npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार

ईश्वर थापा 5 hours ago

धनकुटा । केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो ।

जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति हुने गरेको थियो । अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आएका छन् । त्यस्तै, बाहिरबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्छन् ।

सोमबारदेखि नै धनकुटा बजार चकमन्न देखिन थालेको छ । बजार सुनसान भएपछि धनकुटामा सोमबार होलीको रौनक नै देखिएन् । निर्वाचनको माहोल सुरु भएसँगै बजारमा बस्ने नेता–कार्यकर्ता र विद्यार्थीहरू प्रायः सबैजसो गाउँ फर्किएका छन् । निर्वाचनमा खटिएका कर्मचारीहरु मतदान केन्द्रमा खटिएपछि बजार थप सुनसान बनेको हो ।

हाल धनकुटा बजारमा नागरिकको चाप उल्लेख्य रूपमा घटेको छ । सदरमुकामका अधिकांश होटल तथा पसलहरू बन्द हुन थालेका छन् । मतदानका लागि नागरिक आ–आफ्ना मतदान केन्द्रमा पुगेसँगै गाउँघर भने भरिभराउ भएका छन् ।

व्यापारिक केन्द्रका रुपमा परिचित धनकुटा बजारमा गाउँगाउँबाट विद्यार्थी अध्ययनका लागि, कर्मचारी रोजगारीका लागि तथा राजनीतिक दलका नेता–कार्यकर्ता राजनीतिक गतिविधिका लागि बस्ने गरेका छन् । तर, अहिले निर्वाचन केन्द्रित गतिविधिका कारण दलका नेता–कार्यकर्ता गाउँतिर होमिएका छन् । सधैंजसो बजार, पसल, चोक तथा चिया पसलमा हुने चुनावी चर्चा–परिचर्चा हुने स्थानहरू समेत अहिले सुनसान देखिन्छन् ।

धनकुटामा भोजपुर, संखुनासभा, तेह्रथुम लगायत पूर्वी पहाडी जिल्लाका साथै तराईका केही जिल्ला र समग्र कोशी प्रदेश बाट विद्यार्थी अध्ययनका लागि आउने गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा ती विद्यार्थीहरू मतदानका लागि आ–आफ्ना गाउँ फर्किएपछि बजार तथा चोक–चौतारा सुनसान बनेका छन् ।

The post मतदाता गाउँ गएपछि सुनसान धनकुटा बजार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category