npl.977 Nepal News Stream

#बिचार

Contents
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

चुनावी घोषणापत्रमा छाएको आर्थिक समृद्धि

धर्मराज भट्टराई 18 hours ago

अहिले देश चुनावमय बनेको छ । यह ि२१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलका नेता आ–आफ्ना क्षेत्रमा व्यस्त देखिएका छन् । घरदैलो, कोणसभा एवं विभिन्न सम्मेलनमार्फत जनतामाझ पुगिरहेका दलले आफ्ना एजेन्डा बोकेका चुनावी घोषणापत्रसमेत सार्वजनिक गरिसकेका छन् । यी घोषणापत्र दलले चुनावअघि सार्वजनिक गर्ने आधिकारिक दस्तावेज भएकाले यसमा चुनाव जितेपछि गर्ने योजना, नीति, कार्यक्रम र लक्ष्य समेटिएकाले यसको छुट्टै महत्व छ । हालै दलले सार्वजनिक गरेका घोषणापत्रमा उनीहरूका भावी योजना उल्लेख छन् । यी योजनामा सबैभन्दा बढी प्राथमिकता आर्थिक क्षेत्रले पाएको देखिन्छ । दलहरूद्वारा सार्वजनिक आर्थिक क्षेत्रसँग सम्बन्धित योजनाको शैली र प्रस्तुतिमात्र आधार मान्ने हो भने देशमा आर्थिक समृद्धि आउन धेरै समय नलाग्नेजस्तो देखिन्छ ।

प्रमुख राजनीतिक दलले विभिन्न आकर्षक नाम दिएर आफ्ना घोषणापत्र अगाडि सारेका छन् । नेपाली कांग्रेसले यसलाई ‘प्रतिज्ञापत्र’को नाम दिएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘बाचापत्र’, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ‘प्रतिबद्धतापत्र’, नेकपा एमालेको ‘एमालेले बनाउँछ’ भन्दै आफ्ना योजना सार्वजनिक गरेका छन् । कांग्रेसले आफ्नो घोषणापत्रमा आगामी पाँच वर्षका लागि आर्थिक पुनरुत्थानको अर्धदशक घोषणा गरेको छ । पाँच वर्षभित्र अर्थतन्त्रलाई १ सय १५ खर्ब रुपैयाँ पु¥याउने र प्रतिव्यक्ति आय २ हजार ५ सय डलर पु¥याउने लक्ष्य कांग्रेसको छ । यस अवधिमा कुल १३७.५ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने र त्यसमध्ये ८० प्रतिशत निजी क्षेत्रबाट जुटाउने योजना रहेको जनाइएको छ । तथापि, कलमले घोषणापत्रमा लेख्न जति सजिलो छ, त्यसलाई व्यवहारमा उतार्न भने मुस्किल देखिन्छ ।

एमालेले घोषणापत्रमा वार्षिक सातदेखि ९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र पाँच वर्षभित्र अर्थतन्त्रलाई सय खर्ब रुपैयाँ पु¥याउने र अर्को पाँच वर्षमा दुई सय खर्ब रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ । यसैगरी, वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । त्यस्तै, प्रतिव्यक्ति आय पाँच वर्षमा करिब तीन हजार डलर पु¥याउने, औद्योगिक क्षेत्रको जीडीपीमा योगदान दोब्बर बनाउने, तीन वर्षभित्र निर्यात दोब्बर र पाँच वर्षभित्र तेब्बर बनाउने लक्ष्य घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै, नेकपाले वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने र पाँच वर्षभित्र गरिबीको आँकडा २०.१५ प्रतिशतबाट पाँच प्रतिशतमा झार्ने महत्वाकांक्षी लक्ष्य राखेको छ । रास्वपाले सात वर्षभित्र सात प्रतिशत जीडीपी वृद्धिको आधार तयार पार्ने लक्ष्य लिएको छ । हालको १.५ अर्ब डलरबाट निर्यात ३० अर्ब डलर पु¥याउने प्रतिबद्धता रास्वपाको छ । त्यस्तै, आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार डलर नाघ्ने र अर्थतन्त्रको आकार सय अर्ब डलरनजिक पुग्ने लक्ष्य सो दलले राखेको छ ।

