npl.977 Nepal News Stream

#विचार

Contents
News of Nepal logo News of Nepal

आधुनिकताको नाममा लोप हुँदै गोलघर

न्युज अफ नेपाल 20 hours ago

अमृत अर्याल

स्याङ्जा ।

पछिल्लो समय पक्की घर निर्माण हुन थालेपछि पुराना र खरले छाएका घरहरु विस्थापित हुन थालेका छन् । अहिले अधिकांश गाउँ तथा शहरमा पक्की घर बन्दै गएका छन् । केही वर्षअघिसम्म विशेष गरी शहरबजारमा पक्की आधुनिक घर बन्ने गरे पनि पछिल्ला वर्षमा गाउँ–गाउँमा पुराना घर भत्काएर नयाँ पक्की घर बनाउने क्रम बढ्दो छ । कतिपय स्थानीय तहले त घरको छानो हटाएर जस्तापाता लगाउन अभियान नै चलाएका छन् ।

बजार तथा गाउँ–गाउँमा पक्की घर बन्ने क्रम बढ्दै गएपछि पुराना र लोप हुन लागेका वस्तुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले वालिङ उद्योग वाणिज्य संघले गत माघमा भएको महोत्सवस्थलमा लोपोन्मुख घुमाउने (कुडुले) घर निर्माण गरेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । ‘पुरानो पुस्ता गोलघरका बारेमा जानकार हुनुहुन्छ, कतिपय बस्नुभएकै पनि होला’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘समयको विकास र आधुनिकतासँगै पछिल्ला पुस्ताले यस प्रकारका गोलघर देखेका छैनन्, हाम्रो परम्पराको संरक्षण र जगेर्ना गर्दै नयाँ पुस्तालाई पुरानो कला–संस्कृति तथा परम्पराका बारेमा जानकारी दिनका लागि गोलघर निर्माण गरेका हौँ ।’

बाँस, खर, काठ, माटोको प्रयोग गरेर बनाइएको उक्त गोल घर नवौँ वालिङ महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको थियो । खरले छाएका घर हराउँदै गएका बेला एकदमै पुरानो गाउँले परिवेशलाई झल्काउने उद्देश्यसहित गोलघर निर्माण गरिएको उहाँले बताउनुभयो ।

अचेल गाउँघरमा पुराना, खरले छाएका गोलो, घुमाउरो तथा कुँडुले घर विरलै देख्न पाइन्छ । गाउँ–गाउँमा पुरानो गोलघर हराएर गएकाले महोत्सवस्थलमा आउने दर्शकहरुको अवलोकनका लागि गोलघर निर्माण गरिएको वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष एवं गोलघर निर्माण उपसमितिका संयोजक केशव पराजुलीले बताउनुभयो । घरको छानो र पाली खरैखरले छाएको थियो । घरमा पुरानो जीवनशैलीलाई झल्को दिने खालका जाँतो, ढिकी, हलो, जुवा, ठेको, छानामा फर्सी, कुभिण्डोलगायतका सामग्री राखेर सजाइएको थियो ।

माटोको गारो लगाउने र खरले छाएका त्यस्ता घरमा चिसो समयमा न्यानो हुने र गर्मीको समयमा अन्य घरको तुलनामा गर्मी नहुने बूढापाकाले बताउँदै आएका छन् । महोत्सवमा निर्माण गरिएको घरको भित्तोलाई रातो र सेतो माटोले लपक्क लिपेर आकर्षक बनाइएको थियो । घरभित्र, पिँढी तथा आँगनमा गोबर माटोले लिपिएको थियो । वालिङ उद्योग वाणिज्य संघले महोत्सवलाई लक्षित गरेर निर्माण गरेको गोलघरलाई महोत्सवपछि पनि संरक्षण गरेर राखिने जनाइएको छ ।

