npl.977 Nepal News Stream

Tourism Face logo

Tourism Face

NEPAL'S ONLY TOURISM NEWS PORTAL

Contents

भारत-क्यानाडा व्यापार ५० अर्ब डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय

Tourism Face 11 hours ago

टुरिजमफेस
काठमाडौं। भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडाका प्रधानमन्त्री मार्क जे कार्नीको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई ‘अर्को स्तर’ मा लैजाने अवसरका रूपमा चित्रित गर्दै आर्थिक साझेदारीलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले व्यापार र लगानीका सबै सम्भावनाहरू खुला गर्ने प्राथमिकता तय गरिएको बताए । उनका अनुसार व्यापक आर्थिक साझेदारी सम्झौतालाई निकट भविष्यमा अन्तिम रूप दिने निर्णय भएको छ । उक्त सम्झौताले दुवै देशमा नयाँ लगानी र रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रधानमन्त्री मोदीले क्यानाडाली पेन्सन कोषहरूले भारतमा करिब एक खर्ब डलर लगानी गरेको उल्लेख गर्दै यसलाई भारतको आर्थिक विकासप्रति क्यानाडाको भरोसाको सङ्केत भने । दुवै देशका प्रधानमन्त्रीहरूले व्यापारिक समुदायसँग पनि छलफल गर्ने कार्यक्रम रहेको र त्यसबाट आर्थिक सहकार्यको स्पष्ट मार्गचित्र तयार हुने बताइएको छ ।

प्रधानमन्त्री कार्नीको यो भारतको पहिलो आधिकारिक भ्रमण हो । उहाँ २७ फेब्रुअरीमा भारत आएका थिए । मुम्बई भ्रमणपछि राष्ट्रिय राजधानीमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको हो । हैदराबाद हाउसमा भएको द्विपक्षीय वार्तामा व्यापार, लगानी र रणनीतिक सहकार्यलाई सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको बताइएको छ । दुवै नेताको उपस्थितिमा विभिन्न समझदारीपत्रमा हस्ताक्षरसमेत भएका छन् ।

प्रधानमन्त्री मोदीले गत वर्ष क्यानाडामा सम्पन्न जी–७ शिखर सम्मेलनका क्रममा भएको भेटलाई स्मरण गर्दै द्विपक्षीय सम्बन्धमा नयाँ ऊर्जा र विश्वास थपिएको उल्लेख गरेका छन् । भारत र क्यानाडाले लोकतान्त्रिक मूल्यमान्यता, विविधता र मानव कल्याणप्रतिको साझा दृष्टिकोणमा आधारित सहकार्य अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन् ।

विदेशमन्त्री एस जयशङ्करले पनि क्यानाडाका प्रधानमन्त्रीसँग भेट गरी अग्रगामी साझेदारी निर्माणप्रति प्रतिबद्धता व्यक्त गरेका छन्। हालको भ्रमणलाई भारत–क्यानाडा सम्बन्ध सामान्यीकरण र रणनीतिक–आर्थिक सहकार्य विस्तारतर्फको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । प्रधानमन्त्री कार्नी आजै भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।

The post भारत-क्यानाडा व्यापार ५० अर्ब डलर पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य तय first appeared on Tourism Face.

प्रधानमन्त्री सुशीला कार्कीको देशवासीलाई सन्देश

Tourism Face 13 hours ago

टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुक संविधानको मार्गमा स्थिरतापूर्वक अघि बढिरहेको बताउँदै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा लिन आह्वान गरेकी छन् ।
जेनजी आन्दोलनपछिको चुनौतीपूर्ण अवस्थाबाट देशलाई विधिको शासनतर्फ उन्मुख गराउन नागरिकको संयमता र सहकार्य निर्णायक बनेको उनले उल्लेख गरिन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चार विषयमा विशेष अपिल गरेकी छन् । प्रधानमन्त्रीले राजनीतिक स्थायित्व र समृद्धिका लागि सबै मतदातालाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन आग्रह गरिन् ।

मतदान केवल उम्मेदवार रोज्ने प्रक्रिया नभई भविष्य निर्धारण गर्ने अधिकार भएको उनको भनाइ थियो । फागुन २१ गते मतदान केन्द्रमा पुगेर आफ्नो मत प्रयोग गर्न उनले अपिल गरिन् ।
निर्वाचनको पूर्वसन्ध्यामा शान्ति र सद्भाव कायम राख्न उनले सबै राजनीतिक दल, उम्मेदवार र समर्थकलाई संयमित प्रचार गर्न र मौन अवधिको पूर्ण पालना गर्न आग्रह गरिन् ।

