News of Nepal
युवा र देशको भविष्यका लागि आन्दोलनमा होमिएकी बानु
मुस्लिम समुदायकी अफसाना बानु अहिले देश परिवर्तनको अभियानमा सक्रिय जेनजी पुस्ताको प्रतिनिधि पात्रका रूपमा उदािएको नाम हो। संघीय राजधानी काठमाडौंमा जन्मिएकी बानुले नेपालको पछिल्लो राजनीतिक र सामाजिक अवस्था नजिकबाट अवलोकन गरेपछि जेनजी आन्दोलनमा सहभागी हुने निर्णय गर्नुभयो। र, भदौ २३ को ऐतिहासिक आन्दोलनमा प्रत्यक्ष उपस्थित भएर देशमा व्याप्त बेथिति, भ्रष्टाचार र राजनीतिक बेइमानीविरुद्ध खबरदारीको बाटो समाउनुभयो।
देश बन्नुपर्छ, र बनाउनु पनि पर्छ—त्यो पनि अब युवाबाट मात्र सम्भव छ—भन्ने विश्वाससँगै अफसाना सडकमा उत्रिनुभयो। उहाँको बुझाइमा मुलुक राम्रोसँग नबन्नुको मूल कारण अहिलेको राजनीतिक नेतृत्व र राज्य सञ्चालनको कमजोर संरचना नै हो। जेनजीका विभिन्न समूह सक्रिय भइरहेका बेला अफसाना पनि तीमध्ये एक सशक्त स्वर बनेर देश बनाउने प्रणसहित अघि बढिरहनु भएको छ। नेपाल निर्माणको अभिभारा अहिलेको युवा पुस्तामाथि आएको छ, र परिवर्तन पनि उनीहरूकै हातबाट सम्भव छ। त्यसैले विशेषतः बयोबृद्ध नेतृत्वले अब देश हाँक्ने उपयुक्तता गुमाइसकेको ठोकुवा उहाँको छ।
राजनीतिप्रतिको प्रेरणा बुवाबाटै पाएका कारण बानु सानैदेखि राजनीतिक विषयमा चासो राख्थिन्। समाजसेवा त उहाँको पहिलेबाटै रुचिको क्षेत्र थियो। बुवासँग टिभीमा समाचार हेर्ने क्रममा विकसित राजनीतिक चेतले पछि धेरै बहस–विवाद जन्मायो। साथी अमिर मियाँहरूसँगको कुराकानीले पनि उहाँलाई राजनीतिमै सक्रिय भएर सोच्न र कदम चाल्न प्रेरित गर्यो।
भदौ २३ को जेनजी आन्दोलनले देशको मुहार नै फेरिदिएको उहाँको बुझाइ छ। यदि त्यो आन्दोलन नभएको भए ‘ठूला दल’ भनेर परिचित शक्तिहरूकै हालीमुहाली रहिरहने थियो, र मुलुकमा जरा गाडेको भ्रष्टाचार अन्त्य हुने कुनै संकेत नदेखिने थियो भन्ने तर्क बानुको छ। अहिले खासै ठूलो परिवर्तन नदेखिए पनि गलत गर्ने हिम्मत कसैको नभइरहेको अवस्था जेनजी आन्दोलनको मुख्य उपलब्धि भएको बानुको दाबी छ। यो उपलब्धि सबै नेपालीले मिलेर संस्थागत गर्नुपर्नेमा उहाँको जोड छ।
प्रधानमन्त्रीको ‘कुर्सी म्यूजिकल चेयर’ जस्तै भएको पुरानो राजनीतिक खेललाई जेनजी आन्दोलनले तोडिदिएको र अब त्यो खेल अन्त्यतिर पुगेको उहाँको आकलन छ। केहीले भदौ २३ र २४ को आन्दोलन ‘हाइज्याक’ भएको आरोप लगाए पनि अफसाना त्यसमा सहमत छैनन्। उहाँका अनुसार आन्दोलन हाइज्याक भएको होइन—बरु त्यसका उपलब्धि हाइज्याक होला कि भन्ने चिन्ता बढी छ।
भ्रष्टाचार व्यापक रहेको मुलुकमा भएको आन्दोलनले धेरै थोक परिवर्तन गरिसकेको र चुनावपछि झनै अवस्था सुधारिने विश्वास उहाँको छ। सरकारले घोषणा गरेको फागुन २१ को चुनाव हुनैपर्ने उहाँको अडान छ। चुनावको विकल्प छैन, र आफू पनि चुनावमा सहभागिता जनाउने सोच रहेको उहाँले बताउनुभयो। तर, जेनजीको म्यान्डेट पूरा नभएसम्म तोकिएको समयमा चुनाव हुने सम्भावना कम देखिन्छ भन्ने आशंका पनि राख्नुहुन्छ। “चुनाव त जेनजीको म्यान्डेट अनुसार नै हुनुपर्छ”, उहाँको भनाइ छ।
