News of Nepal
विज्ञान, स्वास्थ्य र संस्कृतिको संगम माघे सङ्क्रान्ति
नेपाली समाज बहुआयामिक संस्कार, परम्परा र धार्मिक चेतनाले समृद्ध समाज हो । ती संस्कारहरूमध्ये माघे सङ्क्रान्ति एउटा यस्तो पर्व हो, जसले धर्म, संस्कृति, प्रकृति, स्वास्थ्य र सामाजिक जीवनलाई एउटै सूत्रमा बाँध्छ । प्रत्येक वर्ष माघ महिनाको १ गते (प्रायः जनवरी १४ वा १५) माघे सङ्क्रान्ति केवल एक पर्व मात्र नभई सूर्यको गति परिवर्तनसँग जोडिएको जीवनदर्शन हो । सूर्यलाई जीवनको स्रोत, ऊर्जा, प्रकाश र चेतनाको प्रतीक मानिन्छ ।
यस दिन सूर्य मकर राशिमा प्रवेश गर्छन् र उत्तरायणको आरम्भ हुन्छ । दक्षिणायनलाई अन्धकार, जडता र निष्क्रियताको समय मानिन्छ भने उत्तरायणलाई प्रकाश, चेतना र सक्रियताको समय मानिन्छ । यही कारणले माघे सङ्क्रान्तिदेखि शुभ कार्य, धार्मिक अनुष्ठान, विवाह, व्रतबन्ध, गृहप्रवेशजस्ता संस्कार आरम्भ गर्ने परम्परा रहेको छ । हिन्दू धार्मिक मान्यताअनुसार माघे सङ्क्रान्ति पाप क्षय र पुण्य प्राप्तिको विशेष दिन हो । यस दिन गंगा, यमुना, कालीगण्डकी, कोशीजस्ता पवित्र नदी तथा तीर्थस्थलमा स्नान गर्दा आत्मशुद्धि हुने विश्वास गरिन्छ । स्नानपछि तील, चामल, अन्न, वस्त्र, घिउजस्ता वस्तुहरूको दान गर्नु अत्यन्त पुण्यदायी मानिन्छ । दान, स्नान र ध्यान माघे सङ्क्रान्तिका प्रमुख धार्मिक कर्म हुन् ।
शास्त्रमा भनिएको छ– माघे स्नानं महापुण्यं सर्वपाप प्रणाशनम् । यसले माघे सङ्क्रान्तिको धार्मिक गहिराइ स्पष्ट पार्छ । स्नानपछि गरिने तील, अन्न, वस्त्र, घिउ, चामल, पैसा आदिको दानले पुण्य प्राप्त हुने विश्वास हिन्दू धर्ममा रहेको छ । साथै, माघे सङ्क्रान्तिको धार्मिक महत्व महाभारतसँग पनि गहिरोरूपमा जोडिएको छ । भीष्म पितामह इच्छामृत्युको वरदान प्राप्त व्यक्ति थिए । उनी शरशय्यामा पल्टिएर उत्तरायणको प्रतीक्षा गर्दै बसेका थिए । सूर्य उत्तरायण प्रवेश गरेकै दिन उनले देहत्याग गरे । यस घटनाले माघे सङ्क्रान्तिलाई मोक्ष प्राप्तिको प्रतीक बनाएको छ । त्यसैले यस दिनलाई मृत्यु मात्र होइन, आत्मा मुक्तिको दिनका रूपमा पनि हेरिन्छ ।
माघे सङ्क्रान्ति केवल धार्मिक पर्व मात्र नभई वैज्ञानिक र आयुर्वेदिक दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छ । माघ महिनामा चिसो अत्यधिक हुने भएकाले शरीर कमजोर हुने सम्भावना बढी हुन्छ । त्यसैले तील, घिउ, चाकु, सक्खर, तरुल, सख्खरखण्ड, खिचडीजस्ता तातो र ऊर्जा दिने परिकार खाने चलन विकास भएको हो । आयुर्वेदअनुसार तीलले शरीरलाई तातो राख्छ, पाचन शक्ति बढाउँछ र हड्डी बलियो बनाउँछ । घिउले स्मरणशक्ति र शरीरको प्रतिरोधात्मक क्षमता बढाउँछ । यसरी माघे सङ्क्रान्तिका परिकारहरू धर्मसँगै स्वास्थ्यसँग पनि गहिरोरूपमा जोडिएका छन् ।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले माघे सङ्क्रान्ति विभिन्न समुदायले फरक–फरक नाम र शैलीमा मनाउँछन् । तर भावनात्मक सार एउटै हुन्छ– नयाँ शुरुवात, शुद्धता र एकता । थारू समुदायमा माघे सङ्क्रान्तिलाई माघी भनिन्छ । यो उनीहरूको नयाँ वर्ष हो । यस दिन परिवार प्रमुख चयन गर्ने, ऋण नवीकरण गर्ने र सामाजिक निर्णय गर्ने परम्परा छ । नेवार समुदायमा ‘घिउ–चाकु सन्हु’ का रूपमा मनाइन्छ । पहाडी समुदायमा तील, तरुल, चाकु खाने र नदीमा स्नान गर्ने चलन प्रचलित छ ।
माघे सङ्क्रान्ति सामाजिक मेलमिलापको पर्व पनि हो । परिवारका सदस्यहरू एकै ठाउँ भेला भई भोजन गर्ने, वृद्ध–वृद्धालाई सम्मान गर्ने र आपसी सद्भाव साटासाट गर्ने परम्परा रहेको छ । दानको संस्कृतिले समाजमा करुणा, सहानुभूति र मानवता विकास गर्छ । यस पर्वले मानिसलाई प्रकृतिको चक्र बुझ्न, समयको मूल्य चिन्न र आत्मचिन्तन गर्न प्रेरित गर्छ । अन्धकारबाट प्रकाशतर्फ, निराशाबाट आशातर्फ र जडताबाट गतिशीलतातर्फको यात्रा यही पर्वको मूल सन्देश हो ।
आधुनिक समाजमा जीवन व्यस्त, यान्त्रिक र भौतिकतामुखी बन्दै गएको छ । यस्तो अवस्थामा माघे सङ्क्रान्तिले मानिसलाई आत्मिक शान्ति, सामाजिक सम्बन्ध र प्रकृतिसँगको सम्बन्ध सम्झाउने अवसर दिन्छ । पर्वलाई केवल खानपान र बिदासँग सीमित नगरी यसको मूल्य र दर्शन बुझ्नु आजको आवश्यकता हो ।
निष्कर्षमा भन्नुपर्दा, माघे सङ्क्रान्ति हिन्दू धर्ममा सूर्य उपासना, आत्मशुद्धि, दान–पुण्य र मोक्षको प्रतीक पर्व हो । यसले धर्म, विज्ञान, स्वास्थ्य, समाज र संस्कृतिलाई एउटै सूत्रमा बाँधेको छ । यस पर्वले मानिसलाई शुद्ध जीवन, सकारात्मक सोच, सामाजिक सद्भाव र प्रकृतिप्रतिको सम्मानको सन्देश दिन्छ । त्यसैले माघे सङ्क्रान्ति केवल एउटा पर्व होइन, यो जीवनलाई उज्यालोतर्फ डो¥याउने दर्शन हो ।