यसैगरी, उज्यालो नेपाल पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीलगायतका घोषणापत्रमा समेत यी र यस्तै योजना उल्लेख गरिएका देखिन्छन् । मुलुकका प्रमुख राजनीतिक दलका घोषणापत्रमा आगामी पाँच वर्षभित्र अर्थतन्त्रको आकार सय अर्ब डलरभन्दा बढी पु¥याउने लक्ष्य देखिन्छ । यो लक्ष्य अहिलेको अवस्थाभन्दा झन्डै दोब्बरले बढी हो । आव २०८१–८२ मा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब रुपैयाँ हाराहारी थियो । चालू आवसम्ममा यो आकार ६५ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अर्थशास्त्रीका अनुसार आगामी पाँच वर्षमा मुलुकको अर्थतन्त्र सय खर्बभन्दा माथि पु¥याउन आर्थिक वृद्धिदर दोहोरो अंकनजिक हुनुपर्छ । तथापि, नेपालको आर्थिक वृद्धिदर हेर्ने हो भने अपवादबाहेक वार्षिक सरदर तीन–चार प्रतिशत हाराहारीमात्रै छ ।

विगत दस वर्षमा नेपालले दुई पटकमात्रै सात प्रतिशतमाथि आर्थिक वृद्धि हासिल गरेको छ । आव २०७३–०७४ मा नेपालको आर्थिक वृद्धिदर ८.९८ प्रतिशत र आव २०७४–०७५ मा यस्तो वृद्धिदर ७.६२ प्रतिशत पुगेको थियो । २०७२ सालको महाभूकम्पका कारण आव २०७२–०७३ मा वृद्धिदर ०.४३ प्रतिशतमा सीमित भएको थियो । त्यसपछि भएको पुनर्निर्माणले गति लिँदा अर्थतन्त्रमा उच्चदरको आर्थिक वृद्धि देखिएको थियो । त्यसयता यस्तो आर्थिक वृद्धि हुन सकेको छैन । आव २०७६–०७७ मा करिब २ प्रतिशतले वृद्धिदर ऋणात्मक समेत बनेको थियो । आव २०७३–०७४ मा नेपालको अर्थतन्त्रको आकार ३० खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो । यो आकार दोब्बर हुन करिब दस वर्ष लागेको छ । दलहरूले आगामी पाँच वर्षमै अर्थतन्त्र दोब्बर बनाउने घोषणा गरे पनि यसका आधार भने स्पष्ट पारेका छैनन् ।

चुनावी घोषणापत्रमार्फत दलहरूले अगाडि सारेका आर्थिक समृद्धिका खाका सामान्य रूपमा हेर्दा महत्वाकांक्षी भए पनि असम्भव भने देखिँदैन । निजी क्षेत्रसँगको बलियो सहकार्यबाट मुलुकमा उत्पादन र लगानीका क्षेत्र विस्तार गर्न सकिने प्रशस्त सम्भावना छन् । कृषि, पर्यटन, ऊर्जासँगै प्रविधि क्षेत्रमा गरिएको लगानीले रोजगारी र आम्दानीका स्रोत बढ्न सक्ने छन् । आन्तरिक उत्पादन वृद्धिले निर्यात व्यापार प्रवर्धनमा सहयोग पुग्ने देखिन्छ । यसबाट व्यापार घाटा खुम्चिँदै जानसक्ने सम्भावना छ ।

नेपाली कांग्रेसले यसका लागि कुल १३७.५ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने जनाए पनि यसको स्रोत’bout मौन देखिन्छ । अन्य दल भने यस विषयमा खुलेका छैनन् । वर्तमान अवस्थामा करिब १९ खर्बको वार्षिक बजेटका लागिसमेत सरकारले स्रोत जुटाउन सकेको छैन भने खर्चको अवस्थामा पनि नाजुक देखिन्छ । यसकारण हरेक वर्ष सरकारले बजेट संशोधन गर्दै आयव्यय दुवै घटाउने गरेको छ । यस्तो अवस्थमा सयौं खर्बको लगानी परिचालन कसरी र कहाँबाट गर्न सकिन्छ ? भन्ने प्रश्न उठ्नु स्वभाविक मान्न सकिन्छ ।

