npl.977 Nepal News Stream

#प्रदेश-१

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

सुनसरी ३ मा गच्छदारलाई विरासत फर्काउने अन्तिम अवसर

विवेक विवश रेग्मी 22 hours ago

इटहरी । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सुनसरी–३ मा चुनावी सरगर्मी चुलिँदैछ। नेपाली कांग्रेसका तर्फबाट विजयकुमार गच्छदार आठौँपटक चुनावी मैदानमा उत्रिएका छन्। उनी ‘गुमेको विरासत’ फर्काउने अन्तिम अवसरसहित घरदैलो गर्दै मतदातासँग सक्रिय संवाद गरिरहेका छन्। गच्छदारले स्थानीय विकास, अधुरा योजना पूरा गर्ने प्रतिबद्धता र आफ्नो अनुभवलाई मुख्य एजेन्डा बनाएका छन्। उनले आफू अघिल्लोपटक पराजित भएकाले विकास नभएको र आफ्नो अनुभवले विकास निर्माण गर्ने बताउँदै आएका छन्।

दुई दशकभन्दा बढी समयसम्म सुनसरी–३ बाट विजयी हुँदै आएका नेपाली कांग्रेसका गच्छदार २०७९ सालको निर्वाचनमा एमाले नेत्री भगवती चौधरीसँग पराजित भएपनि त्यस हारलाई उनले ‘जनताको असन्तुष्टि बुझ्ने अवसर’का रूपमा लिएका छन्। यसपटक गच्छदार पुनरागमनको दाउमा छन्। ‘यो मेरो उम्मेदवारी अन्तिम पटक हो। यसपटक फेरि विश्वास गरेर जनताले जिताइदिनुहुन्छ भन्ने आत्मविश्वास छ,’ उनले भने।

खासगरी उनले आफ्नो जीवनकालमा अन्तिमपटक चुनावी अभियानमा होमिएको भन्दै मतदाताको भावना समेट्दै घरदैलो र प्रत्यक्ष संवादमार्फत जनता ‘क्याच’ गरिरहेका छन्।

गच्छदारले २०४८ देखि २०७४ सम्म विभिन्न पार्टीबाट (कांग्रेस, मधेशी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक) जित हात पारिसकेका छन्। यसपटक उनी अधुरा सिँचाइ आयोजना, सडक विस्तार, स्वास्थ्य केन्द्र र शिक्षा पूर्वाधार पूरा गर्ने प्रतिबद्धतासहित मतदातासँग छन्। ०४८ सालदेखि निरन्तर चुनाव जितेका उनी ०७९ को निर्वाचनमा मात्रै पराजित बनेका थिए। गच्छदारका लागि यसपटकको चुनाव प्रतिष्ठाको लडाइँ मात्र होइन, राजनीतिक विरासत जोगाउने अन्तिम अवसरका रूपमा हेरिएको छ।

एमालेकी भगवती चौधरीले आफ्नो शालीन अभिव्यक्ति, विकास कार्ड र भ्रष्टाचारविहीन छवि प्रस्तुत गर्दै मतदाताको आकर्षण बढाइरहेकी छन्। उनी चौथोपटक प्रतिस्पर्धामा उत्रिएकी हुन्। दुईपटक कांग्रेसका गच्छदारसँग पराजित भएकी उनी ०७९ को निर्वाचनमा भने जित निकालेकी थिइन्। यसपटक उनले विकास योजना सञ्चालन गरेको बताउँदै निर्वाचनमा होमिएकी छन्।

विगतमा दुई हजार बढी जनालाई रोजगारी उपलब्ध गराको दाबी गर्ने उनले आगामी दुई वर्षमा थप चार सय विपन्न परिवारलाई घर उपलब्ध गराउने योजना रहेको बताउँदै आएकी छन्। ‘म कसैलाई झुठो आश्वासन दिन्न। अरू उम्मेदवारको आलोचना पनि गर्दिन,’ चौधरी भन्छिन्, ‘म सुशानको पक्षमा, भ्रष्टाचारका विरूद्वमा कठोर छु।’

यसैगरी रास्वपाका अशोक चौधरी ‘नयाँ विकल्प’को नाम लिएर मतदाता आकर्षित गर्ने रणनीतिमा छन्। वैकल्पिक मत र देशभर रास्वपामा आएको लहरले नै चुनाव जित्ने उनको तयारी छ। ‘रास्वपाले बहुमत ल्याउनेगरी तयारी गरिरहेको छ। यसमा जनताले साथ दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने।

कांग्रेस, एमाले र रास्वपाका तीनै व्यक्तिले संसदीय अनुभव लिइसकेका छन्।

नेकपाका दुर्गेशकुमार चौधरीले कम्युनिस्ट विकल्प प्रस्तुत गर्दै आफ्नो उपस्थिति रहेको बताउँदै आएका छन्। अहिले एमालेको देशभर मत घट्दै जाँदा कम्युनिस्ट विचारधारका मतदाताले आफूलाई मत दिने उनको दाबी छ।

