npl.977 Nepal News Stream

#GEN Z

Contents
News of Nepal logo News of Nepal

उसुको म्याटमा स्वर्णको चांग, पढाइमा टपर नेपाली उसु स्टार सुष्मिता तामाङ

न्युज अफ नेपाल 15 hours ago

भक्तपुरको चाँगुनारायण–४ को एउटा मध्यमवर्गीय परिवारमा २६ वर्षअघि एउटी बालिकाको जन्म भयो । ७ वर्षको कलिलो उमेरमा जब अरू बालबालिकाहरू खेलौना र गुच्चासँग रमाइरहेका हुन्थ्यो, ती बालिकाका आँखाहरू भने आफ्ना दाजु मनोजबहादुर तामाङले गर्ने उसुको मार्सल आट्र्सका मुभहरूमा अडिएका हुन्थ्यो । “दाइले सक्नुहुन्छ भने म किन सक्दिनँ?” भन्ने त्यो बालहठ नै आज नेपाली खेलकुदको एउटा बलियो खम्बा बनेर उभिएकी छिन् । ती बालिका अरू कोही नभएर नेपाली उसु जगतकी स्टार खेलाडी सुष्मिता तामाङ हुन् । आज सुष्मिताको नाम सुन्नेबित्तिकै दुईवटा चित्र आँखा अगाडि आउँछन् । एउटा उसुको म्याटमा तरवार र लठ्ठीसँगै हावामा उडिरहेकी एक निडर लडाकु र अर्को विश्वविद्यालयको नतिजामा उत्कृष्ट स्थान हासिल गरेकी एक लगनशील विद्यार्थी । सुष्मिताले नेपाली खेलकुदमा एउटा यस्तो मानक स्थापित गरेकी छिन्, जसले ‘खेलाडीले पढ्न सक्दैनन्’ भन्ने भ्रमलाई जरैदेखि उखेलिदिएको छ ।

चिनियाँ शब्द ‘उसु’ को अर्थ हुन्छ ‘युद्धकला’ । यो केवल मुक्का र लात्तीको खेल मात्र होइन, यो त मानसिक र शारीरिक अनुशासनको पूर्ण सन्तुलन हो । सुष्मिताले उसुको ‘थाओलु’ विधालाई आफ्नो जीवनको मन्त्र बनाइन् । थाउलुअन्तर्गत पनि उनी ‘छाङ्गछ्वान’ र ‘ताउसु’ मा पोख्त छिन् । “उसु केवल शारीरिक शक्तिको प्रदर्शन मात्रै होइन, यो त अनुशासन, एकाग्रता र सटिकताको संगम हो,” सुष्मिता अनुभव सुनाउँछिन्,“यो आफ्नो शरीरद्वारा कविता वाचन गरेजस्तै हो । प्रत्येक चाल सटिक हुनुपर्छ, प्रत्येक उफ्राइ त्रुटिरहित हुनुपर्छ । सानो एउटा गल्तीले पनि वर्षौँको मेहनत क्षणभरमै शून्य बनाइदिन सक्छ ।” उनको प्रदर्शनमा देखिने लचकता, गति र शक्तिले दर्शकलाई मात्र होइन, अन्तर्राष्ट्रिय निर्णायकहरूलाई समेत मन्त्रमुग्ध पार्ने गर्दछ ।

हाल नेपाली सेनासँग आबद्ध सुष्मिताको पदक यात्रा ८ वर्षको उमेरदेखि नै सुरु भएको हो । बौद्धमा आयोजित जुनियर च्याम्पियनसिपमा जितेको कांस्य पदकले उनलाई खेलप्रतिको भोक जगायो । ९ वर्षको कलिलो उमेरमा पाँचौँ राष्ट्रिय खेलकुदमा दिग्गज खेलाडीहरूलाई उछिन्दै उनले रजत पदक चुमिन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । छैटौँ, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा उनले लगातार स्वर्ण पदक जितेर घरेलु खेलकुदमा आफ्नो एकछत्र वर्चस्व कायम गरेकी छिन् । तर, उनको परिचय राष्ट्रिय घेरामा मात्र सीमित छैन । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा उनले स्वर्ण पदक जितेर इतिहास रचिन् भने गुवाहाटीमा भएको १२ औँ सागमा रजत पदक हात पारिन् ।