पछिल्लो समय मुलुकमा बढ्दै गएको बेरोजगारी समस्या समाधानलाई सबैजसो दलहरूले प्रमुख मुद्दा बनाएका छन् । उत्पादनशील क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गरी ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने योजना कांग्रेसको छ । त्यस्तै, उद्योग एवं व्यापार व्यवसाय प्रवर्धनका लागि भन्दै कर्पोरेट आयकर २० प्रतिशतमा झार्ने, निर्यातमुखी तथा सूचना प्रविधि उद्योगलाई कम दर कायम राख्ने, भ्याट दर समयक्रममा १० प्रतिशतमा झार्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, व्यवसाय दर्ता तथा नवीकरणका लागि कागजरहित डिजिटल प्रणाली, प्रत्येक प्रदेशमा विशेष आर्थिक क्षेत्र सुदृढीकरण र लगानी प्रवर्धन तथा संरक्षण बोर्ड गठन गर्ने योजना कांग्रेसको छ ।

उता, एमालेले विकासलाई तीव्र बनाउन सार्वजनिक–निजी साझेदारी विस्तार गर्ने प्रतिबद्धता पनि जनाएको छ । यसैगरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै, रास्वपाले उत्पादकत्व, सीप, पुँजी निर्माण र प्रविधिमा आधारित औद्योगिकीकरण प्रवर्धन गर्ने जनाएको छ । सरकारको भूमिका नियामक तथा सेवाग्राहीलाई सीमित राख्दै निजी क्षेत्रलाई रोजगारी सिर्जना, लगानी र सेवा प्रवाहको नेतृत्व दिने उसको योजना छ । विदेशी लगानी प्रक्रिया सरलीकरण, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्धन र आर्थिक वृद्धिमा बाधक ठानिएका करिब दुई दर्जन कानुन खारेज गर्ने प्रतिबद्धतासमेत रास्वपाले जनाएको छ ।

नेकपाले सार्वजनिक, सहकारी र निजी क्षेत्र गरी तीन खम्बामा आधारित समाजवादी अभिमुखीकरणको आर्थिक ढाँचा प्रस्ताव गरेको छ । प्रयोगमा नआएको सार्वजनिक तथा निजी जग्गा र प्राकृतिक स्रोतलाई उत्पादनमा परिचालन गरी वार्षिक पाँच लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता नेकपाको छ ।

यसरी दलले ल्याएका योजना मुलुकमा औद्योगिकीकरण र रोजगारी सिर्जना क्षेत्रमा सकारात्मक देखिए पनि कार्यान्वयन पक्ष भने चुनौतीमुक्त छैन । नेपालको प्रतिव्यक्ति आय वृद्धिमा समेत दलहरूले महत्वाकांक्षी लक्ष्य अगाडि सरेका छन् । कुनै दलले अहिलेको अवस्थाबाट हजार डलर बढाउने भनेका छन् भने कुनैले तीन हजार डलर हाराहारी पु¥याउने बताएका छन् । मुलुकको प्रतिव्यक्ति आयको इतिहास हेर्ने हो भने हजार डलरले वृद्धि हुन करिब पन्ध्र वर्ष लागेको छ । आव २०१०–०११ मा ५८५ डलर रहेको नेपालको प्रतिव्यक्ति आय अहिलेसम्म आइपुग्दा करिब १५ सय १७ डलरमात्र पुगेको तथ्यांक छ । त्यसो त, प्रतिव्यक्ति आयको आँकडालाई अर्थतन्त्रको आकारले प्रभाव पारेको हुन्छ । तर पनि दलहरूले भनेअनुसारको एक खर्ब डलरको अर्थतन्त्र र त्यस समयसम्मको जनसंख्या वृद्धिदरलाई सामान्य रूपमा आकलन गर्दासमेत तीन हजार डलर पुग्न नसक्ने देखिन्छ ।

