npl.977 Nepal News Stream

#प्रवास

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

एनआरएनएप्रतिको आशा र भरोसा टुटेको छैन : उपाध्यक्ष डा. हेमराज शर्मा

राजधानी समाचारदाता 20 hours ago

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाप्रति आम गैरआवासीय नेपालीहरूको आशा र भरोसा अझै टुटेको नरहेको बताएका छन्। एशियाका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूसँगको अन्तरक्रिया तथा संवादपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

एशियाली मुलुकहरूको भ्रमण सकेर नेपाल फर्किएपछि डा. शर्माले भने, “एशियाका विभिन्न देशहरूमा रहेका गैरआवासीय नेपालीहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गरेपछि एनआरएनएप्रति उनीहरूको आशा र भरोसा यथावत् रहेको अनुभूति भएको छ।” कोभिड–१९ महामारी र त्यसपछि संघभित्र उत्पन्न विवादका कारण संघको केन्द्र र आम गैरआवासीय नेपालीहरूबीच प्रत्यक्ष संवाद कमजोर बनेको उल्लेख गर्दै उनले आफ्नो भ्रमणले त्यो दूरी घटाउन सहयोग पुगेको बताए।

उपाध्यक्ष शर्माले जापान, दक्षिण कोरिया, हङकङ, मकाउ र मलेसियामा आयोजित विभिन्न अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए। उनले भने, “जापानको फुकुओकादेखि टोकियोसम्म र मलेसियाको जोहोरदेखि क्वालालम्पुरसम्म सयौँ माइल यात्रा गरेर साथीहरूको उल्लेखनीय उपस्थिति रह्यो। कुनै पक्षगत सोच नराखी, संस्थापकदेखि भर्खरै अभियानमा जोडिएका नयाँ साथीहरूसम्मको सक्रिय सहभागिता देख्दा उत्साहित भएँ।”

डा. शर्माले संघभित्र नयाँ पुस्तालाई उचित अवसर र स्थान दिन सकिए एनआरएनएको नेतृत्व सम्हाल्न सक्षम पुस्ता तयार भइसकेको अनुभूति आफूले गरेको बताए। एनसिसी (NCC) नेतृत्वमा आएका नयाँ साथीहरूको सोच, साधन र जुझारूपनले संस्थालाई अघि बढाउने क्षमता स्पष्ट देखिएको उनको भनाइ थियो।

संघलाई ‘३ पी’— पावर, पोलिटिक्स र पैसा—बाट मुक्त गर्दै एनआरएनएको पुनर्ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याउँदै डा. शर्माले भने, “एनआरएनएलाई सीमित समूहको संस्थाबाट बाहिर निकालेर सबै तह र तप्काका गैरआवासीय नेपालीहरूको साझा घर बनाउने अभियानप्रति गैरआवासीय नेपालीहरूले साथ दिने प्रतिबद्धता जनाएका छन्, जसले मलाई थप उत्साहित बनाएको छ।”

आगामी महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी रहेका डा. शर्माले फेब्रुअरी २३ देखि २५ तारिखसम्म हुने एनआरएनएको महाधिवेशनको तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन्। एकताको सन्देश लिएर उनी विश्वव्यापी भ्रमणमा निस्केका हुन्।

यसअघि संघभित्र विगत छ वर्षदेखि जारी विवाद अन्त्य गर्दै फेब्रुअरी महिनामा निर्वाचन गर्ने सहमतिसहित संघका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

The post एनआरएनएप्रतिको आशा र भरोसा टुटेको छैन : उपाध्यक्ष डा. हेमराज शर्मा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category