्कार व्यावसायिक नेतृत्व, सेवा गुणस्तर, सुशासन, दावी भुक्तानी र नियामक अनुपालनको आधारमा दिइन्छ। –इन्स्योरेन्स न्युज बीडी

Read more news from Insurance Khabar

Explore by Source or Category