npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

विश्वको सबैभन्दा ठूलो आयल रिफाइनरी अरामकोमा इरानले गर्यो ड्रोन हमला, तेलको मूल्य झनै चर्किने निश्चित

जयराम गौतम 18 hours ago

काठमाडौं । इरानले विश्वको सबैभन्दा ठूलो आयल रिफाइनरी अरामकोमा आक्रमण गरेको छ।

रोयटर्सका अनुसार,ड्रोन आक्रमणपछि साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले सोमबार आफ्नो रास तनुरा तेल रिफाइनरी बन्द गरेको छ। यो रिफाइनरी बन्दको खबरले ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२ प्रतिशतले बढाएको छ।

यो ठाउँ साउदीको सबैभन्दा ठूलो र सबैभन्दा रणनीतिक ऊर्जास्थलहरुमध्ये एक हो। आक्रमणपछि यसको प्रशोधन परिसरमा आगलागी भएको थियो। अधिकारीहरूले आगो नियन्त्रणमा ल्याइएको र कुनै हताहत भएको पुष्टि नभएको बताएका छन्। तर, घटनाले यस क्षेत्रमा महत्वपूर्ण ऊर्जा पूर्वाधारका बारेमा चिन्ता बढाएको छ।

रोयटर्समा प्रकाशित खबरअनुसार एक अधिकारीले अरामकोको रास तनुरा रिफाइनरी सावधानीका रुपमा बन्द गरिएको बताएका छन्। ती अधिकारीले भने, ‘स्थिति नियन्त्रणमा छ।’

साउदी रक्षा मन्त्रालयका प्रवक्ताले अल–अरेबिया टीभीलाई भने, ‘यस आक्रमणमा कुनै पनि नागरिक घाइते भएका छैनन्। अरामकोको रास तनुरामा दुई ड्रोनहरु रोकिएका छन्।’

विश्वव्यापी रुपमा इरान युद्ध बढेदेखि कच्चा तेलको मूल्य ४ वर्षयताकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। किनकि होर्मुजको जलडमरुमबाट हुने व्यापार (जुन विश्वको लगभग पाँचौँ भाग दैनिक कच्चा तेल बोक्ने जलमार्ग हो) लगभग रोकिएको छ। इरानले आधिकारिक रुपमा च्यानल बन्द गरेको छैन। तर, लडाइँका बीचमा जहाज मालिकहरुले आफैँले रोक लगाएका छन्।

इरान युद्धले विश्वव्यापी तेल बजारका लागि खतरनाक नयाँ चरणलाई संकेत गर्दछ। अमेरिका र इजरायलले शनिबार इरानका धेरै स्थानमा क्षेप्यास्त्र प्रहार गरे र स्थानीयलाई इस्लामिक शासनलाई उखाल्न आग्रह गरे।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्युपछि तेहरानले इजरायलमा रहेका अमेरिकी अड्डाका साथै साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनजस्ता देशमा शृंखलाबद्ध आक्रमण सुरु गरेको छ। –एजेन्सी

Read more news from Insurance Khabar

Explore by Source or Category