थारू समुदायको बाहुल्य क्षेत्र भएकाले जातीय मत समीकरण निर्णायक मानिन्छ।

मतदाताको मिश्रित प्रतिक्रिया
सुनसरीको बर्जु गाउँपालिका–१ उराव बस्तीमा मतदाताको मनोविज्ञान मिश्रित देखिएको छ। गीता उराव यसपटक नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई समर्थन गर्ने तयारीमा छिन्।

‘अस्तिकोपटक एमालेले जितेको थियो। यसपटक भने कांग्रेसलाई मत दिने, पहिला बाटो बनाइदिएको छ,’ उनले भनिन्, ‘यो बाटो विराटनगर जान निकै छिटो हुन्छ, पिँच पनि भएको छ।’ उनी कांग्रेसलाई जिताए सडक निर्माण भएको र विकासको काम हुने आशामा छिन्। उनले विकास र सडक निर्माणको आशामा कांग्रेसलाई समर्थन गर्न लागेको बताइन्। खासगरी उक्त सडकखण्डबाट विराटनगर जान सहज हुन्छ। त्यही बाटो भएर जोगवनीसम्म पुग्न सहज हुने र घरायसी खाद्यान्न किनमेल गर्न सहज हुने उनको प्रतिक्रिया थियो।

त्यस्तै, संगीता उराव भने नयाँ विकल्पतर्फ झुक्ने मनस्थितिमा छिन्। ‘सप्पैलाई हेरिसकियो, यसपटक नयाँलाई हेरौँ कि भन्ने सोच छ। नयाँले पनि केही गर्दैन कि भन्ने चिन्ता पनि लाग्छ। कांग्रेस, एमाले सप्पैलाई भोट त दिइसकेँ, नयाँ पनि हेरौँ कि भन्ने छ।’

सँगै भेटिएकी कुमारी उरावले भने घरमा आफ्ना श्रीमानले जसलाई भन्यो उसैलाई मत दिने बताउँछिन्। ‘घरमा उहाँ (श्रीमान)ले जसलाई भन्यो, उसैलाई दिने हो। कसलाई मत दिनुपर्छ भन्ने नै थाहा छैन,’ उनले भनिन्। जसकारण परिवारभित्र पनि निर्णायक मत रहेको बुझ्न सकिन्छ।

माथि उदृत गरिएका तीन जना मतदाता प्रतिनिधि मात्र हुन्। मतदाताको प्रतिक्रिया मिश्रित भएकाले सुनसरी ३ अन्तरगर्त दक्षिण क्षेत्रमा पर्ने सुनसरीको बर्जु, गढी र दुहबीजस्ता क्षेत्रका मत विभाजन मिश्रित हुनसक्छ। तर, सुनसरी–३ मा पर्ने इटहरी उपमहानगरपालिकाका ६–१५ नम्बर वडाहरू निर्णायक मानिएका छन्। जहाँ मतदाताको झुकावले अन्तिम नतिजामा ठूलो प्रभाव पार्ने देखिन्छ।

यस क्षेत्र थारू समुदायको बाहुल्य रहेको क्षेत्र हो। यहाँ थारू नेताहरूबीच नै मुख्य चुनावी भिडन्त हुँदै आएको छ। यसपटक पनि थारू समुदायकै पुराना अनुहारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

कांग्रेसबाट गच्छदार आठौँपटक प्रतिस्पर्धा गर्दा एमालेकी भगवती चौधरी चौथोपटक प्रतिस्पर्धामा उत्रिएकी छन्। यसैगरी रास्वपाका अशोक चौधरी, नेकपाका दुर्गेशकुमार चौधरी, राप्रपाका घनश्याम गुरुङ, श्रम संस्कृति पार्टीका रामप्रसाद सदा, समावेशी समाजवादी पार्टी नेपालका किशोरकुमार विश्वासलगायत २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

यस क्षेत्रबाट ०७९ को निर्वाचनमा एमालेकी चौधरीले ४० हजार ७८८ मत पाएर विजयी भएकी थिइन्। कांग्रेसका गच्छदारले ३५ हजार ६०० मत प्राप्त गरेका थिए। निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३३ हजार ९०२, कांग्रेसले २९ हजार ६८०, रास्वपाले ६ हजार ८३८ र नेकपाले ३ हजार ९७५ मत प्राप्त गरेका थिए। ४४ मतदानस्थल र १४६ मतदान केन्द्र रहेको यस क्षेत्रमा एक लाख ३४ हजार ३०२ मतदाता छन्। जसमध्ये पुरुष ६९ हजार १२ र महिला ६५ हजार २९० रहेका छन्।

सुनसरी ३ मा इटहरी उपमहानगरपालिकाको ६–१५ वडा, दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका र इनरुवा नगरपालिकाको वडा ७ समेटिएको छ।

फागुन २१ को मतदान नजिकिँदै गर्दा गच्छदारको ‘कमब्याक’ प्रयास, चौधरीको विकास कार्ड, रास्वपाको नयाँ विकल्प र नेकपाको कम्युनिस्ट रणनीति बीचको चौपक्षीय भिडन्त अन्तिम नतिजा कसको पक्षमा ढल्किन्छ भन्ने चासो बनेको छ।

The post सुनसरी ३ मा गच्छदारलाई विरासत फर्काउने अन्तिम अवसर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Explore by Source or Category