त्यसो त, चुनावी घोषणापत्रमार्फत दलहरूले अगाडि सारेका आर्थिक समृद्धिका खाका सामान्य रूपमा हेर्दा महत्वाकांक्षी भए पनि असम्भव भने देखिँदैन । निजी क्षेत्रसँगको बलियो सहकार्यबाट मुलुकमा उत्पादन र लगानीका क्षेत्र विस्तार गर्न सकिने प्रशस्त सम्भावना छन् । कृषि, पर्यटन, ऊर्जासँगै प्रविधि क्षेत्रमा गरिएको लगानीले रोजगारी र आम्दानीका स्रोत बढ्न सक्ने छन् । आन्तरिक उत्पादन वृद्धिले निर्यात व्यापार प्रवर्धनमा सहयोग पुग्ने देखिन्छ । यसबाट व्यापार घाटा खुम्चिँदै जानसक्ने सम्भावना छ ।

मुलुकभित्र लगानीका नयाँनयाँ क्षेत्र पहिचान हुँदै जाँदा आन्तरिक एवं बाह्य लगानीसमेत आकर्षित हुने देखिन्छ । यसले थप रोजगारी र आम्दानीका वृद्धि गर्न मद्दत पुग्ने छ । यसले मुलुकमा दिगो आर्थिक विकासको आधार खडा गर्न सक्छ । यसपछि मात्र मुलुकको समग्र आर्थिक वृद्धि र अर्थतन्त्रको आकारमा सोचेजस्तो वृद्धि हुनसक्छ । तथापि, यसका लागि सबैभन्दा महत्वपूर्ण पक्ष राजनीतिक दल इमान्दार हुन जरुरी छ । विगतजस्तै चुनावअघि एउटा बाचा गर्ने तर निर्वाचित भएपश्चात् आफ्ना प्रतिबद्धता बिर्सेको खण्डमा भने नेपालीको आर्थिक समृद्धिको सपना सधैं सपना नै रहने पक्का छ ।
(लेखकको यो निजी विचार हो)

The post चुनावी घोषणापत्रमा छाएको आर्थिक समृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

हवाई सेवा फराकिलो नबनाई पर्यटक बढ्ला ?

निनामा लोवात्ती 18 hours ago

पछिल्लो तथ्यांकअनुसार नेपालले विश्वका ४२ देशसँग सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी द्विपक्षीय सम्झौता गरेको छ । पछिल्लोपटक यस्तो सम्झौता युरोपियन देश स्विट्जरल्यान्डसँग २०८१ मघमा भएको थियो । नेपाल र स्विट्जरल्यान्डसँग सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी द्विपक्षीय सम्झौतापछि युरोप महादेशका अधिकांश देशका पर्यटक स्विट्जरल्यान्डको बाटो हुँदै नेपाल भ्रमणमा आउने अपेक्षा गरिएको थियो । ’cause हवाई सेवा सञ्चालनमा सन् २०१३ देखि नै नेपालले युरोपको कालोसूचीको सास्ती खेपिरहेको छ । तर, नेपाल सरकार र स्विट्जरल्यान्डबीचको सम्झौता कार्यान्वयनतिर दुवै देशका अधिकारीले चासो दिएनन् । सोही कारण सो सम्झौता कागजमै सीमित रह्यो । दुवै देशका सरकारी अधिकारीले गम्भीरतापूर्वक नलिनाले नेपाल र स्वीटजरल्यान्डबीचको हवाई सेवा सम्झौता (एयर सर्भिस एग्रीमेन्ट) कागजको खोस्टोमा परिणत भएको छ ।

नेपालले अन्तर्राष्ट्रियरूपमा सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी सबैभन्दा पहिले द्विपक्षीय सम्झौता गरेको देश हो, छिमेकी देश भारत । नेपाल र भारतबीच मंंसिर २०२१ मा पहिलो हवाई सेवा सम्झौता भएको थियो । त्यसयता लगभग ६२ वर्षको अवधिमा ४२ देशसँग सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी द्विपक्षीय हवाई सेवासम्बन्धी सम्झौता गरिेसके पनि अधिकांश देशसँग गरेको त्यस्तो सम्झौता खोस्टोमै परिणत भएको छ । अहिले नेपालमा १५–१६ देशका
२८÷२९ वटा हवाईजहाज कम्पनीले उडान गरिरहेका छन् । त्यसैले अब बन्ने सरकारले यस सम्बन्धमा पनि चासो दिन जरुरी छ । यसपटकको आमनिर्वाचनमा नेपालका विभिन्न राजनीतिक दलले नेपालको पर्यटन क्षेत्रलाई पनि महत्वसाथ आफ्ना ‘प्रतिज्ञा पत्र’, ‘बाचा पत्र’, ‘प्रतिबद्धता पत्र’मा जेजस्तो भए पनि उल्लेख गरेका छन् ।

