सरोजलाई साथ दिँदा कञ्चनको सांसद पद धरापमा
काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई साथ दिँदा राप्रपाकी सांसद कञ्चन बिच्छाको पद धरापमा परेको छ । राप्रपाले मधेश सरकारमा वन तथा वातावरणमन्त्री बनेकी बिच्छालाई सांसदबाट हटाउन प्रदेश सभालाई पत्र पठाएको छ ।
राप्रपाबाट एक मात्र प्रदेश सभा सदस्य रहेकी समानुपातिक सांसद बिच्छा कात्तिक २४ गते मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा विना विभागीय मन्त्री बनेकी थिइन् । पछि मंसिर ८ गते मात्रै उनले वनमन्त्रीको जिम्मेवारी पाएकी थिइन् ।
राप्रपाले स्पष्टिकरण सोध्दै त्यतिबेलै बिच्छालाई सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर, पार्टीको नीति नियम अटेर गरेपछि प्रक्रिया पु¥याएर राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।
उपसभामुख बबिता राउत ईशरले पत्र प्राप्त भएको र कर्मचारीसहित कानून विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गरिने बताइन् । अब बस्ने प्रदेश सभा बैठकमा बिच्छाको सांसद पद खारेज भएको सूचना पढेर सुनाइने भएको छ । संसदले पद रिक्त भएको जानकारी गराउनेवित्तिकै उनको पद जानेछ ।