हालै सन् २०२५ मा ब्राजिलमा सम्पन्न १७ औँ विश्व उसु च्याम्पियनसिपमा उनी ‘ताउसु’ विधामा विश्वका शीर्ष ८ खेलाडीभित्र पर्न सफल भइन् । यो उपलब्धिले उनलाई सन् २०२६ मा चीनमा हुने चौथो ताओलु विश्वकपका लागि छनोट गराएको छ । शीर्ष ८ भित्र पर्नु आफैँमा ऐतिहासिक थियो, किनकि विश्व च्याम्पियनसिपमा अंकको प्रतिस्पर्धा दशमलवका साना बिन्दुहरूमा हुने गर्छ । सुष्मिता भन्छिन्,“विश्वकपमा खेल्दा एक सेकेन्डको ढिलाइ वा तरवारको एक मिलिमिटरको गलत कोणले पनि पदकबाट टाढा पु¥याउन सक्छ ।” उनको यही सूक्ष्म ध्यान र हतियारसँगको गहिरो लगावका कारण नै उनी सन् २०२६ को विश्वकपका लागि छनोट हुन सफल भएकी हुन् । जहाँ उनले नयाँ र अझै कठिन मुभहरू प्रदर्शन गर्ने तयारी गरिरहेकी छिन् । लगातार तीन पटक एसियाली खेलकुद (२०१४, २०१८ र २०२२) मा नेपालको प्रतिनिधित्व गरिसकेकी सुष्मिता अहिले एसियाकै गनिएकी खेलाडीमा पर्छिन् ।

सुष्मिताको कथा पदकहरूमा मात्र सकिँदैन । धेरैजसो खेलाडीहरू खेललाई बहाना बनाएर पढाइ छोड्छन्, तर सुष्मिताले यसलाई चुनौतीको रूपमा लिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एभरेष्ट कलेजमार्फत बीबीएम अध्ययन गरिन् । सन् २०२३ मा ३.८५ जीपीएसहित बीबीएम पाँचाँै सेमेस्टर उत्तीर्ण गर्दा उनी त्रिभुवन विश्वविधालयकै ‘सेकेन्ड टपर’ विद्यार्थी बन्न सफल भइन् । त्यति मात्रै होइन, केही वर्षअघि पनि एसएलसी उत्तीर्ण गर्दा उनी जिल्लाकै टपर बनेकी थिइन, त्यो पनि १२औं सागमा रजत जितेर फर्केको एक महिनाको छोटो अवधिको तयारीमै । बिहान सबेरै उठेर तालिममा पसिना बगाउनु, थकित शरीर र निद्राले भरिएका आँखाहरू लिएर कलेज दौडिनु उनको धेरै वर्षको नियमित दैनिकी थियो । “धेरै पटक म स्कुल पुग्दा पहिलो पिरियड सकिइसकेको हुन्थ्यो,“उनी सम्झिन्छिन्,“घर फर्कँदा आमाले कपाल कोरिदिँदै खाना खुवाउनुहुन्थ्यो ताकि म समयमै स्कुल जान सकूँ । रातभर जाग्राम बसेर भए पनि मैले छुटेका पाठहरू पूरा गर्थें ।” उनी नेपाली, तामाङ, अंग्रेजी र हिन्दी भाषामा निपुण त छिन् नै, उसुको मर्म बुझ्न उनले चिनियाँ भाषामा समेत दखल राखेकी छिन् । यो बहुभाषिक क्षमताले उनलाई अन्तर्राष्ट्रिय मञ्चमा विभिन्न संस्कृतिसँग जोडिन मद्दत गरेको छ ।

