News of Nepal
पाठकपत्र : भक्तपुरका अनुकरणीय व्यक्तित्व
श्रद्धेय स्वर्गीय ज्ञानबहादुर न्याइच्याई जनताका आदरणीय व्यक्ति हुनुहन्थ्यो । एक साधारण घरमा बसेर जनताको दुःख–सुख बाँड्ने उहाँ सादा जीवन उच्च विचारका व्यक्ति हुनुहुन्थ्यो । किसानहरुको मोहियानी कायम गर्न, बाली बुझाइसकेपछि भर्पाइ उपलब्ध गराउन उहाँको सक्रिय भूमिका रह्यो ।
देश र जनताको सेवा गर्न उहाँ वडाध्यक्ष र नगरप्रमुख पनि बन्नुभयो । जनतामा जनचेतना जगाउन र आफ्नो लागि आफैँले सफा गर्नुपर्छ भन्ने भावना फैलाउन उहाँले सफाइ अभियानमा कुचो समाउनुभयो । उहाँ बाली काट्ने आन्दोलन, साँढे धपाउने आन्दोलन र मोहियानी हक जोगाउने आन्दोलनमा सरिक हुनुभयो । यसबारे गरिब किसानको घर–आँगनमा पुग्नुभयो र किसानहरु संगठित र एकत्रित गर्न सघाउनुभयो ।
जसरी भूमिबाट उत्पादित धान, गहुँ, फलफूल पहिले देवतालाई चढाइन्छ, बगैँचामा फलेका फलफूल, अदुवा, काँक्रो पहिले भीमसेन देवतालाई चढाइन्छ, यसरी नै राजनीतिक कार्यकर्ताहरुले पनि पार्टीलाई जीवन्तता दिन श्रद्धापूर्वक ऋतुकालीन चन्दा दिनुपर्छ भन्ने भावनाबाट म प्रभावित भएँ । किसानहरुको भेलामा उहाँले सुनाउने विचार र भावना म अरु साथीहरुसित बाँड्थे ।
आफ्नै टोलका बाजैबज्यै र किसान दाजुभाइहरुसमक्ष राख्थे र बताउँथे । कथामार्फत जनताको पीडा, व्यथा र शत्रुले गर्ने छलकपटको कुरा बुझ्दा, सुन्दा हामी आफ्नो विचार फराकिलो भएको महसुस गथ्र्यौं ।
उहाँका त्यस्तै विचार सुनेर धेरै साथीहरु सचेत भए, शत्रुले गर्ने षड्यन्त्रबाट जनता सचेत भएको महसुस भयो । एक देशभक्त र इमानदार कार्यकर्ताले निर्वाह गर्नुपर्ने भूमिका ज्ञानबहादुर दाइले गर्नुभएको थियो । त्यो अरु कार्यकर्ताहरुको लागि अनुकरणीय छ, शिक्षाप्रद छ ।
– तुल्सीनारायण लाखेमरु
सूर्यविनायक न.पा.–८, भक्तपुर ।