npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

रसुवा पर्यटकीय आकर्षणको केन्द्रमा, आधा वर्षमै ३२ हजारभन्दा बढीको आगमन

Tourism Face 12 hours ago

रसुवा । हिमाल, ताल, संस्कृति र पदमार्गको संगम बनेको रसुवा पछिल्ला दिनमा पर्यटकीय गन्तव्यका रूपमा झन् मजबुत हुँदै गएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामै ३२ हजारभन्दा बढी पर्यटकले रसुवाका प्रमुख क्षेत्रको भ्रमण गरेपछि जिल्लाको पर्यटन गतिविधि उल्लेख्य रूपमा बढेको देखिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने गोसाइँकुण्ड र लाङटाङ उपत्यका अहिले रसुवाका मुख्य आकर्षण बनेका छन्। ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको गोसाइँकुण्ड र प्राकृतिक सौन्दर्यले भरिएको लाङटाङ क्षेत्रतर्फ आन्तरिक र बाह्य दुवै पर्यटकको आकर्षण बढिरहेको छ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार साउनदेखि पुस मसान्तसम्म ३२ हजार ६७१ जना पर्यटकले यी क्षेत्रको भ्रमण गरेका छन्। यसमध्ये ५ हजार ८८४ जना विदेशी र २६ हजार ७८७ जना आन्तरिक पर्यटक रहेका छन्। यही प्रवृत्ति कायम रहे चालु आर्थिक वर्षको अन्त्यसम्म पर्यटक संख्या ५० हजार नाघ्ने अनुमान निकुञ्जले गरेको छ। गत वर्ष रसुवामा करिब ४४ हजार पर्यटक पुगेका थिए।

पर्यटक आगमनसँगै निकुञ्जको आम्दानी पनि बढेको छ। विदेशी पर्यटकबाट तीन हजार र नेपाली पर्यटकबाट एक सय रुपैयाँका दरले लिइने प्रवेश शुल्कमार्फत पछिल्लो छ महिनामा मात्रै २ करोड ३९ लाख ८८ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको निकुञ्जका अभिलेखकर्ता केशव ढडारीले जानकारी दिए।

काठमाडौँबाट छोटो दूरीमै पुग्न सकिने रसुवामा पर्यटक बढ्दा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको छ। गोसाइँकुण्ड, लाङटाङ र स्याफ्रुबेँसी क्षेत्रमा होटल, होमस्टे, यातायात, कृषि उत्पादन र मजदुरीसम्मको माग बढेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ बताउँछन्।

स्थानीय तह र सरोकारवाला निकायले पूर्वाधार, पदमार्ग र सेवासुविधामा थप ध्यान दिन सके रसुवा दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने सम्भावना रहेको सरोकारवालाहरूको निष्कर्ष छ।

The post रसुवा पर्यटकीय आकर्षणको केन्द्रमा, आधा वर्षमै ३२ हजारभन्दा बढीको आगमन first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category