आर्सनलसँग चेल्सी पराजित
एजेन्सी – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले १० खेलाडीमा सीमित चेल्सीमाथि कठिन २–१ को जित निकाल्दै अंकतालिकाको ५ अंकको अग्रता कायम राखेको छ।
आइतबार इमिरेट्स स्टेडियममा भएको खेलका सबै गोल कर्नरबाट भएका थिए। ६६औँ मिनेटमा जुरिएन टिम्बरले हेडमार्फत गरेको गोल निर्णायक बन्यो।
आर्सनलले २१ औं मिनेटमा विलियम सालिबाको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा चेल्सीले पनि कर्नरबाटै दबाब सिर्जना गर्यो, जसमा पिएरो हिन्कापिएबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो।
तर दोस्रो हाफमा आर्सनलले फेरि सेट पिसमार्फत गोल गर्यो। तीन मिनेटको अन्तरालमा दुई पहेँलो कार्ड पाएपछि पेड्रो नेटोलाई रातो कार्ड देखाइयो र चेल्सी १० खेलाडीमा सीमित भयो। त्यसपछि ६६ औं मिनेटमा टिम्बरको हेड गोलले आर्सनललाई महत्वपूर्ण जित दिलायो।
मिकेल आर्टेटाको टोलीले यो जितसँगै म्यानचेस्टर सिटी भन्दा सुरक्षित दूरी कायम राखेको छ। चेल्सी छैटौँ स्थानमा सीमित भएको छ।
युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा
बेन्जामिन सेस्को फेरि एकपटक म्यानचेस्टर युनाइटेडको जितमा नायक बनेका छन्। उनको निर्णायक गोलसँगै युनाइटेडले पछाडि परेको अवस्थाबाट उल्टाउँदै क्रिस्टल प्यालेसलाई २–१ ले हराएको छ।
खेलको चौथो मिनेटमै म्याक्सेन्स लाक्रोइक्सले हेडरमार्फत गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए। ओल्ड ट्राफोर्डमा त्यो गोलले माइकल क्यारिकलाई अन्तरिम प्रशिक्षकका रूपमा दोस्रो कार्यकालमा पहिलो हार व्यहोर्नुपर्ने खतरा सिर्जना गरेको थियो।
तर खेलको मोड त्यसपछि बदलियो। लाक्रोइक्सले म्याथियस कुन्हालाई गोलतर्फ अघि बढ्नबाट रोक्ने क्रममा पछाडिबाट तानेपछि सिधै रातो कार्ड पाएर मैदान बाहिरिनुपर्यो। त्यसबाट प्राप्त पेनाल्टी ५७ औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले सहज रूपमा गोलमा परिणत गरे र खेल बराबरीमा पुग्यो ।
त्यसपछि ८ मिनेटपछि फर्नान्डेजकै पासमा सेस्कोले हेडरमार्फत विजयी गोल गरे। सोमबार एभर्टनविरुद्ध पनि निर्णायक गोल गरेका स्लोभेनियाली खेलाडी सेस्कोले फेरि टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए।
यो जितसँगै युनाइटेड प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ र एस्टन भिल्लालाई उछिनेको छ। क्रिस्टल प्यालेस भने १४ औँ स्थानमा यथावत् छ । तर रेलिगेसन क्षेत्रमा पर्ने टोलीभन्दा १० अंकले अगाडि छ।
आजको अन्य खेलमा ब्राइटनले नटिङघम फरेस्टलाई र फुलहमले टोटेनहमलाई समान २-१ ले हराएको छ।



The post आर्सनलसँग चेल्सी पराजित first appeared on हाम्रो खेलकुद.