npl.977 Nepal News Stream

#सूचना-प्रविधि

नेपाल न्युज logo नेपाल न्युज

इरानी हमलाको असर : बहराइन र यूएईमा अमेजनको डाटा सेन्टरमा आगलागी, सेवा अवरुद्ध

नेपालन्युज 18 hours ago

काठमाडौँ। मध्यपूर्वमा बढ्दो सैन्य तनावका बीच विश्वकै ठूलो प्रविधि कम्पनी अमेजनको क्लाउडमा गम्भीर समस्या देखिएको छ।

इरानले गरेका जवाफी मिसाइल तथा ड्रोन आक्रमणका कारण बहराइन र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका अमेजनका डाटा सेन्टरहरूमा विद्युत् र कनेक्टिभिटीको समस्या उत्पन्न भएको हो।

अमेजन वेब सर्भिसेज ले आफ्नो ‘स्टाटस पेज’ मार्फत दिएको जानकारीअनुसार यूएईका दुईवटा जोनमा विद्युत् आपूर्ति ठप्प भएको छ। कम्पनीले एक विशेष विवरण सार्वजनिक गर्दै यूएईको एउटा डाटा सेन्टरमा ‘अज्ञात वस्तु’ हरू आएर ठोक्किएको र त्यसलगत्तै आगलागी भएको पुष्टि गरेको छ।

अमेजनले भनेको छ‚ “यूएईको एउटा एभेलेबिलिटी जोनमा अज्ञात वस्तुहरू डाटा सेन्टरमा ठोक्किँदा झिल्का निस्किएको र आगलागी भएको थियो। सुरक्षाका कारण उक्त क्षेत्रको विद्युत् आपूर्ति र जेनेरेटरहरू तत्काल बन्द गरिएको छ।”

यस अवरोधका कारण खाडी क्षेत्रका धेरै व्यवसाय र अनलाइन सेवाहरू प्रभावित भएका छन्। अमेजनले आफ्ना ग्राहकलाई हालका लागि अन्य क्षेत्रका सर्भरहरू प्रयोग गर्न आग्रह गरेको छ। आगो नियन्त्रणमा आए पनि प्रणालीलाई पुनः पूर्ण रूपमा नियमित हुन अझै केही घण्टा लाग्न सक्ने कम्पनीले जनाएको छ।

इरानले अमेरिका र इजरायली सैन्य निशानाहरूलाई लक्षित गरी प्रहार गरेका हतियार वा तिनका भग्नावशेषहरू डाटा सेन्टरमा खसेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि अमेजनले यो हमला इरानी आक्रमण नै थियो वा थिएन भन्नेबारे आधिकारिक रूपमा केही खुलाएको छैन।

यसअघि इरानको आक्रमणका कारण दुबई र अबुधाबीका विमानस्थलहरूसमेत प्रभावित भएका थिए। यो घटनाले युद्धको प्रत्यक्ष असर अब विश्वव्यापी इन्टरनेट पूर्वाधार र डिजिटल अर्थतन्त्रमा समेत पर्न थालेको संकेत गरेको छ।

Explore by Source or Category