npl.977 Nepal News Stream

#Breaking News

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

मौन अवधि सुरुः आचारसंहिता अनुगमन कडाइ गर्न निर्देशन

राजधानी समाचारदाता 6 hours ago

काठमाडौं । निर्वाचन आयोगले आसन्न २१ फागुनको निर्वाचनको आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्देशन दिएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्नका लागि आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयन सुनिश्चितताको अनुगमन गर्न आयोगले सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको छ ।

आयोगले मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्न ुपर्ने आचरणको परिपालनाको अनुगमन गर्न सतर्क गराएको छ । आचारसंहिताको दफा १८ मा तोकिएको मतदानको दिनको विशेष आचरणका लागि आयोगले सोमबार विशेष निर्दे शनमार्फत पुनः स्मरण गराएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन् ।

आचारसंहिता अनुगमन अधिकृतलाई आचारसंहिता उल्लंघन गर्नेलाई तत्क्षण जरिमाना गर्ने तथा कारबाही सिफारिस गर्ने अधिकार प्रत्यायोजन गरिएको आयोग प्रवक्ता भट्टराईले जानकारी दिए । अनुगमन अधिकृतले जिल्ला आचारसंहिता अनुगमन समितिको सहकार्यमा कारबाही सिफारिस गर्नसक्ने भट्टराईले बताए ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका अनुसार जिल्ला आचारसंहिता अनुगमन समितिमा मुख्य निर्वाचन अधिकृत संयोजक, प्रमुख जिल्ला अधिकारी सहसंयोजक, जिल्ला प्रहरी कार्यालयको प्रमुख, सशस्त्र प्रहरी बलको जिल्ला प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय प्रमुख, अनुगमन अधिकृत र जिल्ला निर्वाचन कार्यालयको प्रमुख सदस्य हुने व्यवस्था छ ।

आचारसंहिता अनुगमन अधिकृतहरूले आचारसंहिता उल्लंघनको अवस्था पाएको खण्डमा अनुगमन समितिसँगको परामर्शमा कारबाही सिफारिस गर्न सक्ने व्यवस्था छ । अनुगमन अधिकृतले आचारसंहिताविपरीत भइरहेका क्रियाकलापमा सवारी साधन जफतदेखि प्रचार सामग्री वा मतदान प्रभावित गर्न भइरहेका क्रियाकलापहरूलाई ‘अन द स्पट’ रोक्नेदेखि जफत र जरिमाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

अनुगमन अधिकृत टोलीले दृश्य कैद गर्न क्यामेरासहितको सूक्ष्म टोली परिचालन गरेको निर्वाचन आयोगले जनाएको छ । मौन अवधि सुरु भएपछि गर्न नपाइने कामहरू राजनीतिक दल र उम्मेदवारले गरेको पाइएमा त्यस्तो उम्मेदवारको उम्मेदवारी खारेजीदेखि जरिमानासम्मको सजाय गर्न सकिने व्यवस्था आचारसंहितामा उल्लेख छ ।

के हो मौन अवधि ?
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको ४८ घण्टा अगाडिदेखिको समय मौन अवधि हो । निर्वाचन प्रचारप्रसारको अवधि सकिएपछि शून्य समय अर्थात् मौन अवधि ४८ घण्टा हुने तोकेको छ । आसन्न निर्वाचनका लागि सोमबार रातिदेखि मौन अवधि सुरु भई २१ फागुन मतदान सम्पन्न नहुन्जेल मौन अवधि रहन्छ ।

मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नभएसम्म निर्वाचन सम्बन्धित प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मत माग्न, कुनै पक्षको माहौल जनाउने गतिविधि वा संकेत वा पूर्वानुमान पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी हिँडडुललगायतका क्रियाकलाप गर्न नपाइने आयोगले जनाएको छ ।

उल्लंघन गरे कस्तो कारबाही ?
मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार, चन्दा, पुरस्कार, सम्मान अभिनन्दन वा कुनै जिन्सी प्रदान गरिएको भेटिएमा उम्मेदवारी खारेजसहित छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाइने कारबाही हुने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

‘मौन अवधि सबैका लागि हो, मतदाताले सबै दलका कुरा सुनिसकेर कसलाई मत दिने भनेर सोच्ने बेला हो,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने । भण्डारीले भने ‘दल उम्मेदवार र कार्यकर्ताहरूले आङ्खना अभियानको स्वसमीक्षा गर्दै अवस्था कस्तो हुन्छ भन्ने अनुमान गर्दै आफूलाई परिणाम स्विकार्न तयार पार्ने अवधि भएकोले यो आफैँमा सबैका लागि महत्वपूर्ण छ ।’

कसको के दायित्व ?
मौन अवधिको समयमा आङ्खना प्रचार प्रसारका सामग्री हटाउनेदेखि सबै हिसाबले शान्त र स्वच्छ निर्वाचनको अनुभूति गराउने वातावरण बनाउनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले मौन अवधिमा विशेष आचरण पालना गर्न ुपर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आ–आङ्खना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको र आचारसंहिता पालना नगरिएमा अनुगमन अधिकृतको सिफारिसको आधारमा कारबाही हुनसक्ने आयोगले जनाएको छ ।

मौन अवधिमा उम्मेदवार वा कार्यकर्ता वा समर्थकले कसैलाई मत मागेर फोन गर्न वा एसएमएस गर्न पनि नपाइने आयोगले जनाएको छ । मौन अवधिमा मोबाइल एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा मत माग्ने र निर्वाचन प्रचारप्रसार गर्ने गरेकोसमेत उजुरी आएमा कारबाही हुने आयोगले जनाएको छ ।

अंकमा निर्वाचन
आसन्न प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदाता छन् । जसमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला, २ सय अन्य र १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता रहेका छन् ।

आयोगले प्रत्यक्ष र समानुपातिकतर्फ कूल ४ करोड २२ लाख ५१ हजार २ सय मतपत्र छपाइ गरी मतदान केन्द्रमा ढुवानी गरिसकेको आयोगले जनाएको छ । निर्वाचन सम्पन्न गर्न आयोगले १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरेको पनि आयोगले जनाएको छ ।

अस्थायी मतदाताका लागि १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएको छ । सरकारले तीन घेरामा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेअनुसार निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् । निर्वाचन सुरक्षा प्रयोजनमा ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धानका राष्ट्रसेवक परिचालन भएका छन् । आयोगले निर्वाचन सम्पन्न गर्न २ लाख १५ हजार कर्मचारी खटाएको छ ।

यसपटकको निर्वाचनमा चार अन्तर्राष्ट्रिय र ३९ राष्ट्रिय संस्था निर्वाचन पर्यवेक्षण अनुमति दिइएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । बिहीबार हुने निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दै छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् भने प्रत्यक्षतर्फ ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी ३ हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
समाचारमा प्रयोग भएको रेखाचित्र नागरिकबाट लिइएको हो ।

The post मौन अवधि सुरुः आचारसंहिता अनुगमन कडाइ गर्न निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category