npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

नेपालगन्जमा चलचित्र ‘कुमारी’को भव्य साङ्गीतिक कन्सर्ट

अनलाइन टीभी 2 hours ago

नेपालगन्ज – यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जबाट देशव्यापी साङ्गीतिक यात्रा सुरु गरेको छ। चलचित्रको प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ।

होटेल स्टार लाइटको प्राङ्गणमा आयोजित उक्त कन्सर्टमा हजारौँ दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्रका मुख्य कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी, निर्देशक दिनेश राउत, पार्श्व गायक केहर सिं लिम्बु तथा उनको ब्यान्ड केहर एन्ड द लुङाका सदस्यहरूको सहभागिता रहेको थियो।

कन्सर्टमा गायक केहर सिं लिम्बुले चलचित्र ‘कुमारी’का चर्चित गीतहरू ‘डोको बुन्ने निगाली चोयाले’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’सँगै आफ्ना लोकप्रिय गीतहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए। विशेषगरी चलचित्रको बहुचर्चित गीत ‘डोको बुन्ने’मा कलाकार द्वय अबिशेक र आकृतिले प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकको उल्लेख्य साथ र उत्साह देखिएको थियो।

सो अवसरमा निर्देशक दिनेश राउतले आफू सधैँ दर्शकको चाहना र रुचिलाई प्राथमिकतामा राखेर चलचित्र निर्देशन गर्दै आएको बताउँदै ‘कुमारी’लाई एक सशक्त लभ–स्टोरी चलचित्रका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए।

नेपालगन्जबाट सुरु भएको यो साङ्गीतिक यात्रा अब देशका विभिन्न सहरहरूमा पुग्नेछ। निर्माण पक्षका अनुसार टोली माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा प्रस्तुति दिनेछ। यसै क्रममा माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष खुला कन्सर्टमा चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गरिने तयारी गरिएको छ।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको तथा पिक्चर फ्रेमको सहकार्य रहेको चलचित्र ‘कुमारी’का निर्माता महेन्द्र अधिकारी हुन् भने कार्यकारी निर्माता केदार भुसाल रहेका छन्। चलचित्रको लेखन विकास सुवेदी, छायाङ्कन सुसन प्रजापति, सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुली, साउन्ड डिजाइन उत्तम न्यौपाने र ब्याकग्राउन्ड स्कोर साहस शाक्यको रहेको छ।

चलचित्रका सबै गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ भने सङ्गीत केहर एन्ड द लुङाका सदस्यहरूको रहेको छ। गीतकारका रूपमा सागर लामिछाने मगर र सुमन तामाङ रहेका छन्।

Read more news from Online Tv Nepal

Explore by Source or Category