PalikaNews
प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ : विद्यार्थीमार्फत समुदायसम्म सकारात्मक सन्देश
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालनमा रहेको ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको पाइएको छ । सरोकारवालाले आइतबार गरेको अनुगमनका क्रममा विद्यालय तथा विद्यार्थीहरूको व्यवहारमा फोहोर व्यवस्थापन र वातावरण संरक्षणप्रति उल्लेखनीय सुधार देखिएको बताएका छन् ।
अनुगमनका क्रममा विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ अर्थात् ‘थ्री आर’ अभ्यास प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको, प्लास्टिक प्रयोग न्यूनीकरणतर्फ सचेतना बढेको तथा फोहोरको उचित वर्गीकरण गर्ने बानी विकास भएको पाइएको जनाइएको छ । विद्यार्थीहरूमा वातावरणमैत्री व्यवहार र दिगो जीवनशैलीप्रति सकारात्मक सोच अभिवृद्धि भएको अनुगमन टोलीको निष्कर्ष छ ।
सात विद्यालयमा अनुगमन
कार्यक्रम सञ्चालन भइरहेका श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा माविमा अनुगमन गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विद्यालयस्तरबाटै दिगो वातावरणीय अभ्यासको सुरुआत हुनु सकारात्मक कदम भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताए । शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय मात्र होइन, समुदायसम्म पनि सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।
सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
व्यवहारमै परिवर्तन
कार्यक्रमअन्तर्गत विद्यार्थीलाई फोहोरको प्रकार र व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञान, फोहोर वर्गीकरण, ‘थ्री आर’ विधिको प्रयोग, फोहोरबाट कम्पोष्ट मल उत्पादन, फोहोर जलाउँदा हुने वातावरणीय तथा स्वास्थ्य असर, विद्युतीय फोहोर व्यवस्थापन तथा फोहोर र जलवायु परिवर्तनबीचको सम्बन्धका विषयमा कक्षा सञ्चालन गरिएको छ ।
यसका कारण विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ । विद्यालयमा ‘शून्य फोहोर’ अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहको समग्र वातावरण व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।
साझेदारीमा सञ्चालन
द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ‘ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना’अन्तर्गत यो कार्यक्रम सञ्चालन भइरहेको हो ।
अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायतको सहभागिता रहेको थियो ।