News of Nepal
उम्मेदवारको फोटोसहितको टिसर्ट नियन्त्रणमा
उदयपुर ।
उदयपुर प्रहरीले मंगलबार निर्वाचन आचारसंहिता विरुद्धको कार्य गरी बिक्री वितरण गरिरहेको टिसर्टहरू गाईघाट र कटारी बजारबाट नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार फागुन १९ गते जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहतका प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले निर्वाचन आचार संहिता विरुद्ध प्रतिनिधि सभा सदस्य निर्वाचन ,२०८२ का उम्मेद्वारहरुको फोटोसहित छापिएको होलीमा प्रयोग गरिने टिसर्टहरू बिक्री वितरण गर्दै गरेको अवस्था ३९ थान बरामद गरिएको छ ।
त्रियुगा नगरपालिका वडा नं.११ स्थित गाईघाट बजार, कटारी नगरपालिका वडा नं. ३ र ४ कटारी बजारमा रहेका कपडा पसलहरुबाट उक्त टिसर्ट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको हो ।
स्मरण रहोस् कि यस अघि पनि उदयपुरको गाईघाट, बेल्टार र कटारी बजारबाट पनि निर्वाचन आचार संहिता विरुद्धको कार्य गरी बिक्री वितरण गरिरहेको २८२ थान टिसर्टहरू जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतका प्रहरी इकाईहरुको सक्रियतामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।