News of Nepal logo News of Nepal

मेरी आमालाई चाडपर्व कहिल्यै नआओस्

न्युज अफ नेपाल 20 hours ago

मेरी प्राणझैँ प्यारी आमा, मेरी मुइयालाई कहिले चाडपर्व नआओस् जस्तो लाग्छ । यो केवल मेरो आमाको कथा मात्र होइन, हरेक घरकी आमाको कथा हो । घरमा चाडपर्व आएपछि सबैलाई रमाइलो, खानपिन, घुमाइफिराइको उत्साह हुन्छ । तर आमाको लागि त्यो दिन पनि कहिल्यै साँच्चै शान्ति र आरामको दिन हुँदैन । बिहानदेखि शुरु हुन्छ कामको सिलसिला– खाना पकाउने, घर सफा गर्ने, पाहुना हेर्ने अनि सबैको ख्याल राख्ने । आमा दिनभरि काममा व्यस्त हुनुहुन्छ ।
मेरी आमा भन्नुहुन्छ, ‘दुःख–सुखमा साथ दिन्छु भनेर बिहे गरी ल्याको श्रीमान्ले ! तर पनि साथ दिँदैनन्, बुझ्दैनन्, अरूको झन् के आश राख्नु ? के गर्नु छोरी ! पुरुष त भए–भए, महिला भएर पनि महिलाको पीडा बुझ्दैनन् ।’ यसरी मसँग गुनासो पोख्नुहुन्छ मेरी आमा ।

चाडपर्वमा पकाउने, खुवाउने, सरसफाइ गर्ने, के यी सबै आमाले मात्रै गर्नुपर्छ भनिएको छ र ? के उहाँलाई रमाउने, खुशी हुने र आराम गर्ने अधिकार छैन ? आफ्नै काममा व्यस्त, आमालाई सहयोग गर्ने वा काम कम गराउने सोच कमै हुन्छ । कसैले एकछिन् आराम गर, पानी पेऊ भने पनि हुन्थ्यो भन्ने चाहना राख्नुहुन्छ आमा ! कहिलेकाहीँ त यस्तो लाग्छ, परिवारभित्रकै महिलाले पनि आमाको बोझ कम गर्न सही भूमिका खेल्दैनन् ।

पाहुना घर आएपछि अलि सहज होला कि भन्ने मेरी आमाको आश पनि आशमै सीमित हुन्छ । सहज होला कि भन्दा झन् धेरै कामको भार भएको महसुस गर्नुहुन्छ । पाहुनाले यतिसम्म गर्छन् रे कि नजिकै भएको पानी लिनसमेत आमाको नाम लिई–लिई त्यो राखेको पानी दिनु त भन्छन् अरे ! मानौँ केही काम छोयो, ग¥यो भने जिन्दगीभरि हातमा नजाने दाग नै लाग्लासरि इज्जत नै जाला कि जस्तो गर्छन् रे !

पाहुनालाइ हेर्ने, खुवाउने सबै जिम्मा आमाकै मात्र हो जस्तो गर्छन् । घरका अरु सदस्यलाई केही कुराको मतलब हुँदैन– आमाले खानुभयो कि भएन, गाह्रो भयो कि ? उनीहरुलाई एउटै कुराको मात्र चिन्ता हुन्छ– काम सकियो कि सकिएन, खाना पाक्यो कि पाकेन ? पकाउनेदेखि प्लेटमा हाल्ने, खुवाउने, फेरि भाँडा माझ्ने, यसरी बित्छ आमाको चाडपर्वको दिन । त्यति धेरै हुँदा पनि कामअनुसार जश पाउनुहुन्न, उल्टो कमी–कमजोरी निकाल्न थालिन्छ– यस्तो भएछ, उस्तो भएछ, यो पुगेनछ आदि ।

खाना पनि सहजरूपमा आमाले खान पाउनुहुन्न, आफैँ खाना तयार पारे पनि सबैलाई खुवाएपछि मात्र थोरै खान पाउनुहुन्छ । आरामको कुरा त झन् छुट्टै । दिनभर काम, पाहुना, परिवार, सबै आमाको काँधमा । सुत्न समय कम, बस्न समय कम । अनि मनमा लाग्छ– कहिले मेरी आमालाई साँच्चै आराम, खानपिन र शान्ति मिल्ने हो ?

छोरा–छोरी पनि आमाको पीडा बुझ्दैनन् । आफ्नै रमाइलो र खेलकुद, पढाइ–काममा व्यस्त । घरका पुरुषहरू खाना खान, खेल्न, आराम गर्नमा व्यस्त तर आमाको थकान, भोक–प्यास, पीडा कसैले देख्दैन ।

