ईश्वर पोखरेललाई बिदा दिन महेश बस्नेतको चेतावनी
काठमाडौं । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि नेता महेश बस्नेत आक्रोशित भएका छन् । उनले केपी ओलीलाई काम गर्नबाट रोक लगाउन खोजेको भन्दै आक्रोश जनाएका हुन् ।
पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने सहर्ष बिदा लिन भनेका छन्। ‘एमालेले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेका बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ,’ उनले भनेका छन्, ‘यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता, सकिँदैन भने सहर्ष विदाइ नै ईश्वर पोखरेलको निम्ति सही विकल्प हो।’
बस्नेत ओली प्यानलबाट सचिवमा उठ्ने तयारी गरेका छन् । जेनजी आन्दोलनपछि शिथिल भएको एमाले संगठनलाई बस्नेतले नै चलायमान बनाएका हुन् । ‘पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो। अनेक प्रोपगान्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस्’, उनले भनेका छन्।