अरू जेनजीजस्तै बानु पनि अनावश्यक सम्झौताकी पक्षमा छैनन्। पारदर्शी र राष्ट्र–हितमा केन्द्रित सहमति मात्र स्वीकार्य हुने उहाँको धारणा छ। आन्दोलनको उपलब्धि एकातिर, सम्झौताले अर्को दिशा लिदैँ जाने परिपाटीले देशलाई निकास नदिने र त्यस्तो बाटोमा जेनजी नहिड्ने चेतावनी उहाँले दिनुभयो।
प्रत्यक्ष निर्वाचित व्यवस्था जेनजीहरूको प्रमुख माग हो। यो व्यवस्था नेपालका लागि ‘घातक’ भन्ने प्रचारविरुद्ध भन्दै उहाँ भन्छन्—यस्तो प्रणाली थुप्रै अविकसित र गरिब देशमा सफलतापूर्वक चलेको छ, नेपालमा किन नचल्ने? यसले मुलुकमा जरा गाडेको भ्रष्टाचार, राजनीतिक खिचातानी र द्विविधा अन्त्य गर्न मद्दत गर्ने बानुको ठम्याइ छ। यद्यपि, यसबारे व्यापक छलफल आवश्यक रहेको र छलफलपछि नै यस दिशामा अघि बढ्न सकिने उहाँको भनाइ छ।
जेनजीबीच मतभेद नभएको, बरु अझै एकजुट हुनुपर्ने आवश्यकता रहेको उहाँको दाबी छ। प्रत्यक्ष निर्वाचन प्रणाली, भ्रष्टाचार उन्मूलन, शहीदहरूको सपना पूरा गर्ने, घाइतेहरूको दीर्घकालीन व्यवस्थापन—यी सबैमा जेनजीहरू एकमत रहेको उहाँले बताउनुभयो।
२०७६ पछि उच्च ओहदामा पुगेका व्यक्तिहरूको सम्पत्ति सार्वजनिक गरी छानबिन गर्नुपर्ने र दोषी भेटिए कडा कारबाही तथा सम्पत्ति शुद्धीकरण हुनुपर्नेमा उहाँ स्पष्ट हुनुहुन्छ। यस्तै कडा कदम चले मात्र भ्रष्टाचार गर्ने हिम्मत कसैले गर्दैन भन्ने विश्वास उहाँको छ।
युवाहरूको तीव्र पलायन हुनुमा पनि बानु राज्य संरचनालाई नै दोषी ठान्नुहुन्छ। भ्रष्टाचार, राजनीतिक अस्थिरता र रोजगारीको अभावले बुद्धिजीवी र युवा वर्ग विदेशिन बाध्य भएको उहाँको बुझाइ छ। रोजगारी सिर्जना, स्थिर राजनीतिक संरचना र विश्वविद्यालयहरूको सुधार—यही त्रिकोणले मात्र युवालाई रोक्न सक्ने बानुको धारणा छ। विशेषतः परीक्षा र नतिजा बीचको लामो अन्तरालले युवालाई विदेशिन्छु भन्ने मनोविज्ञानतिर धकेलिरहेको उहाँको तर्क छ।
राजनीतिमा युवाको प्रवेश र नेतृत्व आएमा बेथितिहरू अन्त्य गर्न सजिलो हुने उहाँको विश्वास छ। यही कारण जेनजी आन्दोलन भयो र यो आन्दोलनलाई अब संस्थागत गर्नैपर्छ भन्ने बानुको धारणा छ। युवाको व्यापक सहभागिताले ठूलो परिवर्तन ल्याउन सकिने जेनजी आन्दोलनले देखाइसकेको उहाँको भनाइ छ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारको कमजोरी नै अहिलेको राजनीतिक संकटको मुख्य कारण भएको बानुको विश्लेषण छ। राजनीतिक नेतृत्व हस्तान्तरण नगरेका, जनहितविपरीत निर्णय गरेका पुराना नेतृत्व जिम्मेवार रहेको र अब देशको नेतृत्व युवाले लिनैपर्ने अवस्थामा मुलुक पुगेको उहाँ ठोकुवा गर्नुहुन्छ।
शहीद र जेनजी आन्दोलनका २ हजार ४ सय २९ घाइतेहरूको सपना पूरा गर्नु आफुहरूको मूल लक्ष्य रहेको र यसबाट आफूहरू कहिल्यै विचलित नहुने प्रतिबद्धता बानुले व्यक्त गर्नुभयो।