npl.977 Nepal News Stream

Nepali Link

Nepali Link

Contents

निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रपति पौडेलले गरे राष्ट्रका नाममा सम्बोधन

Nabin Pokharel 4 hours ago

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २१ फागुनको प्रतिनिधिसभा सदस्य निर्वाचन नेपाली राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको बताएका छन् ।

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन 
गर्दै सोमबार भनेका छन्, ‘यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।’

सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझै काम गर्नुपर्नेमा जोड दिंदै राष्ट्रपतिले आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । ‘यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ । र, हाम्रो लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने छ’, उनको सम्बोधनमा छ ।

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ:

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन हाम्रो राजनीतिक इतिहासको एक जटिल परिस्थितिको निकासका रुपमा हुन गइरहेको छ । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र होइन, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर पनि हो ।

देशले विगतका केही वर्षहरूमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ । लामो सङ्घर्ष र त्यागपछि हामीले लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेका छौँ । सबैलाई थाहा छ, आज नयाँ संविधानमार्फत समावेशी राज्य संरचना सुनिश्चित भएको छ ।

हामीले सङ्घीय शासन प्रणालीलाई संस्थागत गर्दै प्रदेश र स्थानीय तहसम्म अधिकार प्रत्यायोजन गरेका छौँ । सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्दै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, दलित, महिला तथा विपन्न समुदायको अधिकारलाई मजबुत बनाउने प्रयास सुरु भएका छन् । पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सडक, ऊर्जा र सञ्चार पूर्वाधारमा देश उल्लेख्य प्रगतिका साथ अगाडि बढिरहेको छ । जगजाहेर छ कि, यी उपलब्धिहरू सहजै प्राप्त भएका होइनन्, यी जनताको बलिदान र अटुट विश्वासको साथै उनीहरूको सक्रिय सहभागिताको परिणाम हुन् ।

यद्यपि, हामीले सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझै काम गर्नुपर्ने छ । मलाई विश्वास छ, आगामी निर्वाचनले त्यही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्नेछ । यो निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्नेछ । र, हाम्रो लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने छ ।

यो निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्ने छ र नयाँ उचाइमा पुर्याउने छ भन्नेमा म विश्वस्त छु ।

यो निर्वाचन हाम्रा लागि पछिल्ला उपलब्धिहरूको रक्षा र प्रवद्र्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता हो । त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व पनि हो । म सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, सञ्चारमाध्यम र सम्बन्धित निकायहरूलाई निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहन आग्रह गर्दछु ।

मतभिन्नता स्वाभाविक हो, तर सहिष्णुता, मर्यादा र विधिको शासनप्रति सम्मान हाम्रो साझा मूल्य हुनुपर्छ । आउनुहोस्, हामी सबै मिलेर लोकतन्त्रको रक्षा, सामाजिक न्यायको प्रवद्र्धन र विकासको यात्रालाई अझ सुदृढ बनाउने सङ्कल्पका साथ यस ऐतिहासिक निर्वाचनमा सहभागी बनौँ ।
जय नेपाल !

मध्यपूर्व तनाव चर्किँदै जाँदा आइएइएको चेतावनी: अत्यधिक संयम अपनाऊँ, आणविक जोखिम बढ्न सक्छ

Narendra Basnet 7 hours ago

काठमाडाैँ । इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जवाबी क्षेप्यास्त्र प्रहारबीच मध्यपूर्वको सुरक्षा अवस्था तीव्र रूपमा अस्थिर बन्दै जाँदा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले सबै पक्षलाई ‘अत्यधिक संयम’ अपनाउन कडा आग्रह गरेका छन् । उनले सम्भावित आणविक जोखिमलाई ध्यानमा राख्दै तत्काल तनाव कम गर्नुपर्ने चेतावनी दिए।

भियनास्थित आइएइए मुख्यालयमा रुसको अनुरोधमा बोलाइएको असाधारण बैठकलाई सम्बोधन गर्दै ग्रोसीले हालसम्म इरानका कुनै पनि आणविक प्रतिष्ठानमा क्षति पुगेको वा आक्रमण भएको सङ्केत आफ्नो एजेन्सीलाई प्राप्त नभएको जानकारी दिए। तथापि, क्षेत्रीय सैन्य गतिविधि चर्किंदै जाँदा आणविक ऊर्जा संयन्त्र, अनुसन्धान रिएक्टर र इन्धन भण्डारण स्थलहरू जोखिममा पर्न सक्ने उनको चिन्ता थियो ।

“आजको अवस्था अत्यन्त चिन्ताजनक छ”, उनले भने, “हामी सम्भावित रेडियोलोजिकल उत्सर्जनको जोखिमलाई अस्वीकार गर्न सक्दैनौँ, जसले ठूला सहर वा विस्तृत क्षेत्र खाली गर्नुपर्ने अवस्था पनि निम्त्याउन सक्छ ।” उहाँले सबै पक्षलाई थप उक्साहटबाट टाढा रहन र अधिकतम संयम अपनाउन पुनः आग्रह गरे ।

