npl.977 Nepal News Stream

Herne Katha logo Herne Katha

EP144 Icefall Doctors

हेर्ने कथा 5 months ago

खुम्बुको पदयात्रा गर्नेहरुका लागि सगरमाथाको फेदि अर्थात् आधारशिविर एउटा मिठो थकान बिसाउने गन्तव्य हो । सगरमाथाको टाकुरा चुम्ने सपना बोकेर आउनेहरुको लागि भने आधारशिविर गन्तव्य होइन, सुरुवात हो । 

 

आधारशिविरबाट सगरमाथा शिरतिर पाइला मोड्दैजाँदा अरु थुप्रै क्याम्पहरु छन् । क्याम्प वान, क्याम्प टु, क्याम्प थ्री, क्याम्प फोर । 

 

बेसक्याम्पदेखि क्याम्प 1 सम्मको बाटोलाई बोलिचालिको भाषामा Khumbu आइसफल भनिन्छ । आइसफल अथवा हिउँका पहिरो र पहरा – निरन्तर बगिरहेका, भत्किरहेका, थर्किरहेका – संसारको अग्लो शिखरको काखभित्र उथलपुथल  ! 

 

सगरमाथा आरोहणको याममा भयको यो भूमरीमा पहिलो पाइला टेक्दछ – आइसफल डाक्टरले 

आइसफल डाक्टरका कथा

 

कान्छो पर्वतश्रृंखला भइकन पनि अग्लो हुनुमा सगरमाथालाई मनमनै गर्व लाग्दो हो । सगरमाथाको काँध चढ्न आउनेहरुलाई किन नलागोस् । 

 

हिमालफेदिका आदिवासीहरु सगरमाथालाई पूजा गर्थे । समुद्रपारिबाट सगरमाथा चढ्छु भन्नेहरु आउन थाले । चोमोलोङ्माको काखमा हुर्केकाहरुले हावा र हिउँ बुझेका थिए । बाटो उनीहरुले नै देखाए । सगरमाथाले आशिष मात्र दिन्थ्यो । आम्दानी दिन थाल्यो । 

 

सगरमाथा चढाईको सबैभन्दा कठीन र मृत्युलाई नजिकबाट अनुभव गर्ने ठाउँ भनेर आइसफल चिनिन थाल्यो । आइसफलमा बाटो पहिल्याउनेहरुलाई कसैले नाम राखिदियो – आइसफल डाक्टर । 

 

यहाँबाट टाढा घाट गाउँका आङ्सार्की शेर्पाले आइसफलमा बाटो बनाउने काम थालेको १८ वर्ष भयो । 

 

आङ्सार्कीको नेतृत्वमा आइसफल डाक्टरहरुको एउटा टोली बेसक्याम्पबाट हिँड्ने तयारी गर्दैछ । 

 

वसन्तमा ऋतुमा आरोहण सुरु हुनुअघि सगरमाथा र यसको फेदीले एक यामको वर्खा र हिउँद झेलिसकेको हुन्छ । अघिल्लो साल हिँडेका बाटाहरु हराइसकेका हुन्छन् । अनकन्टार र अनिश्चित बनेको हुन्छ चुचुरोसम्मको यात्रा । 

 

त्यो अनिश्चयमा पहिलो पाइला राख्छन् आइसफल डाक्टरले – कहिले रातमा कहिले झिसमिसेमा । बाटो पहिल्याउँछन् । फड्किन असम्भव ठाउँमा भर्याङ तेर्स्याउँछन् । जमेर चट्टान झैं भएका हिमशिलाहरुमा फलामको किलो ठोक्छन् । अन्तत: आरोहण र किर्तिमानको सपना बोक्ने सयौंका लागि चुपचाप हिमालको आरोहमा भर्याङ बनिदिन्छन् । 

 

सँधै माइनस मुनि रहने यहाँका तापक्रमको पारो तल माथि भइरहँदा हावा हिउँ र पानीका ठक्करहरुले आइसफलको भूगोल छिनछिनमा फेरिदिन्छ । 

 

हिउँ र चट्टानका पत्रहरु बलियो छन् कि कमजोर । हिउँ भित्रका मोलिक्युलहरुले एक अर्कालाई च्याप्प समातेका छन् कि खुकुलोसँग । यी हिमविज्ञहरुको आँखा र अनुभवले नै भनिदिन्छ

 

The post EP144 Icefall Doctors appeared first on Herne Katha.

Read more news from Herne Katha

Explore by Source or Category