npl.977 Nepal News Stream

#Banner News

BIZMANDU logo BIZMANDU

नेपालको नव निर्माणका लागि यसरी प्रयोग गर्न सकिन्छ रेमिट्यान्स

Bhim Ghimire 23 hours ago

गत असोज महिनामा नेपालमा प्राप्त रेमिट्यान्स २०० अर्ब रुपियाँ नाघ्यो। संसारका विभिन्न मुलुकमा पुगेर काम गर्ने नेपालीले पठाएको रकममा यो रेकर्ड नै हो।  नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष सोही महिनामा मुलुकमा १४४ अरब रुपैयाँभन्दा केही बढी रकम विप्रेषण (रेमिट्यान्स) को रुपमा भित्रिएको थियो।

तीन दशकदेखि विप्रेषणले नेपाललाई थामेर राखेको छ। यसले हाम्रो मुद्रा स्थिर राखेको छ, आयातको  खर्च धानेको छ र मुलुकलाई कुनै पनि आर्थिक झट्कासँग जुध्न सक्ने बनाएको छ। तर, यसलाई कहिल्यै मुलुकको  ‘रणनीतिक पुँजी’ का रूपमा हेरिएन। विप्रेषण उपभोगको स्रोत मात्र बन्यो, राष्ट्रिय क्षमताको आधार बन्न सकेन।

विदेशमा नेपालीहरूले कठोर परिश्रम गरेर कमाएको पैसाले देशमा दीर्घकालीन शक्ति निर्माण गर्नुको सट्टा तत्कालीन सहजतालाई मात्र पोषण गर्‍यो।

यो हाम्रो राष्ट्रिय कल्पनाशक्तिको सीमितता र दीर्घकालीन रणनीतिक योजनाको विफलता हो। आफ्नो अस्तित्वका लागि लाखौं नागरिकलाई विदेश पठाएको देशले उनीहरूका लागि घरमै अवसर निर्माण गर्ने पर्याप्त बलियो प्रणाली कहिल्यै बनाएन। अब त्यो बदल्ने बेला आएको छ ।

आधुनिक आर्थिक इतिहासमा पहिलो पटक, संसारका सबै देशहरू एकै समयमा आफ्नो रणनीति फेरबदल गर्न बाध्य छन्। कृत्रिम बुद्धिमत्ता (एआइ), वेब-३ र ब्लकचेनमा आधारित वित्तीय प्रणाली र स्वच्छ नवीकरणीय उर्जा, यी सबैले विश्व शक्ति संरचनाको आधार पुनर्लेखन गरिरहेका छन्।

साना हुन्  वा ठूला, सबै राष्ट्रहरूले आगामी २० वर्षका लागि आफ्नो स्थान पुनर्मूल्यांकन गर्दै रणनीति पुनर्परिभाषित गरिरहेका छन्। कसैको रणनीति सुनिश्चित छैन। कसैको मोडेल स्थिर छैन। मैदान खुला छ। र दशकौंपछि पहिलो पटक, ठूलो  आकार नभएका देशहरूले बुद्धिमत्ता र महत्त्वाकांक्षासहित अगाडि बढ्न सक्ने मोडको क्षण आएको छ।

नेपाल यो संक्रमणको अवस्थामा अप्रत्याशित शक्तिसहित प्रवेश गरिरहेको छ – विप्रेषणले निर्माण गरेको विशाल विदेशी मुद्रा भण्डार। हरेक वर्ष १२ अर्ब डलरभन्दा बढी विप्रेषण प्रवाह र करिब २० अर्ब डलर बराबरको सञ्चित विदेशी मुद्रा भण्डार। तुलनात्मक रुपले  सानो अर्थतन्त्र र आयातमा निर्भर मुलुकका लागि यो एउटा दुर्लभ अवस्था हो। यो सम्पूर्ण अवस्था विदेशिएका नेपाली पुरुष तथा महिलाले कडा मेहनत र कठिन परिस्थितिमा, परिवारबाट टाढा रहेर कमाएको पैसाले गर्दा सम्भव भएको हो।

अब संसारभरि रहेका  नेपालीलाई राष्ट्रको नव निर्माणमा जोड्नु पर्छ।

यसका लागि अहिलेसम्म कायम  उपभोग केन्द्रित मोडेलबाट बाहिर निस्किनुपर्छ। नेपालले आफ्नो तरल पुँजीलाई प्रयोग गरेर विश्वस्तरीय प्रभावको नयाँ संरचनामा स्थान सुनिश्चित गर्न आवश्यक छ। जसको आधार कम्प्युट शक्ति, डिजिटल वित्तीय पूर्वाधार, र डेटा सेन्टर तथा निर्णय इन्जिनहरू चलाउन आवश्यक स्वच्छ, स्थिर र हरित ऊर्जा हो।
आजको विश्व यी तीन शक्तिका वरिपरि पुनर्संरचना भइरहेको छ।

एआइ उत्पादकताको नयाँ इन्जिन बनेको छ।

  • ब्लकचेन आधारित प्रणाली : भुक्तानी, धितो, र वित्तीय जडानको रूपान्तरण गरिरहेका छन्।
  • स्वच्छ ऊर्जा : कुन देशले डेटा सेन्टर, मोडेल प्रशिक्षण प्रणाली र उच्च घनत्व डिजिटल पूर्वाधार धान्न सक्छ भन्ने कुराको निर्धारक कारक बन्दै गएको छ।

नेपालसँग सहभागी हुन आवश्यक सबै तत्वहरू छन् :

