नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश प्रस्ताव पारित, बचत बढेर तीन खर्बनजिक
काठमाडौं। नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ। संस्थाको ३१औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारणसभाले कोषको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणसमेत अनुमोदन गरेको छ। सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट नारायणप्रसाद घिमिरेलाई सञ्चालक समितिको सदस्यमा सर्वसम्मत चयन गरेको छ।
कोषका सेयरधनीमा नेपाल सरकारको २३.३४, राष्ट्रिय जीवन बीमा कम्पनीको ३१.५५, नेपाल स्टक एक्सचेञ्ज १० , बैंक तथा वित्तीय संस्था १५ र सर्वसाधारणको हिस्सा २० प्रतिशत छ। गत आर्थिक वर्षमा कोषले कर पछिको खुद नाफा १ अर्ब २५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो । नाफामध्ये २५ करोड १२ लाख रुपैयाँ साधारण जगेडा कोषमा विनियोजन गरी बाँकी रकम लाभांशका रूपमा वितरण गर्ने निर्णय गरिएको जानकारी सभामा दिइयो।
कोषले सञ्चालन गरिरहेका विभिन्न दीर्घकालीन बचत, निवृत्तिभरण र सामाजिक सुरक्षा कार्यक्रममार्फत २०८१/८२ मा २ खर्ब ६६ अर्ब ६५ करोड रुपैयाँ खुद कोष संकलन गरेको जनाएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बचत परिचालन मौज्दात रकम बढेर २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
विभिन्न सरकारी संस्थामा कार्यरत कर्मचारीका दीर्घकालीन बचत रकमसमेत कोषमार्फत परिचालन हुँदै आएको छ। सभामा कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले लाभांश वितरणप्रति सेयरधनी सन्तुष्ट देखिनु सकारात्मक संकेत भएको बताए। कर्मचारीको सेवासुविधा, वृत्तिविकास र संस्थागत सुदृढीकरणमा ध्यान दिँदै कोषलाई दूरदर्शी ढंगले अघि बढाइने प्रतिबद्धता उनले व्यक्त गरे।
कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सेयरधनीले दिएका सुझाव क्रमशः सम्बोधन गरिने बताए। नेपाल वायुसेवा निगमलाई विमान खरिदका लागि गरिएको कर्जा लगानीको असुलीमा केही जटिलता देखिए पनि नेपाल सरकारको ग्यारेन्टी रहेकाले ढिलोचाँडो असुली हुने विश्वास उनले व्यक्त गरे।
यसैगरी, कोषले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा खर्च गर्दै आएको र तथ्यांक तथा डाटा व्यवस्थापन प्रणालीलाई क्रमशः डिजिटलाइज्ड र सुरक्षित बनाउँदै लगिएको जानकारी पनि साधारणसभामा दिइयो।
The post नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश प्रस्ताव पारित, बचत बढेर तीन खर्बनजिक appeared first on BIZMANDU.