राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी
सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नम्ब–२ हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल स्याङतान रहेको पुष्टि भएको छ ।
पुस २९ गते राती बैंक लुटमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको शाखा राखिएको घरका धनी छविलाल स्याङ्तानलाई पक्राउ गरेपछि उनकै योजनामा बैंक लुटिएको पुष्टि भएको हो । उनलाई पुस ३० गते महोत्तरीबाट बेलुका महोत्तरीबाट पक्राउ गरेको थियो । उनी सहित हालसम्म प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले अर्का योजनाकार छविलालका जेठान चतुरमान बज्यूलाई पनि पक्राउ गरेको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरि बैंक लुटपाटमा संलग्न भएका ७ जनाको विवरण जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले सार्वजनिक गरेका छन् ।
पक्राउ पर्नेमा गाडी चालक काभ्रेको बनेपा नगरपालिका वडा नं. १० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका वडा नं. २ का २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार मुख्य योजनाकार मध्येका एकजना अझै फरार छन् । अन्यको संलग्नता ’boutमा प्रहरीले अनुसन्धान जारी राखेको छ । पक्राउ परेकालाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको सुवेदीलेपत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैंया नगद समेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको एसपी सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रहरीले लुटमा प्रयोग भएको २ थान खुकुरी, १ थान प्लाष्टिकको पेस्तोल, ५ थान मोवाईल, ठूलो पानी टेप एक वटा, कालो रङको नकाव ३ थान, रातो रङको नकाव १ थान र कालो पञ्जा १ जोर बरामद गरेको छ ।
घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घ्याङ्लेख गाउँपालिका वडा नं. २ बस्ने चतुरमान बज्यु, बज्यूका ज्वाईं घरधनी छविलाल स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको अनुसन्धानमा खुलेको सुवेदीले बताए ।
उनीहरुले पहिलो पटक पुस २३ गते बैंक लुट्ने योजना बनाएका थिए । उक्त दिन बैंक लुटमा संलग्न चारजना काठमाडौँबाट २ वटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकुल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पुस २८ गते पनि उनीहरु बैंक लुट्न आउने गरि काठमान्डौंको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोहि ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट विएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्व गरि घ्याङलेख आएको पाईएको पत्रकार सम्मेलनमा सुवेदीले बताए ।
बैंकमा आएर २९ गते साँझ उनीहरुले एसविआई बैंकभित्र प्रवेश गरि सुरक्षा गार्ड रुद्र बहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिई, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाईएको सुवेदीले जानकारी दिए ।
बैंक लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीय मानिसहरुको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको उनले बताए । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान गरिहेको सुवेदीले बताए । उनका अनुसार बैंकबाट ३ करोड ७ लाख रुपैंया लुटपाट भएको थियो ।
The post नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....