लोकतन्त्र स्वस्थ प्रतिस्पर्धाबाट बलियो बन्ने बताउँदै उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । निर्वाचन व्यवस्थापनमा खटिएका निकायप्रति धन्यवाद व्यक्त गर्दै उनले छोटो अवधिमै तयारी पूरा गरेको भन्दै निर्वाचन आयोगको प्रशंसा गरिन् । साथै सुरक्षा निकाय, प्रदेश तथा स्थानीय तहको सहयोग उल्लेख गर्दै मित्रराष्ट्र र संयुक्त राष्ट्र संघ अन्तर्गतका निकायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरिन् ।

निर्वाचनकै आसपास परेको फागुपूर्णिमाको अवसर उल्लेख गर्दै प्रधानमन्त्रीले सम्पूर्ण देशवासीलाई शुभकामना दिइन् । मध्यपूर्वमा चर्किएको तनावप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले त्यहाँ रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि बताइन् ।

 

The post प्रधानमन्त्री सुशीला कार्कीको देशवासीलाई सन्देश first appeared on Tourism Face.

रङ र उत्साहबीच उपत्यकामा होलीको रौनक

Tourism Face 14 hours ago

काठमाडौं । फागुपूर्णिमाका अवसरमा आज काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लाहरूमा होली पर्व उल्लासमय वातावरणमा मनाइएको छ। बिहानैदेखि युवायुवती, बालबालिका र परिवारजन घरआँगन तथा सार्वजनिक स्थलमा भेला भएर एकअर्कामा रङ र अबिर लगाउँदै रमाएका छन्।

उपत्यकाको वसन्तपुर दरबार क्षेत्र, टुँडिखेल, ठमेलदरबारमार्ग क्षेत्रमा विशेष चहलपहल देखिएको थियो। संगीतको तालमा नाचगान, रङको वर्षा र सामूहिक उत्सवले ती क्षेत्र दिनभरि रंगीन बने।

परम्पराअनुसार फाल्गुण शुक्ल पूर्णिमाका दिन पहाड र हिमालमा होली मनाइन्छ भने भोलिपल्ट तराई तथा भित्री मधेशमा हर्षोल्लासका साथ यो पर्व मनाउने चलन छ।

सत्यले असत्यलाई पराजित गरेको प्रतीकका रूपमा लिइने होलीले समाजमा मेलमिलाप, सहिष्णुता र सद्भावको सन्देश दिन्छ। यस अवसरमा विगतका तिक्तता बिर्सेर आपसी सम्बन्ध सुदृढ गर्ने, आत्मीयता साटासाट गर्ने र खुसी बाँड्ने परम्परा रहँदै आएको छ।

The post रङ र उत्साहबीच उपत्यकामा होलीको रौनक first appeared on Tourism Face.

निगमको स्पष्टोक्ति: इन्धन अभावको हल्ला मात्रै, आपूर्ति नियमित

Tourism Face 14 hours ago

 काठमाडौं । इरानमाथि अमेरिकाइजरायल ले संयुक्त सैन्य कारबाही गरेपछि मध्यपूर्वको अवस्था तनावपूर्ण बनेको छ। इरानले जवाफी आक्रमण थालेसँगै विश्व बजारमा कच्चा तेलको आपूर्ति र मूल्यमा असर पर्ने चिन्ता बढेको छ।

विशेषगरी स्ट्रेट अफ हर्मुज जस्ता प्रमुख समुद्री मार्गबाट हुने तेल ढुवानी प्रभावित हुन सक्ने आकलनका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। इरान प्रमुख तेल उत्पादक राष्ट्रमध्ये पर्ने भएकाले यसको असर चीन, भारतलगायत आयातमा निर्भर देशहरूमा पर्न सक्ने विश्लेषण गरिएको छ।

नेपालले भने सम्पूर्ण पेट्रोलियम पदार्थ भारत बाट आयात गर्दै आएको छ। नेपाल आयल निगम ले इन्डियन आयल कर्पोरेसन (आईओसी) मार्फत प्रशोधित इन्धन ल्याउने गर्छ। भारत स्वयंले ठूलो परिमाणमा कच्चा तेल मध्यपूर्वबाट आयात गर्ने भएकाले त्यहाँको संकटले अप्रत्यक्ष प्रभाव पार्न सक्ने आशंका उपभोक्तामा देखिएको छ।

यही त्रासका कारण काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पमा आइतबार बिहानैदेखि सवारीसाधनको लाइन देखिएको थियो। लगातार सार्वजनिक बिदा परेकाले पनि उपभोक्तामा अभावको डर बढेको अनुमान गरिएको छ।

तर निगमले भने तत्काल आपूर्तिमा कुनै अवरोध नरहेको स्पष्ट पारेको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पाइपलाइनमार्फत दैनिक आपूर्ति नियमित रूपमा भइरहेको छ र उपभोक्ताले आत्तिनुपर्ने अवस्था छैन। ‘बजारमा देखिएको भीड मनोवैज्ञानिक त्रासको परिणाम मात्रै हो,’ उनले बताएका छन्।