  • विश्वभर दक्षता हासिल गरेको युवा जनशक्ति
  • स्वच्छ ऊर्जामा आधारित कम्प्युट संरचना सम्भव बनाउने जलविद्युत् क्षमताहरू
  • र, उद्देश्यसहित बाहिरतर्फ लगानी सुरु गर्न पर्याप्त ठूलो तरलता भण्डार

अब नेपालले यो नयाँ व्यवस्थामा  ‘दर्शक’ भएर होइन, ‘विश्वसनीय साझेदार’ भएर प्रवेश गर्नुपर्छ। नवीकरणीय उर्जा प्लाटफर्म, एआइ  पूर्वाधार, वा भविष्यका वित्तीय प्रणालीहरूमा सह-लगानीकर्ताको रूपमा उभिन सकेपछि देशले दृश्यता पाउँछ, पहुँच पाउँछ, प्रभाव पाउँछ। त्यसले बाहिरको अवसरलाई भित्र तान्ने सामर्थ्य दिन्छ—नेपालका जलविद्युत् शक्तिले चलेका डेटा सेन्टर, नेपाली जनशक्तिबाट सञ्चालित इन्जिनियरिङ हब, र नेपाली संस्थाद्वारा आड दिइएको  विश्वस्तरीय वित्तीय पूर्वाधार।

हामीले अब नयाँ विश्वमा आफ्नो ‘पोजिसनिङ’ बारे रणनीतिक रूपमा सोच्नुपर्छ। परम्परागत विदेशी मुद्रा व्यवस्थापनले पूँजीलाई निष्क्रिय र अलग्गै राख्छ। तर कम्प्युट युगले रणनीतिक उपस्थितिको माग गर्छ। हाम्रो विप्रेषण–आधारित तरलतामा निकै सानो हिस्सा मात्रै प्रयोग गरेर पनि दीर्घकालीन राष्ट्रिय हितअनुसारका विश्वव्यापी लगानीमा प्रवेश गर्न सकिन्छ।

यसले केवल आर्थिक प्रतिफल मात्र दिँदैन, यसले  पहुँच दिन्छ। प्रविधि, ऊर्जा, र वित्तको भविष्यबारे निर्णय हुने कक्षहरूसम्म नेपाललाई स्थान दिन्छ।

यो दृष्टिकोणका लागि नयाँ सोच आवश्यक छ. हामीले यसलाई खुल्ला रुपमा  स्वीकार गर्नुपर्छ। यसले परम्परागत आर्थिक सिद्धान्त वा जोखिम परिचालन मोडेलहरूमा सहजै फिट नहुन सक्छ। तर यही नयाँ युग हो। नेपाल जस्तो मुलुकका लागि पुराना नियमहरूमा आधारित कुनै स्थापित प्लेबुक अस्तित्वमै छैन। भोलिको सम्भावनालाई हिजोका औजारहरूले मूल्यांकन गर्नु भनेको परिवर्तनलाई अस्विकार गर्नु  हो।

गत  पचास वर्षका उपकरणहरूले हामीलाई कम्प्युट–युगको अर्थतन्त्रका लागि तयार पार्दैनन्। त्यसैले पुराना सिद्धान्तको फ्रेममा नयाँ रणनीतिहरूलाई बन्दी बनाउने प्रवृत्तिबाट हामी  टाढा रहनुपर्छ।

नेपालको अवसर केवल वित्तीय होइन, संरचनात्मक पनि हो। अब हामीले ‘डिफेन्स’ होइन, ‘अफेन्स’ खेल्ने बेला आएको छ। नेपालले निर्णयहीनतामा धेरै दशक गुमायो। जहाँ सम्भावनाहरू रोकिए, जहाँ नीति प्रतिक्रियात्मक बन्यो, जहाँ युवाहरूले देशमा बाटो नदेखेर विदेशको विमान चढ्न बाध्य भए। हामीले यस्तो गल्ती दोहोर्याउन मिल्दैन। अब सही मोडेलको प्रतीक्षा गर्नु नै सबैभन्दा महँगो ढिलाइ हुनेछ र, यो ढिलाइ अब नेपालले धान्न सक्दैन।

हाम्रो पुस्ताले अब एकपटक मात्र  अवसर पाएको छ। विप्रेषण तरलतालाई रणनीतिक उपस्थितिमा रूपान्तरण गर्ने, र त्यस उपस्थितिलाई दीर्घकालीन समृद्धिमा बदल्ने अवसर। विश्वले आफ्नो आधारहरू पुनर्निर्माण गरिरहेको छ र नेपाल पहिलो पटक यस पुनर्निर्माणमा सहभागी हुन सक्षम भएको छ। हामीले यो अवसर आफ्ना श्रमिकहरूको त्याग, आफ्ना बालबालिकाको भविष्य, र धेरै समयदेखि निर्णायक नेतृत्वको प्रतीक्षा गरिरहेको राष्ट्रको नाममा उपयोग गर्नुपर्छ।

यो नै नेपालको क्षण हो र यसलाई दृढ इच्छाशक्तिसहित उपयोग गर्नु पर्छ।

(वित्त र पुँजी बजारमा गहिरो अनुभव सँगालेका रिजाल न्युयोर्कमा मुख्यालय रहेको एक अन्तर्राष्ट्रिय बैंकका कार्यकारी हुन्। विराटनगरमा जन्मिएका उनले अन्तर्राष्ट्रिय वित्त र नीति विश्लेषणको क्षेत्रमा काम गर्दै आएका छन्। यहाँ व्यक्त विचार उनका निजी हुन्।)

The post नेपालको नव निर्माणका लागि यसरी प्रयोग गर्न सकिन्छ रेमिट्यान्स appeared first on BIZMANDU.

Explore by Source or Category