हजार डलरको स्मरणीय ऋण, जो बन्यो शिक्षामा पहुँच बढाउने लगानीका लागि प्रेरणा
न्युयोर्क। म्याकेनजी स्कटको कलेज जीवनसँग सुरु भएको एउटा सानो सहयोग आज विशाल प्रेरणाको कथामा रूपान्तरित भएको छ। प्रिन्सटन विश्वविद्यालयमा पढ्दै गर्दा आर्थिक अभावका कारण पढाइ छोड्नुपर्ने स्थितिमा पुगेकी स्कटलाई कोठामा सँगै बस्ने साथी जिनी टार्केन्टनले एक हजार डलरको ऋण जुटाइदिएकी थिइन्।
साथीको सहयोगले स्कटको भविष्यका लागि ठूलो गुन लाग्यो। यही अनुभव आज उनी विश्वकै चर्चित परोपकारीमध्ये एक बन्न सफल भएको पृष्ठभूमि भएको छ। पैसा नपाएर रोइरहेकी स्कटलाई टार्केन्टनले आफ्नो बाबुबाट ऋण दिलाएकी थिइन्। ‘म त्यतिबेला म्याकेनजीलाई आवश्यक परे म आफ्नो एक किड्नी पनि दिन सक्थेँ,’ टार्केन्टनले बताइन्, ‘मित्रको लागि यत्ति कुरा त गरिन्छ।’
स्कट अहिले करिब ३४ अर्ब अमेरिकी डलरकी धनी छन्। अमेजनका संस्थापक जेफ बेजोससँगको २०१९ को डिभोर्सपछि आफूले पाएको सेयरको ठूलो हिस्सा समाजका कमजोर वर्गलाई सहयोग गर्न खर्च गर्ने निर्णय उनले गरिन्। अहिलेसम्म उनले १९ अर्ब डलरभन्दा धेरै रकम विभिन्न सामाजिक काममा सहयोग गरिसकेकी छन्।
उनको दान दिने तरिका केही अनौठो छ। कुनै सर्त राख्दिनन्। कहाँ खर्च हुन्छ न निगरानीको चासो छ न त सोधीखोजीको। केवल विश्वास र सद्भावका आधारमा उनी दिन्छिन्। स्कटले बिर्सन चाहिनन् कि कहिलेकाहीँ सहयोग माग्नु परे पनि मानवीयता यही हो – आफन्त, साथी वा अपरिचितले हात थामिदिनु।
वर्षौंपछि टार्केन्टनले ‘फण्डिङ यु’ नामको शिक्षासम्बन्धी ऋण संस्था सुरु गरिन्। उद्देश्य थियो – आर्थिक अभावका कारण पढाइ छोड्न बाध्य विद्यार्थीलाई बिना साक्षी अन्तिम विकल्पका रूपमा ऋण उपलब्ध गराउने। धेरै विद्यार्थीसँग राम्रो अंक र क्षमताका प्रमाणहरू हुन्छन्, तर परिवारको क्रेडिट इतिहास कमजोर भएको कारण उनीहरू ऋण पाउनबाट वञ्चित हुन्छन्। फण्डिङ युले विद्यार्थीको पढाइ पूरा गर्ने सम्भावना, उनके सीप, इन्टर्नशिप अनुभव र भविष्यको आय अनुमान गरेर ऋण दिन्छ। यसले परम्परागत बैंकिङ प्रणालीमा छुटेका धेरै युवालाई आशा भरोसा दिन्छ।
संस्थामा स्कटले लगानी गरेपछि यसको प्रभाव अझ बढेको छ। उनी कम्पनीलाई सहयोग राशि उपलब्ध गराउँछिन्, जसको अर्थ, ठूलो बैंक तथा वित्तीय संस्थालाई बढी जोखिम नहोस्। स्कटले ३० प्रतिशत पुँजी जोखिमपूर्वक उपलब्ध गराउँछिन्। बाँकी ७० प्रतिशत रकम बैंकहरूमार्फत आउँछ। स्कटले लगानी गरेको पैसा एकदिन फिर्ता आउनेछ, त्यसैले यो दान होइन। तर, यसले सामाजिक लक्ष्य पूरा गर्छ।
आर्थिक रूपले कमजोर युवालाई उच्च शिक्षा प्राप्त गर्न सहयोग पुर्याउँछ। यही कारण टार्केन्टन भन्छिन्, ‘परोपकारले मात्र सबै समस्या समाधान गर्न सक्दैन। कहिलेकाहीँ लगानीमार्फत पनि परिवर्तन सम्भव हुन्छ।’
स्कटले आफ्नो एउटा लेखमा फण्डिङ युलाई कृपा र कृतज्ञताबाट प्रेरित योजना भनेकी छन्। उनले मान्छेलाई अवसर प्रदान गर्ने कामलाई जीवनको मुख्य लक्ष्य मानेकी छन्। सामाजिक प्रभावका विषयमा अध्ययन गर्ने विशेषज्ञहरू भन्छन्, ‘स्कटले केवल दान होइन, प्रभावकारी लगानी पनि गरिरहेकी छन्, जसले दीर्घकालीन समाधान सम्भव बनाउँछ।’
यो कथा एउटा साधारण तथ्यले सुरु हुन्छ, एक जना साथीले सहयोग गरिन्। तर समय बित्दै जाँदा त्यो सहयोगले हजारौं जीवनमा असर पार्ने शक्ति बटुल्यो। टार्केन्टनको छोटो मद्दतले स्कटलाई शिक्षाबाट वञ्चित हुनबाट बचायो, स्कटको आजको लगानीले फेरि हजारौं विद्यार्थीलाई भविष्य निर्माण गर्ने अवसर प्रदान गरिरहेको छ।
सानो उदारताबाट सुरु भएको यात्रा अब प्रेरणादायी ‘पूर्ण चक्र’ बनेको छ। मानिसलाई सही समयमा गरिएको सहयोग भविष्यमा असाधारण परिवर्तनको कारक बन्न सक्ने म्याकेनजीको जीवनमा देखिएको छ। (एपी)
The post हजार डलरको स्मरणीय ऋण, जो बन्यो शिक्षामा पहुँच बढाउने लगानीका लागि प्रेरणा appeared first on BIZMANDU.