समग्र नेपाली पर्यटन क्षेत्र सम्बन्धमा आसन्न आमनिर्वाचनमा मात्रै होइन, लामो समयदेखि विभिन्न राजनीतिक दलले आफ्ना घोषणा पत्रमा उल्लेख गर्थे । तर, ती प्रतिबद्धता झारा टार्नेखाले हुने गर्थे । राजनीतिक दल सरकारमा पुगिहाले पनि विगतमा आफ्ना घोषणापत्रमा उल्लेख गरेको पर्यटनसम्बन्धी बाचा भुल्ने गर्थे, कार्यन्ययनमा ल्याउँदैन थिए । उबेला ती राजनीतिक दलले ल्याउने कतिपय पर्यटनसम्बन्धी नीति ‘हावादारी गफ’मै सीमित भएका उदाहरण छन् ।

नेपालले स्विट्जरल्यान्डसँग सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी द्विपक्ष्ीय हवाई सेवासम्बन्धी सम्झौता गरेको दुई वर्ष पुग्दा पनि कार्यान्वयन हुन सकेको छैन । यो कसको कमजोरी हो ? सम्झौताअनुसार सीधा हवाई उडान गर्न सकेको भए अहहिलेसम्म युरोपियन देशका लाखौं पर्यटक नेपाल भ्रमण गर्न आउने थिए । वास्तवमा नेपालमा धेरै लामो समयदेखि युरोपियन मूलका पर्यटक नबढ्नुमा युरोपियन देशबीच सीधा हवाई सेवा सञ्चालन गर्न नपाउनाले पनि हो ।

खासमा विदेशी पर्यटक नेपालमा भित्र्याउनका जुनसुकै देशका लागि पनि पहिलो आवश्यकता भनेको भौतिक पूर्वाधार हो । त्यसो त, पछिल्लोपटक नेपालमा भौतिक पूर्वाधारमा पनि ठूला तथा तारे होटल, लज, पब, रेस्टुरेन्ट र बाटाघाटा बढेका छन् । यो सकारात्मक पक्ष हो ।

यद्यपि, नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान थप्न वा बढाउन भने सकिएको देखिँदैन । यसले गदौ नेपालमा अहिलेसम्म पनि वार्षिक १० लाख, साढे १० लाखदेखि ११ लाख, साढे ११ लाख हाराहारीमात्रै विदेशी पर्यटक आइरहेका छन् । यसको एकमात्रै कारण नेपाल र अन्य देशबीच सीधा हवाई उडान कम हुनु र भएका पनि उडान पनि भाडा दर धेरै महँगो हुनु हो । अब बन्ने सरकारले सबैभन्दा पहिले नेपाल र स्विट्जरल्यान्डबीच माघ २०८१ मा भएको द्विपक्षीय हवाई सेवासम्बन्धी सम्झौता÷एयर सर्भिस एग्रिमेन्ट (एएसए) तुरुन्तै लागू गर्नका लागि पहल गर्न जरुरी छ ।

स्विट्जरल्यान्डमात्रै यस्तो एक देश हो, जो युरोप महादेशमा रहेको देश भए पनि उसले युरोपियन युनियन सदस्यता लिएको छैन । त्यसैले गर्दा पनि सो सम्झौताबाट हामीले जतिसक्दो छिटो फाइदा लिनेतर्फ सोच्नुपर्ने देखिन्छ ।

नेपाल र स्विट्जरल्यान्डबीच भएको द्विपक्षीय हवाई सेवासम्बन्धी सम्झौतामा सातामा २८ उडान (नेपालले १४ उडान गर्ने, स्विट्जरल्यान्डले १४ उडान) गर्ने भनेर सम्झौता गएिको छ । २८ मध्ये १४ उडान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बाँकी १४ उडान लुम्बिनीस्थित गौतमबुद्ध क्षेत्रीय
अन्तर्राष्ट्रिय विमानस्थल र पोखरास्थित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गर्नुपर्ने उल्लेख छ ।

