npl.977 Nepal News Stream

#संस्कृति / सम्पदा

Contents
Kendrabindu logo Kendrabindu

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

इन्द्र कमल रोक्का 50 minutes ago

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको बताएकी छन्।

“आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, “प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।”

Kendrabindu logo Kendrabindu

थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ-गाउँमा मघौटा नृत्यको रौनक सुरु

इन्द्र कमल रोक्का 3 hours ago

कञ्चनपुर। थारु समुदायको सबैभन्दा ठूलो पर्व माघी आएसँगै गाउँ–गाउँमा मघौटा नृत्यको रौनक सुरु भएको छ । मादलको तालमा मघौटा नृत्य र गीतले गाउँ गुञ्जयमान भएका छन् । मघौटामा गुञ्जिनुपर्ने दिदी–बहिनीका वीरह पोखिएका गीत भने विस्तारै हराउँदै जान थालेका छन् ।

परम्परागत रूपमा गाउँको नेतृत्व छनोट, विकास निर्माण र सामाजिक न्यायका विषय टुङ्ग्याउन आयोजना गरिने देवानी बैठक सकिएपछि गाउँका घरमूली, युवा–युवती र बूढापाका एकै ठाउँमा भेला भई मघौटा नृत्य आयोजना गर्ने चलन छ । मघौटा गीतमा थारु समाजको मौखिक इतिहास र दिदी बहिनीको वीरह लुकेको हुन्छ ।

“मघौटा नृत्यमा विशेष गरी विवाहित दिदी–बहिनीका वीरह गीत लाई मौलिक तरिकाले प्रस्तुत गर्ने गरिन्थ्यो”, शुक्लाफाँटा नगरपालिका १० झलारीका थारु गीत तथा साहित्यका जानकार कालुराम डगौराले भने, “पहिलो प्राथमिकतामा ती वीरहका गीतहरुनै हुन्थ्ये, माघीमा गाइने यी गीतमा माइती जान नपाएको पीडा, दाजुभाइको प्रतीक्षा र बुबाको आश मिसिएको हुन्थ्यो ।”

उनी भन्छन्, “मघौटा गीत थारु महिलाको मनको भाषा हो, माइतीप्रतिको माया, पीडा र प्रतीक्षा गीत बनेर छचल्किन्छ तर हाल माया प्रेमका गीतहरुलाई बढी प्राथमिकता दिइँदा पुराना वीरही गीतहरु हराउँदै गएका छन ।” थारु समुदायका बूढापाकाहरुका अनुसार, माघीका बेला माईती जान व्यग्रप्रतिक्षामा रहेका दिदीबहिनीहरु माइतीबाट बोलाउने सन्देश नआएपछिको कुरा मघौटाको गीतमा मार्मिक ढंगले यसरी प्रस्तुत गर्ने गरिन्थ्यो ।

“वितनै महिना पाखा, वितनै वर्ष दिन,
तब्बु नाही आबै नहि रे सन्देश सखिये हो ।”
(कति महिना, कति वर्ष बिते, तर न कोही लिन आयो, न त कुनै सन्देश नै आयो)

मघौटा गीतसँग जोडिएको सगरा पोखरीको कथा थारु संस्कृतिको भावनात्मक पक्ष हो । माघीको बिहान छोरी माइतीको पोखरीमा नुहाउन जाँदा पानीघाटमा खसेको सिन्दुर देखेपछि माइतीले छोरी आएको थाहा पाउने र माघीको निम्ता दिने कुरालाई पनि गीतका माध्यमबाट व्यक्त गरिन्छ ।

“बाबाके सगरा गैनु मुरिया लहाइ रे हाँ,
सिन्दुरा छुटल पानी घाट सखिये हो ।”

कति बेला उज्यालो होला, माइती लिन आउलान भनेर बाटो हेरिरहेकी छोरीको आँखाको पीडा अर्को गीतमा यसरी छल्किन्छ ।

“वतिया हेरटी मोर नैना पिरानी रे हो,
तब्बु नाही आबै दादु मोरे लेहे सखिये हो ।”

छिमेकीका दिदी–बहिनीलाई दाजुभाइ लिन आएपछि आफूलाई दाजुभाइ लिन नआएको, एक्लै रहेको पीडालाई गीत मार्फत यसरी व्यक्त गरिन्छ ।

“परोसी घरके सखिये के दादु ले हे आवै रे हाँ,
चल जैही सखिया विचारी, रैजैम अकेली सखिये हो ।”

यी गीतहरू मनोरञ्जनभन्दा बढी विवाहित महिलाको सामाजिक अवस्था, एक्लोपन र माइतीप्रतिको आशको सामूहिक अभिव्यक्ति रहेको थारु संस्कृतिका जानकार गहनु चौधरी बताउछन् ।

