npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

उत्तरायणको आगमनसँगै माघे सङ्क्रान्ति : स्नान, दान र परम्पराको पर्व आज देशभर

Tourism Face 1 hour ago

maghi

 काठमाडौं ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर अर्थात् माघे सङ्क्रान्ति पर्व नेपालभर श्रद्धा, आस्था र परम्पराका साथ मनाइँदैछ। आजैदेखि सूर्यको गति उत्तरायणतर्फ मोडिने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास छ। यही कारण माघ १ गतेलाई शुभ आरम्भ, पुण्य कर्म र आत्मशुद्धिको प्रतीक दिनका रूपमा लिइन्छ।

माघे सङ्क्रान्तिसँगै उत्तरायण सुरु हुने भएकाले आज स्नान, जप, तप, ध्यान, व्रत र दानलाई विशेष महत्व दिइन्छ। धार्मिक मान्यताअनुसार आजको दिन नदी, संगम र तीर्थस्थलमा स्नान गरे पुण्य प्राप्त हुने विश्वास छ। यसैले देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी जस्ता तीर्थस्थलमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। ती स्थानहरूमा परम्परागत मेला पनि आयोजना गरिएको छ।

तराईमा ‘नहान’ पर्व

तराईका जिल्लामा माघ १ गतेलाई ‘नहान’ अर्थात् अनिवार्य स्नान गर्ने पर्वका रूपमा मनाइन्छ। वर्षभरि नुहाउने अनुकूल वातावरण नपाए पनि आजको दिन नुहाए शरीर र मन शुद्ध हुने जनविश्वास छ। बिहानै स्नान गरी तिल दान गर्दा सुन दान गरे सरह पुण्य मिल्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्।

धर्मग्रन्थ धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार नखाने, दान नगर्ने, स्नान र ध्यान नगर्ने व्यक्ति रोगी हुने उल्लेख छ। यही विश्वासका कारण आज घरघरमा तिल, चाकु, घ्यू, तरुल, पालुङ्गो र खिचडीजस्ता परिकार बनाइन्छ।

आयुर्वेद र परम्पराको संगम

जाडोको मौसममा पर्ने यो पर्वमा तातो प्रकृतिका खाद्य पदार्थ खाने चलन केवल परम्परामात्र होइन, स्वास्थ्यसँग पनि जोडिएको मानिन्छ। आयुर्वेदका अनुसार तिल, घ्यू र तरुलले शरीरका त्रिदोष सन्तुलनमा राख्न सहयोग गर्छन्। आज तिलको तेलले शरीरमा मालिस गर्दा नशा, स्नायु र हड्डी सुदृढ हुने तथा शरीरका दूषित तत्व बाहिर निस्कने विश्वास छ।

‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानअनुसार कतिपय ठाउँमा तरुल पुसको अन्तिम दिन पकाएर माघमा खाने चलन अझै जीवित छ।

धार्मिक विश्वास र सांस्कृतिक निरन्तरता

सूर्य उत्तरायण भएको समयलाई मृत्युका दृष्टिले पनि उत्तम मानिन्छ। महाभारतका पात्र भीष्मले उत्तरायण सुरु भएपछि मात्र देह त्यागेको कथन यही विश्वाससँग जोडिन्छ। आज भक्तपुरको तिलमाधव नारायणस्थान लगायत विभिन्न मन्दिर र धार्मिक स्थलमा विशेष मेला लाग्ने गर्दछ।

यसैबीच माघ महिनाको धार्मिक महत्वका कारण स्वस्थानी व्रतकथा श्रवण–पाठको परम्परा पनि चलिरहेको छ। स्कन्द पुराणअन्तर्गतको माघ माहात्म्यअनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ।

कृषि जैविक विविधता दिवस

माघे सङ्क्रान्तिकै अवसरमा आज राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदैछ। तरुल, सखरखण्ड, पिँडालु र वनतरुलजस्ता कन्दमूलको प्रयोगसँग यो पर्व जोडिएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षदेखि यो दिवस मनाउन थालेको हो।

यसरी माघे सङ्क्रान्ति धार्मिक आस्था, स्वास्थ्य चेतना, कृषि संस्कृति र सामाजिक एकताको संगम बनेर आज देशभर मनाइँदैछ।

The post उत्तरायणको आगमनसँगै माघे सङ्क्रान्ति : स्नान, दान र परम्पराको पर्व आज देशभर first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category