यद्यपि, नेपालले स्विट्जरल्यान्डसँग सीधा हवाई सेवा सञ्चालन गर्न पाउनेगरी द्विपक्ष्ीय हवाई सेवासम्बन्धी सम्झौता गरेको दुई वर्ष पुग्दा पनि कार्यान्वयन हुन सकेको छैन । यो कसको कमजोरी हो ? सम्झौताअनुसार सीधा हवाई उडान गर्न सकेको भए अहहिलेसम्म युरोपियन देशका लाखौं पर्यटक नेपाल भ्रमण गर्न आउने थिए । वास्तवमा नेपालमा धेरै लामो समयदेखि युरोपियन मूलका पर्यटक नबढ्नुमा युरोपियन देशबीच सीधा हवाई सेवा सञ्चालन गर्न नपाउनाले पनि हो ।

सबै देशसँग सीधा हवाई सेवा सुरु गर्नसके नेपालमा सजिलैसँग विदेशी पर्यटक आगमन संख्या वृद्धि हुनेमा आशंका छैन । यसो हुनसके वार्षिक ३५–४० लाख विदेशी पर्यटक भित्रिने आकलन गर्न सकिन्छ । अहिलेको अवस्थामा विश्वमा दुई छिमेकी देश भारत र चीनका पर्यटक नै विश्व पर्यटन बजारमा आकर्षणका केन्द्र हुन थालेका छन् । यी देशमा विश्वको लगभग एकतिहाई (दुई अर्ब ८० करोड मानिसको) जनसंख्याको आवाद रहेको छ ।

साथै, आर्थिक रूपमा पनि यी देश पहिलो र चौथौ वा पाँचौं ठूलो आर्थिक शक्ति र आर्थिक गतिविधि गर्ने चलायमान देशमा ‘अपग्रेड’ भइरहेका छन् । त्यसैले विभिन्न देशका सरकार र पर्यटन व्यवसायीले चीन र भारतका पर्यटक धेरैभन्दा धेरै भित्र्याउन अनेक कार्यक्रम ल्याउन थालेका छन् ।

नेपालले पनि चीन र भारतका आर्थिक रूपमा सम्पन्न र सम्पन्न सहरमा हवाई उडान थप्नेतिर सोच्नुपर्ने देखिन्छ । दुई ठूला छिमेकी देश भारत र चीनका ठूला एवं आर्थिक गतिविधि चलायमान हुने प्रमुख सहरबाट नेपालमा हवाई उडान संख्या नबढाइकन पर्यटक नबढ्ने देखिन्छ ।

नेपालले काठमाडौं, पोखरा र भैरहवामा हवाई उडान थप्नुपर्ने देखिन्छ । युरोप, अमेरिका, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका, ओसेनियालगायत देशमा पनि नेपालले नेपाल वायुसेवा निगम (नेवानी), हिमालय एयरका साथै सम्बन्धित देशका वायु सेवा कम्पनीलाई उडान भर्न एवं नेपालमा हाल उडान भइरहेका देशका हवाई उडान थप्न पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि र विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न आकर्षित गर्नका लागि सहुलियत एवं आकर्षक ‘प्याकेज’ पनि ल्याउनुपर्ने देखिन्छ । यसका लागि नेपाल सरकारले नीति बनाएरै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकलाई ‘के कति सेवा, सुविधा र सहुलियत दिन सकिन्छ ?’ भन्ने ‘प्याकेज’ बनाएरै लागू गर्न जरुरी छ । भारतीय तथा चिनियाँ पर्यटकका साथै अन्य देशकालाई पनि नेपाल भ्रमण गर्न आकर्षित गर्न सकिन्छ । यसो गर्नसके नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटक संख्या स्वतः बढ्ने देखिन्छ ।
(लेखकको यो निजी विचार हो)

The post हवाई सेवा फराकिलो नबनाई पर्यटक बढ्ला ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category