पछिल्लो समय मघौटा नृत्यमा माया–पिरती र प्रेमप्रधान आधुनिक गीतहरूको प्रभाव बढ्दै जाँदा दिदी–बहिनीका वीरह गीतहरू क्रमशः ओझेलमा पार्दै गएकोमा उहाँले चिन्ता प्रकट गरे । “माया–पिरतीका गीत गाउनु गलत होइन”, चौधरी भन्छन्, “तर वीरहका गीत हराए भने मघौटाको आत्मा हराउँछ, ती हराउँदै गएका गीतहरुलाई जोगाउनु पनि त्यतिकै आवश्यक छ ।”

आधुनिक सङ्गीतको प्रभाव, युवापुस्ताको रुचिमा आएको परिवर्तन र मौलिक गीतको अभिलेखीकरण नहुनु यसका प्रमुख कारण रहेको उहाँले उल्लेख गरे । उनका अनुसार मघौटा नृत्य र गीत थारु समुदायको सांस्कृतिक पहिचानसँगै महिला आवाजको सशक्त माध्यम पनि हो । “माघीमा माइती आउने आश, बुबाले लठ्ठी टेकेर भए पनि छोरी लिन आउने परम्परा र सामूहिक गीत–नृत्यले मघौटालाई सामाजिक महत्वलाई बढावा दिन्छ”, उनले भने। “मघौटा गीत जोगाउन पुस्तान्तरण, अभिलेखीकरण र स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको छ ।”

 विद्यालयस्तरमा थारु गीत–नृत्य समावेश गर्ने, सांस्कृतिक महोत्सव आयोजना गर्ने र मघौटा गीतको लिखित तथा अडियो, भिडियो अभिलेख तयार गर्नु अपरिहार्य रहेको उहाँको भनाइ रहेको छ । “माघीमा गुञ्जिने मघौटा नृत्य र दिदी–बहिनीका वीरह गीत थारु समुदायको गौरव हुन”, अर्का थारु संस्कृतिका जानकार रामप्रसाद चौधरी भन्छन् “यी गीत जोगिए मात्र थारु समाजको मौखिक इतिहास, महिला अनुभूति र सांस्कृतिक पहिचान सुरक्षित रहन सक्छ ।”  
Kendrabindu logo Kendrabindu

हाम्रा चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछन्ः सभामुख घिमिरे

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौँ। सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रकि मूल्य र सहअस्तत्विको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले भनेका छन् , “माघी, माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्तिका रूपमा मनाइने यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रूपमा, मगर समुदायले राष्ट्रिय पर्वका रूपमा, नेवार समुदायले ‘घ्यूचाकु सँल्हु’का रूपमा तथा तराई–मधेसका विभिन्न समुदायले ‘नहान’ पर्वका रूपमा आ–आफ्नै मौलिक परम्परासहित मनाउँदै आएका छन्, यी विविध परम्पराहरूले हाम्रो साझा राष्ट्रिय पहिचानलाई झल्काउने गरेका छन् ।”

जाडोलाई बिदाइ गर्दै न्यानोपन, आशा र नयाँ ऊर्जाको सन्देश बोकेको माघे सङ्क्रान्ति पर्व नेपाली समाजमा आस्था, परम्परा र सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा स्थापित छ । सूर्य उत्तरायणतर्फ प्रवेश गर्ने यस दिनले प्रकृतिको चक्रसँग मानव जीवनको सम्बन्धलाई स्मरण गराउने गरेको छ । माघे सङ्क्रान्तिमा पवित्र नदी, त्रिवेणी तथा तीर्थस्थलमा स्नान, पूजा–अर्चना, दान–पुण्य गर्ने, घीउ, चाकु, तिल, तरुल, खिचडीलगायत पोषिलो परिकार सेवन गर्ने परम्परा रहेको छ । यस्ता संस्कार र परम्पराहरूले नेपाली समाजलाई प्रकृति मैत्री र मानवीय मूल्यमा आधारित बनाउन योगदान पु¥याएका उनको भनाइ छ ।

सभामुख घिमिरेले भनेका छन्, “माघे सङ्क्रान्ति तथा माघी पर्वले सबै नेपालीमा सकारात्मक सोच, सामाजिक उत्तरदायित्व र समृद्धिको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

Kendrabindu logo Kendrabindu

उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

इन्द्र कमल रोक्का 4 hours ago

काठमाडौँ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । 

बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने आयुर्वेद चिकित्सकको भनाइ छ ।

तरुल पुसको अन्तिम दिनमा पकाएर राखी माघमा खाने प्रचलनसमेत विभिन्न ठाउँमा छ । यसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रुपमा समेत प्रयोग गरिन्छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु शय्यामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको बताइन्छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।

माघ महिनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यो व्रत गर्नेले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्छन् । यसैले यसलाई माघस्नान पनि भनिन्छ ।

माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउने भएको छ । माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने भएकाले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो ।

Explore by Source or Category