चाडपर्वमा पनि आमाको दिन कहिल्यै पूर्ण हुँदैन । काम, पाहुना, सफाइ, खाना सबै आमाको काँधमा । उहाँ दिनभर सबैको ख्याल राख्नुहुन्छ तर आफैंलाई सोच्न वा आराम गर्न समय पाउनुहुन्न । पुरुष आराम गर्छन्, बच्चा–छोरी आफ्नै दुनियाँमा व्यस्त हुन्छन् र महिला भएकै कारण पनि कतिपयले आमाको पीडा बुझ्दैनन् ।
यो समस्या केवल घर–घरको मात्र समस्या हैन, यो अहिलेसम्म पनि रहिरहेको हाम्रो समाजको एक कालो र नमीठो अभ्यास हो, जसमा अहिले पनि महिलाले मात्रै घरको काम सम्हाल्नुपर्छ भन्ने मान्यता र बुझाइ रहेको छ, अर्को शब्दमा भन्नुपर्दा भेदभाव छ ।

मेरी आमाले एकछाक तातो समयमै खान पाइन्छ, आराम गर्न पाइन्छ भनेरै यो चाडपर्व कहिल्यै नआओस् जस्तो महसुस गर्नुहुन्छ । यसरी सधैँ आमाले मात्र बलिदान दिनुहुन्छ, पीडा भोग्नुहुन्छ, थकान सहनुहुन्छ अनि हामी सोच्छौँ– कहिले आमालाई साँचो आराम, साँचो माया र सम्मान मिल्ने हो ? कहिले उहाँले चाडपर्वमा साँचो खुशी अनुभव गर्ने हो ?

मेरो चाहना छ– मेरी आमा अनि हरेक आमाले चाडपर्वमा पनि शान्ति, माया र आराम पाऊन् । उनीहरूले खाना, पानी र विश्राम स्वतन्त्र रूपमा पाऊन् । अरु भनेको यस्तै हो, कमसेकम महिलाले महिलाको पीडा बुझिदिऊन् । घरको काम, जिम्मेवारी, पाहुना, सबै आमाको काँधमा नपरोस् । हामी छोराछोरी, श्रीमान् र घरका सदस्यहरूले बुझौं– आमाको बलिदान केवल काम होइन, परिवारको आधार हो । कसैले आमालाई दुःख दिन नपरोस् । उहाँको बलिदानको मूल्य सबैले बुझून् । अब हाम्रो प्रयास भनेको आमाहरुले कहिल्यै चाडपर्वमा थकान, पीडा, बोझिलो महसुस नगरून् भनेर सोहीअनुसार कार्य गर्ने हो ।

News of Nepal logo News of Nepal

होली : आपसी सम्बन्ध सुदृढ गर्ने रङ्गीन पर्व

न्युज अफ नेपाल 21 hours ago

नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । यहाँ मनाइने प्रत्येक चाडपर्वले समाजको आत्मा, इतिहास र जीवनशैली बोकेको हुन्छ । त्यही सांस्कृतिक वैभवमध्ये एक हो होली । जबकि पहाडमा पूर्णिमाका दिन र तराई तथा मधेसमा पूर्णिमाको भोलिपल्ट होलीका रूपमा धूमधामसँग मनाइने यो चाड रङ्ग, उमंग, मेलमिलाप र सामाजिक सद्भावको प्रतीक हो । पछिल्ला वर्षहरूमा कतिपयले होलीलाई विकृतिको चाडका रूपमा चित्रित गर्ने प्रयास गरे पनि यसको मूल आत्मा रमाइलोपन, सहिष्णुता र सामूहिक उत्सवमा आधारित छ । त्यसैले होलीलाई विकृति होइन, रमाइलो र सकारात्मक चाडका रूपमा बुझ्नु जरुरी छ । फलतः फागू भनेको फाल्गुण शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ्ग छ्यापेर तथा अबिर दलेर नाच्ने, गाउने गरी एक–अर्कोमा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागू अर्थात् होली नामबाट चिनिन्छ । यस पर्वलाई फागू वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडहरुमध्ये यो पर्व एउटा रमाइलो चाड हो । यो पर्व होलिका नामकी राक्षसनीलाई मारेको खुशीमा मनाइने पर्व भएकोले होली या फागू भनिएको हो भन्ने किंवदन्ती छ ।

