लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीसहित तीन जना पक्राउ
लागूऔषध मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीरकोट नगरपालिका–२ का ३२ वर्षीय मुकर खान भनिने सजित अलि मिया र गोरखा नगरपालिका–४ स्थायी ठेगाना भई हाल भीरकोट–१ बस्दै आएका २४ वर्षीय पेप्पे भनिने प्रविन अधिकारी रहेका छन् ।
वडा प्रहरी कार्यालय, बैदाम कास्कीमा लागूऔषध सम्बन्धी कसूरमा मुद्दा दर्ता भएका दुई प्रतिवादीलाई बुधबार दिउँसो भीरकोट–१ बयरघारी बजारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए ।
यसैबीच, प्रहरीले जेन–जेड आन्दोलनको क्रममा गत भदौ २४ गते कास्की कारागार कार्यालय, पोखराबाट फरार भएका एक कैदीलाई पनि पक्राउ गरेको छ । हाडनाता जबरजस्ती करणी मुद्दामा कारागार चलान भएका भीरकोट नगरपालिका–११ का ४० वर्षीय हिराबहादुर कुँवर पक्राउ परेका हुन् ।
आन्दोलनका बेला फरार भएका कुँवरलाई बुधबार उनकै घरबाट नियन्त्रणमा लिइएको डिएसपी चौधरीले बताए । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।