निगमका अनुसार नेपालले आवश्यकताअनुसार अग्रिम रूपमा माग पठाउने भएकाले आपूर्ति तालिकाअनुसार इन्धन आइरहेको छ। अन्तर्राष्ट्रिय मूल्यका आधारमा भारतसँग प्रत्येक १५ दिनमा मूल्य समायोजन हुने व्यवस्था रहेकाले हालै निर्धारण भएको मूल्य अवधिभर आपूर्ति प्रभावित नहुने दाबी गरिएको छ।

निगमका तथ्यांकअनुसार नेपालमा दैनिक करिब २–२.५ हजार किलोलिटर पेट्रोल र करिब ४ हजार किलोलिटर डिजेल खपत हुन्छ। पाइपलाइनबाट ६–७ हजार किलोलिटर इन्धन आपूर्ति हुने भएकाले माग धान्न पर्याप्त रहेको निगमको भनाइ छ।

आगामी निर्वाचन र सार्वजनिक बिदालाई लक्षित गर्दै थानकोट डिपो खुला राखिएको पनि निगमले जनाएको छ। पछिल्ला दिनमा काठमाडौंमा खपत दोब्बरसम्म बढे पनि सोहीअनुसार आपूर्ति व्यवस्थापन गरिएको दाबी गरिएको छ।

यसैबीच, सुरक्षालाई ध्यानमा राख्दै निगमले सवारीसाधन बाहेक जेरी क्यान, बोतल वा अन्य भाँडामा पेट्रोलियम पदार्थ बिक्री नगर्न सबै डिलरलाई निर्देशन दिएको छ। कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले अनावश्यक सञ्चयले आगलागीजस्ता जोखिम निम्त्याउन सक्ने भएकाले उपभोक्तालाई आवश्यक परिमाणमा मात्रै इन्धन खरिद गर्न आग्रह गरेका छन्।

निगमले बजार अनुगमनका लागि दुई टोली खटाएको र हल्लाको पछि नलाग्न उपभोक्तासँग अनुरोध गरेको छ।

The post निगमको स्पष्टोक्ति: इन्धन अभावको हल्ला मात्रै, आपूर्ति नियमित first appeared on Tourism Face.

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्ने के नगर्ने ?

Tourism Face 15 hours ago

टुरिजमफेस
काठमाडौं। फाल्गुन शुक्ल पूर्णिमाका दिन मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदितखण्डग्रास भएकै अवस्थामा उदय हुने छ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।

पृथ्वीले सूर्यलाई पूर्ण रुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्रग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक ग्रहण देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औँसी तिथिमा लाग्ने गर्छ ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको पनि उनले बताए ।

मङ्गलबार बिहान ९ः०३ बजेपछि बालबालिका, वृद्धवृद्धा र आतुरबाहेकले भोजन गर्नु नहुने शास्त्रीय मान्यता रहेको समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

विशेष उपकरणविना नै हेर्न सकिन्छ चन्द्रग्रहण
विश्वमा सन् २०२६ मा लाग्ने दुई चन्द्रग्रहण र दुई सूर्यग्रहण गरी जम्मा चार ग्रहणमध्ये नेपालबाट भने भोलिको चन्द्रग्रहण खण्डग्रास चन्द्रग्रहणका रूपमा देखिनेछ । मौसमले साथ दिएका खण्डमा देशका सबै भागबाट उक्त खण्डग्रास चन्द्रग्रहण प्रष्ट देख्न सकिने खगोलको क्षेत्रमा काम गर्दै आएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । चन्द्रग्रहण हेर्न कुनै विशेष उपकरणको आवश्यकता पर्दैन ।

मङ्गलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्रग्रहण मौसमले साथ दिएमा प्रष्ट रुपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एकमात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। ग्रहण अवलोकन आफ्नो घरको छत, वा खुला चौर वा नजिकैको डाँडा आदिबाट गर्न सकिनेछ । चन्द्रोदयसँगै नेपालमा सुरू हुने यो ग्रहण हेर्न नजिकैको उच्च भूगोल उत्तम हुने उनले बताए ।

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पर्न जान्छ, तव पृथ्वीको छाँया चन्द्रमामा पर्दछ । चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाँले चन्द्रमा छेकिन्छ, यसलाई नै चन्द्रग्रहण भनिन्छ । सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औँसीको समयमा एउटै सरल रेखामा पर्नसक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण सम्भव हुदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ । यस्तै चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको उनले बताए ।

The post मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण लाग्ने, के गर्ने के नगर्ने ? first appeared on Tourism Face.

Explore news by Source or Category