सुष्मिताले आज जुन सफलता पाएकी छिन्, त्यसको जगमा कठोर संघर्ष लुकेको छ । भक्तपुरको एउटा पुरानो र जीर्ण हलभित्र गुरु सत्य भँडेलको रेखदेखमा उनले आफ्नो कलालाई तिखार्न सुरु गरेकी थिइन् । तालिम प्रतिको उनको तिर्खा यति थियो कि एउटा हलको प्रशिक्षण सकेर उनी अर्का गुरु साजन देशेमरुका पुग्थिन् । “मेरो शरीर फलामजस्तै दह्रो हुनुपर्छ भन्ने मलाई लाग्थ्यो,”उनी भन्छिन् । आमाबुबाले “छोरी मान्छे, शरीर दुख्छ, चोट लाग्छ” भनेर चिन्ता गर्दा उनी आफ्नो लक्ष्यमा झनै दृढ बन्थिन् । अहिले प्रशिक्षक प्रकाश महर्जनको प्रशिक्षणमा सुष्मिताको सम्पूर्ण ध्यान आगामी सेप्टेम्बरमा जापानमा हुने २० औँ एसियाली खेलकुद र सन् २०२६ को विश्वकपमा केन्द्रित छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले उनलाई विशेष छात्रवृत्तिसमेत प्रदान गरेको छ । जसअन्तर्गत आगामी सेप्टेम्बरसम्म एनओसीबाट उनले मासिक ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन् । जसले उनको तयारीमा ठुलो मद्दत पुगेको छ । “म केवल पदक जित्न चाहन्नँ, म नेपालमा एउटा यस्तो माहोल बनाउन चाहन्छु जहाँ हरेक विद्यालयमा उसु सिकाइयोस्,” उनी आफ्नो सपना सुनाउँछिन् । फुर्सदको समयमा उनी नयाँ खेलाडीहरूलाई टिप्स दिने र उनीहरूलाई उत्प्रेरित गर्ने काम पनि गर्छिन् ।

सुष्मिता आधुनिक नेपाली युवा पुस्ताकी वास्तविक प्रतिनिधि हुन् । उनले सावित गरिदिएकी छिन् कि यदि इच्छाशक्ति र अनुशासन छ भने खेलको मैदानमा स्वर्णको चांग लगाउन र विश्वविद्यालयको परीक्षामा टपर बन्न सँगसँगै सम्भव छ । शक्ति र शालीनताको यो अनुपम संगमले नेपाली खेलकुद इतिहासमा एउटा सुनौलो अध्याय थपिसकेको छ । भक्तपुरको माटोबाट उठेकी यी उसु स्टारको वास्तविक उडान त अझै बाँकी नै छ, जसले आगामी दिनमा विश्व मञ्चमा नेपालको झन्डा अझै उँचो बनाउनेछ ।

News of Nepal logo News of Nepal

माघे संक्रान्ति: संस्कार, संस्कृति र स्वास्थ्यको संगम

न्युज अफ नेपाल 15 hours ago

नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई एउटै सूत्रमा गाँस्ने अनुपम पर्व हो माघे संक्रान्ति । ज्योतिषशास्त्रको गणना अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने यस विशेष दिनलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ, जसले जाडोको अन्त्य र न्यानोपनको सुरुवातलाई संकेत गर्दछ । यसै दिनदेखि सूर्य उत्तरायण हुने भएकाले दिनहरू क्रमशः लामा हुँदै जान्छन् भने आध्यात्मिक दृष्टिकोणले पनि यो समयलाई अत्यन्तै शुभ मानिन्छ । पौराणिक मान्यता अनुसार महाभारतका पात्र भीष्म पितामहले मृत्युमाथि विजय पाउने वरदान पाए तापनि मोक्ष प्राप्तिका लागि सूर्य उत्तरायण हुने समयलाई नै पर्खिएका थिए । यही कारणले गर्दा यस दिनलाई आध्यात्मिक जागरण र पितृ तर्पणका लागि पवित्र मानिँदै आएको हो । बिहानै उज्यालो नहुँदै देवघाट, त्रिवेणी, दोलालघाट र रिडीजस्ता त्रिवेणी धामहरूमा हजारौँ भक्तजनको उपस्थिति हुनुले यसको धार्मिक गरिमालाई अझ प्रगाढ बनाउँछ ।

