राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
माघे सक्रान्तिमा ३ नेपाली चलचित्रबिच भिडन्त
काठमाडौं । माघे सक्रान्तिको अवसर पारेर आजबाट तीन वटा नेपाली चलचित्र रिलिज भएका छन् । यम शेर्पाको निर्देशनमा ‘मिरमिरे’, निगम श्रेष्ठको निर्देशनमा ‘भाइरल गोर्खे’ र मरीचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन ‘गोवर गणेश’ रिलिज भएको हो ।
यी तीन चलचित्र मध्य निगम श्रेष्ठको निर्देशनमा ‘भाइरल गोर्खे’को मंगलबार बेलुका काठमाडौँमा प्रिमियर गरिएको थियो । तर चलचित्रले प्रिमियरमा त्यति राम्रो प्रशंसा पाउन सकेन । यसले मिश्रित प्रतिक्रिया पाएको थियो । सामाजिक सञ्जालमा भाइरल हुने बढ्दो क्रमलाई यो चलचित्रमा व्यंग्य गरिएको छ । जसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । यो चलचित्रले करिब ६ दर्जन मात्र चलचित्र घर पाएको छ ।
माघे सक्रान्तिमा रिलिज भएको चलचित्रहरू मध्य अहिले ‘मिरमिरे’ चर्चामा छ । यो चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, साइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । पारिवारिक कथावस्तुमा यो चलचित्र केन्द्रित रहेको छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’ सामाजिक विषयवस्तुमा आधारित रहेको छ । सोही कारण पनि यसले दर्शकको मन छुने विश्वास यसका निर्देशक यम शेर्पाको छ । यो चलचित्रले मुलुकका १०० भन्दा बढी चलचित्र घरमा सोहरू पाएको छ ।
मरीचमान श्रेष्ठ (बल्छी धुर्वे)को निर्देशन ‘गोवर गणेश’ले करिब पाँच दर्जन मात्र चलचित्र घर पाएको छ । यसमा मरीचमानसँगै अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका छ । यो चलचित्र हास्यव्यंग्य जनरामा निर्माण गरिएको छ । हास्य कलाकार मरीचमान आफैँ यसमा नायक बनेका छन् । उनलाई ठुलो पर्दामा दर्शकले नायकको रूपमा कत्तिको स्विकार्ने छन् भन्ने कौतुहलता अहिले धेरैलाई छ । उनी आफैँले पनि ठुलो पर्दामा नायक बन्नु ठुलो चुनौती भएको बताएका छन् ।
The post माघे सक्रान्तिमा ३ नेपाली चलचित्रबिच भिडन्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....