ग्रोसीका अनुसार एजेन्सीले इरानी आणविक नियामक निकायसँग सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि तत्काल प्रतिक्रिया प्राप्त भएको छैन । सञ्चार च्यानल चाँडै पुनःस्थापित हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । साथै, कूटनीतिक संवाद ‘सकेसम्म चाँडो’ पुनः सुरु गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

यसअघि जेनेभामा ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबिच भएको दुई चरणको वार्तामा ग्रोसी सहभागी हुनुभएको थियो । ती वार्ताबाट सहमति ननिस्किएको स्मरण गर्दै उहाँले निराशा महसुस भइरहेको स्वीकार गर्नुभयो, तर समाधान कूटनीतिक बाटोबाटै सम्भव हुने विश्वास व्यक्त गरे।

असाधारण बैठक आइएइएको ३५ सदस्यीय बोर्ड अफ गभर्नर्सको नियमित सत्रअघि आयोजना गरिएको हो । अमेरिका र इजरायलसहितका पश्चिमी देशहरूले इरानले आणविक हतियार विकास गर्न खोजिरहेको आरोप लगाउँदै आएका छन् । तेहरानले भने त्यस्ता आरोप अस्वीकार गर्दै आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि मात्र रहेको दाबी दोहोर्‍याएको छ।

आज मध्यरातदेखि मौन अवधि सुरु: उल्लङ्घन गरे उम्मेदवारी खारेजी र ६ वर्ष प्रतिबन्ध

Narendra Basnet 9 hours ago

काठमाडौँ । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचार प्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचार प्रसारको समय प्रदान गरेको छ ।

मतदान हुनु ४८ घण्टाअघिबाट मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन । मौन अवधिमा मत माग्न, पोष्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुल लगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरिएको भेटिएमा उम्मेदवारी खारेजी मात्रै नभई छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

निर्वाचनलाई प्रभाव पार्ने गतिविधि माथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने आयोगले स्पष्ट पारेको छ । मौन अवधिले स्वच्छ र स्वतन्त्र वातावरणमा विवकेपूर्ण ढङ्गले मतदान गर्न मतदातालाई अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । निर्वाचन व्यवस्थापन गर्ने निकायलाई सबै किसिमको बन्दोबस्त गरेर शान्ति, सुरक्षा र सुव्यवस्थासहित भयसहित वातावरणमा निर्वाचन गर्न मौन अवधि महत्वपूर्ण रहन्छ ।

निर्वाचन प्रचार प्रसार अभियान क्रममा मतदातालाई विभिन्न किसिमका तनाव, दबाब र आश्वासन निरन्तर प्राप्त भइरहने अवस्थामा सबैको कुरालाई मन्थन गरेर उपयुक्त व्यक्तिलाई मतदान गर्नका निम्ति ‘फ्रेस’ भएर जानसक्ने अवस्था सिर्जना गर्न मौन अवधिको परिकल्पना गरिएको हो ।

आ–आफ्नो दृष्टिकोण, योजना र कार्यक्रम लिएर मतदातासम्म पुगेका उम्मेदवार र राजनीतिक दललाई आफ्नो प्रचार प्रसारको ठण्डा दिमागले समीक्षा गरेर आनन्दले मतदान गर्न जाने र मतपरिणाम कुर्ने समयका रूपमा लिइने गरिएको छ ।
मौन अवधिको समय निर्वाचन व्यवस्थापकीय हिसाबले पनि अत्यन्त महत्वपूर्ण हुनेछ । मौन अवधिले निर्वाचन गराउने जनशक्ति र सुरक्षा फौजलाई सबैखाले कामबाट मुक्त गरेर शान्तपूर्ण वातावरणमा निर्वाचनको व्यवस्थापन गर्ने अवसर प्रदान गर्छ ।

यस अवधिमा मतदान केन्द्र बनाउने, मतदाता लाइनको व्यवस्थापन गर्ने, शान्तिसुरक्षाको अवस्था मूल्याङ्कन गर्ने गरिन्छ । विश्वका कतिपय मुलुकमा २४ देखि ७२ घण्टासम्म मौन अवधि तोक्न चलन छ ।

भयरहित वातावरणमा प्रभावकारी ढङ्गले निर्वाचन सम्पन्न गर्ने र मतदातालाई सुसूचित भई सचेततापूर्वक खुला दिमागले ‘योग्य र रोजेको’ उम्मेदवारलाई मतदान गर्नका निम्ति निर्णयमा पुग्न प्रदान गरिएको समयका रूपमा मौन अवधिलाई लिइने पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् ।

उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचारण पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

सो अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । त्यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।

आउँदो बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुनेछ ।

यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजचार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ ।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । १४३ अस्थायी मतदानस्थल तय गरिएको छ । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिइएका छन् ।

निर्वाचन दुई लाख १५ हजार कर्मचारी खटिँदैछन् । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरिसकेको छ । यसपटकको निर्वाचनमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षणमा खटिएका छन् ।

Explore news by Source or Category