यसरी होलिका मरेको उपलक्ष्यमा सबैले खुशीयाली मनाउन होली खेल्ने चलन शुरु भएको कुरा भविष्य पुराणमा पनि उल्लेख छ । यसर्थ वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ्ग नलगाएर आफू–आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । नेपाली समाजमा फागू पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष आज १८ गते सोमबार परेको छ तर फागू खेल्न भने एक साताअघि अर्थात् फाल्गुण शुक्ल अष्टमीदेखी शुरु हुने गर्दछ । फागू पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भाव मैत्री एवं भाइचारा जगाउने गर्दछ । उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागू उत्सवको उष्कर्ष फागू पूर्णिमा नै हो । सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृतिप्रेमीको यो सिंगो चाड तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । यसमा खासगरीकन मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भूभाग र काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा समेत होली उत्सवले चिनिने फागू पर्वलाई चिरदाहको रुपमा पनि लिइन्छ । यसमा धार्मिक शास्त्रअनुरुप असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रुपमा लिइने यस पर्वलाई मैथिली भाषामा संमत जलाउने पनि भनिन्छ । विशेष गरी युवापुस्ताको लागि रङ्गीन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
हाम्रो नेपाली समाजमा फागू पर्व एउटा विशेष महत्व बोकेको चाड पनि हो । हरेक वसन्त ऋतुुको आगमनको पूर्वसन्ध्यामा वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ्ग, लोला आदि प्रयोग नगरी आफ्ना दौंतरीबीच रमाइलो गर्ने आनन्ददायक पर्व हो । यस पर्वमा भगवानको भजन–कीर्तनका साथसाथै नाचगान गरी विभिन्न किसिमका रङ्गहरुले एक–आपसमा अबिर दल्दै, आमोदप्रमोद गर्दै हाँसखेल–ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ । यस पर्वलाई अनुशासित रुपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदबन्दी छैन । त्यस्तै गरी राजादेखि रङ्कसम्म सबैले आपसमा मिलेर बडो उल्लासमय वातावरणमा रम्ने गर्दछन् । यसमा खास गरी युवायुवतीहरु बडो जाँगरका साथ यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन् ।
फागू पूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने, विभिन्न धार्मिक कथाहरु भेटिन्छन्, जसको कारणले होली पर्व चलेको छ । यसमा पनि भन्ने नै हो भने प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रह्लाद नाम गरेका छोरा थिए । बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रह्लाद भने बडो विष्णुभक्त थिए । उनका बाबुले छोरालाई विभिन्न कोशिश गरेर आफ्नो बाटो अँगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रह्लादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलिका उल्टै भष्म भइन् भने प्रह्लादलाई आगोले केही गर्न सकेन । सोही खुशीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती छ ।

हरेक वर्ष काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएर होलीको औपचारिक शुरुवात गरिन्छ । चीर दहनसँगै असत्यको अन्त्य र नयाँ आशाको प्रारम्भको संकेत गरिन्छ । जुन तराई मधेसका जिल्लाहरू जनकपुर, वीरगन्ज, विराटनगर आदिमा अत्यन्त उत्साहका साथ मनाइन्छ । यहाँ सांगीतिक कार्यक्रम, नाचगान, सामूहिक भोज र सांस्कृतिक झाँकीले उत्सवलाई अझ जीवन्त बनाउँछ । तसर्थ होलीको मुख्य विशेषता भनेको सामाजिक दूरी घटाउनु हो । जसरी वर्षभरि विभिन्न काम, व्यस्तता र औपचारिक सम्बन्धमा बाँधिएका मानिसहरू यस दिन खुलेर भेटघाट गर्छन् । यसमा रिस, ईष्र्या र मनमुटाव बिर्सेर एक–अर्कालाई रङ्ग लगाइन्छ । यसले हाम्रो भावनालाई सुदृढ बनाउँछ । तदनुरुप नेपालजस्तो विविधतायुक्त समाजमा यस्तो चाडले अन्तरजातीय, अन्तरधार्मिक र अन्तरसांस्कृतिक सम्बन्धलाई मजबुत बनाउने काम गर्छ । वास्तवमा होलीले भेदभावभन्दा माथि उठेर समानता र एकताको सन्देश दिन्छ ।

फागू पूर्णिमाको एक हप्ताअगाडिदेखि नै आफ्नो कार्यालय, स्कूल, क्याम्पसमा होली शुरु गर्ने गरेको पाइन्छ । बाटो हिँड्ने व्यक्तिहरुलाई समेत जथाभावी रङ्गाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन् । यस्तै किसिमका सामान्य घटनाहरुले उग्र रुप लिई जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । यसमा पनि रङ्ग उत्सवको खुशीयालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्णरुपमा मनाउनु मूर्खता हो । फलतः सञ्चारमाध्यमको भनाइअनुसार विभिन्न किसिमका रसायन मिसाइएको रङ्ग, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्नेजस्ता निन्दित एवं घृणित कार्य पनि हुने गरेको पाइन्छ । साथै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भाङ, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रङ्गहरुका पुरिया राखी मोटरसाइकलमा चढी सार्वजनिक स्थलहरुमा पुग्ने पनि गरेका हुन्छन् । तसर्थ देशका शहरका युवकहरु र विदेशी पर्यटकलाई समेत रङ्गहरुले विरुप पारिदिन्छन् । जुन होलीको नाममा यस्ता किसिमका उच्छृङ्खल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको खस्किँदो अवस्था दिन–प्रतिदिन बढ्दै गएको छ । विडम्बना, हाम्रा यस्ता महान् पर्वहरु हिजोआज फेसन र मनोरञ्जनमा परिणत हुँदै छन् ।

