npl.977 Nepal News Stream

Nepali Link

बेलायतमा ड्राइभिङ लाइसेन्स लिन थप झन्झट

Nabin Pokharel 4 hours ago

लन्डन । बेलायतमा ड्राइभिङ लाइसेन्स लिन अब झन् लामो समय लाग्ने भएको छ ।

बेलायत सरकारले हालै सार्वजनिक गरेको नयाँ रोड सेफ्टी स्ट्रयाटेजीमार्फत् इङ्ग्ल्यान्ड र वेल्समा शिकारु चालक अर्थात् लर्नर ड्राइभरहरूका लागि नयाँ नियम प्रस्ताव गरिएको हो । जसअनुसार शिकारु चालकले थिओरी टेष्ट पास गरेपछि प्राक्टिकल टेष्ट दिन कम्तीमा तीनदेखि छ महिनासम्म कुर्नुपर्ने व्यवस्था लागू हुन सक्नेछ ।

सरकारले अघि सारेको प्रस्ताव नीति नै बनेर कार्यान्वयनमा जानुभन्दा अघि यसलाई सार्वजनिक परामर्शको प्रक्रियामा लगिनेछ। परामर्शमा शिकारु ड्राइभर, ड्राइभिङ प्रशिक्षक र सरोकारवाला निकायबाट सुझावहरु संकलन गरिनेछ। परामर्शका क्रममा प्राप्त सुझावका आधारमा अन्तिम निर्णय लिइनेछ र संसदबाट स्वीकृति भएपछि मात्र नयाँ नियम लागू हुने चरणमा पुग्नेछ।

प्रस्तावअनुसार थिओरी टेष्ट पास गरेपछि अनिवार्य लर्निङ पिरियड अर्थात् (सिकाइ अवधि) तोकिनेछ। बेलायत सरकारको यातायात मन्त्रालयले सिकाइको न्यूनतम अवधि तीन महिना वा छ महिना मध्ये कुन प्रभावकारी हुन्छ भन्ने विषयमा परामर्श गरिरहेको जनाएको छ।

सिकाइ अवधिमा ड्राइभिङ प्रशिक्षकसँग लिएका औपचारिक कक्षा मात्र नभई अभिभावक वा आफन्तसँग गरिएको अनौपचारिक ड्राइभिङ अभ्यास पनि मान्य हुनेछ।

हालको व्यवस्थाअनुसार बेलायतमा १७ वर्ष पुगेपछि ड्राभिङ लेसन लिन पाइन्छ र थिओरी टेष्ट पास गरेलगत्तै प्राक्टिकल टेष्ट बुक गर्न सकिन्छ। नयाँ प्रस्ताव लागू भएमा १७ वर्ष पूरा भएको केही दिनमै लाइसेन्स पाउने अभ्यास अन्त्य हुनेछ र सबैभन्दा कम उमेरका योग्य चाल कम्तीमा १७ वर्ष छ महिना उमेर पुगेका हुनेछन्।

सरकारले यो कदम युवा चालकहरूको अनुभव बढाउन र दुर्घटना न्यूनीकरण गर्न आवश्यक भएको बताएको छ।

आधिकारिक तथ्यांकअनुसार सन् २०२४ मा बेलायतमा भएका गम्भीर सडक दुर्घटनामध्ये करिब पाँचमध्ये एकमा युवा ड्राइभर संलग्न थिए। अन्य देशहरूको अनुभवले सिकाइ अवधिको नियम लागू गर्दा सडक दुर्घटना ३२ प्रतिशतसम्म घट्न सक्ने देखाएको जनाइएको छ।

Read more news from Nepali Link

Explore by Source or Category