यो पर्व नेपाली समाजको बहुसांस्कृतिक स्वरूपको प्रतिविम्ब पनि हो । नेवार समुदायले कपालमा तेल दलेर घ्यू र चाकू सहित तरुल र तिलको परिकार खाएर मनाउने गर्दछ । त्यसैगरी, थारू समुदायमा यसलाई ‘माघी’ का रूपमा नयाँ वर्षको उत्सव झैं मनाइन्छ । जहाँ खेतीपातीको लेखाजोखा र नयाँ नेतृत्व चयन गर्ने लोकतान्त्रिक अभ्यास गरिन्छ । थारू बस्तीहरूमा ढिक्री, अन्दी चामलको रोटी र परम्परागत जाँडको स्वादसँगै नाचिने ‘मघौटा’ नाचले छुट्टै रौनकता थप्दछ । त्यस्तै, पहाडी भेगका नुवाकोट र धादिङ जस्ता जिल्लाहरूमा आयोजना गरिने ऐतिहासिक ‘गोरु जुधाइ’ प्रतियोगिताले नेपाली कृषि प्रधान समाजको प्राचीन मनोरञ्जन र साहसलाई जीवन्त तुल्याएको छ । यसरी फरक–फरक भूगोल र समुदायमा आफ्नै मौलिकताका साथ मनाइने यो चाडले राष्ट्रिय एकता र भ्रातृत्वलाई मजबुत बनाउँदै आएको छ ।

संस्कार र संस्कृतिसँगै माघे संक्रान्ति स्वास्थ्य र पोषणको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण छ । यस दिन खाइने घ्यू, चाकु, तिलको लड्डु, तरुल र खिचडी केवल स्वादका लागि मात्र नभई वैज्ञानिक रूपमा जाडो मौसम अनुकूलका पौष्टिक आहार हुन् । पोषणविद्हरूका अनुसार तिलमा पाइने क्याल्सियम, चाकुबाट प्राप्त हुने तत्काल उर्जा र तरुलमा पाइने फाइबरले कठ्याङ्ग्रिँदो जाडोमा शरीरको तापक्रम सन्तुलनमा राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । घ्यूले शरीरमा चिल्लोपनको आपूर्ति गर्नुका साथै पाचन प्रक्रियालाई सहज बनाउँछ । त्यसैले हाम्रा पुर्खाहरूले चलाएको यो खानपानको परम्परा स्वास्थ्य रक्षाको एक अनुपम कडी हो ।

माघे संक्रान्ति प्रकृति, खगोल विज्ञान, धर्म र स्वास्थ्यको एक सुन्दर संगम हो । सूर्यको उत्तरायण यात्रासँगै मानव मनमा पनि सकारात्मक उर्जा, सुस्वास्थ्य र नयाँ उत्साहको सञ्चार हुने जनविश्वास छ । नदी किनारका पवित्र स्नानदेखि थारू गाउँका सामूहिक भोजसम्मका यी गतिविधिले हामीलाई प्रकृतिको चक्रसँग नजिक गराउँछन् । जाडोको बिदाइ र उज्यालोको स्वागत गरिने यो समयले हाम्रो मौलिक पहिचानलाई संरक्षण गर्दै पुर्खाको ज्ञान र आधुनिक जीवनशैलीबीच एउटा सार्थक पुलको काम गरेको छ । यो पर्वले समस्त नेपालीमा सुख, शान्ति र सांस्कृतिक सद्भावको सन्देश प्रवाह गरिरहेको छ ।

Explore by Source or Category