प्राचीनकालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागू वा होली पनि एउटा विशेष महत्वको चाड हो । वस्तुतः फाल्गुण शुक्ल अष्टमीका दिन चीर गाडी, अबिर छरेर पूजा गरी शुरु गरिने यो चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक–आपसमा अबिर दलादल गर्ने र मीठा–मीठा पक्वान्नहरु खाने चलन छ । परन्तु वर्षमा एकचोटि आउंने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ्ग नलगाई आफू–आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल, भारत लगायत अन्य केही मुलुकमा रमाइलो गरी मनाउने गरेका छन् ।

केही वर्षअघिसम्म विश्वको एकमात्र हिन्दू राष्ट्र रहेको नेपालको आफ्नै संस्कृति र भेषभूषा रहेको छ । हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि कुनै न कुनै पर्व परिरहन्छ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिकरुपले निरोगी हुनु हो । जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि शुरु भयो, सो अनुरुप हाल व्यवहारमा देखा पर्न सकिरहेको छैन । पर्व मनाउने क्रममा खास गरी हाम्रो मुलुकमा विदेशी तडकभडक र छाडा संस्कृति भित्र्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्व मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ । यस्ता किसिमका गलत प्रवृत्तिलाई हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कदम चाल्नुपर्दछ । यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ । नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको धार्मिक तथा सांस्कृतिक संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न ।

अन्त्यमा, होली नेपालको बहुरङ्गी सांस्कृतिक धरोहर हो । यसको मूल आत्मा प्रेम, सहिष्णुता, एकता र उत्सवमा आधारित छ । केही सीमित विकृतिलाई आधार बनाएर सम्पूर्ण चाडलाई दोषी ठहर गर्नु उचित हुँदैन । बरु सकारात्मक पक्षलाई प्रवद्र्धन गर्दै मर्यादित र सुरक्षित रूपमा मनाउने अभ्यास सुदृढ गर्नुपर्छ ।

रङ्गको माध्यमबाट मनका मैलाहरू पखाल्ने, सम्बन्ध सुदृढ गर्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने चाडका रूपमा होलीलाई स्वीकार गरौँ । मूलतः विकृति होइन, होली रमाइलो, जीवन्त र समाजलाई जोड्ने महान् सांस्कृतिक उत्सव हो । यसले हाम्रो जीवनमा रङ्ग भर्ने काम गर्छ । केही उच्छृङ्खल तत्वहरूले गर्ने व्यवहारलाई चाडको दोष मान्नु हुँदैन ।

रङ्गको माध्यमबाट मनका मैलाहरू पखाल्ने, सम्बन्ध सुदृढ गर्ने र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने चाडका रूपमा होलीलाई स्वीकार गरौँ । मूलतः विकृति होइन, होली रमाइलो, जीवन्त र समाजलाई जोड्ने महान् सांस्कृतिक उत्सव हो । यसले हाम्रो जीवनमा रङ्ग भर्ने काम गर्छ । केही उच्छृङ्खल तत्वहरूले गर्ने व्यवहारलाई चाडको दोष मान्नु हुँदैन । बरु हामी शिक्षित युवा र नागरिकहरूले यसलाई सभ्य ढंगले मनाएर उदाहरण पेस गर्नुपर्छ । अतः देशको सांस्कृतिक र सामाजिक परिवेशमा होली (फागू पूर्णिमा) को विशेष महत्व छ । यो केवल एउटा पर्व मात्र नभई नेपाली समाजको एकता, सद्भाव र उमंगको प्रतीक पनि हो । स्मरण रहोस्, पछिल्लो समयमा होलीमा केही उच्छृङ्खल गतिविधिहरू देखिएका कारण यसलाई विकृति भन्ने गरिएको भए तापनि, वास्तविकतामा यो एउटा अत्यन्तै सुन्दर र रमाइलो चाड हो ।

Explore by Source or Category