४२ वर्षअघि यसरी भएको थियो पिस्कर हत्याकाण्ड
१५ भदौ २०३४ मा म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले)को मध्य उत्तर क्षेत्रीय कमिटीको सदस्यको जिम्मेवारी लिएर संगठन प्रमुख कमरेड अमृतकुमार बोहराको साथमा ललितपुरबाट दुई दिन हिँडेर पहिलोपटक सिन्धुपाल्चोकको पिस्कर गाउँ पुगेको थिएँ। त्यसदिन कमरेड बोहराकै घरमा बसियो। पक्राउ पुर्जी जारी भएको छोरा घरमा आइपुगेकाले बुवा र सबै परिवार साह्रै खुसी हुनुभयो।
घरमा धेरै समय बस्ने स्थिति थिएन। भोलिपल्ट हामी नजिकै घर भएका शिक्षक लालजंग पाण्डेको घरमा गयौँ। त्यतिखेर मध्य उत्तर क्षेत्रीय कमिटीका कार्यक्षेत्र दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, गोरखालगायत जिल्लाहरू थिए।
कमरेड अमृतलाई त्यहाँ बसिरहने फुर्सद पनि थिएन। उहाँले लामो कुराकानी गरेर शिक्षक लालजंगलाई मेरो जिम्मा लगाउनुभयो। हिँड्ने बेला दह्रो हात मिलाउँदै ‘एक एरिया, एक युनिट र एक एक्सन’ कार्यशैलीको स्मरण गराउँदै ‘६ महिनामा त केही न केही हुन सक्छ, होइन कमरेड?’ भन्नुभयो। जवाफमा मैले फरक नपर्ने बताएँ। मेरा लागि पार्टी कमिटी र सम्पर्क व्यक्ति उहाँ नै हुनुहुन्थ्यो।
त्यसपछि नौ महिनासम्म कमरेड अमृत बोहरासँग प्रत्यक्ष भेटघाट हुने अवसर मिलेन। अब मेरा लागि शिक्षक लालजंग नै सबैथोक भए। गाउँमा कुनै कमिटी थिएन। ललितपुर लामाटारबाट दुईतीन दिन लगाएर हिँड्दै राति नै आइपुगेको मलाई पिस्कर गाउँको अवस्थिति केही थाहा थिएन। लालजंगले बेलुकी दुईचार जना किसानलाई भेला गराउनुहुन्थ्यो। उनीहरूको घर कता हो, केही थाहा हुँदैनथ्यो। म आफ्नो भएभरको बुद्धि लगाएर सामन्ती शोषणको अन्त्य हुनुपर्ने, संगठित हुनुपर्ने, किसानको सुखका दिन ल्याउन किसानहरू आफैँ जागृत हुनुपर्ने आदि कुरा गर्थें।
यसरी नै पाँचसात दिन बित्यो। त्यो रित्तो घरमा बिहान-बेलुकी मिलाएर घरबेटी माइला थामी आउनुहुन्थ्यो। उहाँको बस्ने, खाने, सुत्ने ठाउँ घरमाथिको पसल थियो। रित्तो घरमा त पराल, कोदाका नल र काठहरू मात्र थिए। थामीका श्रीमती, छोराछोरी कोही थिएनन्। उहाँ पसल कुर्ने विश्वासिलो मान्छे मिलाएर आउनुपर्ने, बारम्बार रित्तो घरमा किन गएका भन्लान् भनेर झुक्याएर आउनुपर्दथ्यो। आउँदा कहिले ढिँडो, कहिले कोदाको पुवा र कहिले भटमास-चिउरा लिएर आउनुहुन्थ्यो। उहाँलाई बसेर कुराकानी गर्ने फुर्सद हुँदैनथ्यो। धेरैजसो समय म एक्लै हुन्थेँ।
आठौँ दिन बेलुकी शिक्षक लालजंग आत्तिँदै एक्लै आउनुभयो। मैले खोइ त किसान साथीहरू भनेर सोधेँ। उहाँले जवाफ नै नदिई उभिएर एक स्वरमा भन्न थाल्नुभयो, ‘तपाईंले बर्बाद गर्नुभएछ, तपाईंले झ्यालबाट हेर्नुभएछ, तल्लो घरकी भाउजूले देख्नुभएछ, बर्बाद भयो। अब गाउँमा हल्ला हुन्छ, पुलिस र सामन्तहरूले थाहा पाउँछन् त्यसकारण अब हामी तपाईंलाई कुनै पनि हालतमा गाउँमा राख्न सक्दैनौँ। तपाईं भोलि नै गइहाल्नुहोस् नत्र तपाईंलाई पनि राम्रो हुँदैन, हामीहरूलाई राम्रो हुँदैन।’
मैले सम्झाउन खोजेँ, तर उहाँले कुनै हालतमा मलाई गाउँबाट पठाउने कुरामा अड्डी कस्नुभयो। मैले हिजोअस्ति कुराकानी गरेका किसानहरूको घरमा बस्ने प्रस्ताव राखेँ, उहाँले त्यो पनि अस्वीकार गर्नुभयो। अरू कुनै सेल्टरमा लैजान अनुरोध गरेँ, त्यो पनि मान्नुभएन।
म संकटमा परेँ। यी सबै कुरा म कमरेड बोहरालाई भन्न पनि सक्दिनथेँ। त्यहाँ मेरो कुनै सम्पर्क सम्बन्ध पनि थिएन। गाउँमा टिक्न नसकेर फर्केको कार्यकर्ताको सूचीमा आफूलाई दर्ज गर्न पनि म तयार थिइनँ। मैले शिक्षक लालजंगलाई फेरि सम्झाउन खोजेँ। उहाँले झर्केर ‘तपाईं भोलि बिहान कुनै हालतमा यो गाउँ छोडेर जानुपर्छ’ भन्दै कुराकानी अन्त्य गर्न चाहनुभयो। ‘भोलि बिहान सबेरै म आउँछु, तपाईंलाई तलसम्म पुर्याउन’ भन्दै बाहिर निस्कनुभयो।
त्यो रात म सुतिनँ। अब के गर्ने? पिस्करमा ६ महिनाभित्र केही न केही गरेर देखाउने कमरेड बोहोरासँगको प्रतिबद्धता स्मरण गरेँ। भेटेका किसानहरूलाई सम्झना गरेँ। तर, उनीहरूमध्ये कसैको घर र नामसम्म पनि मलाई थाहा थिएन। रातभरि अनेकौँ तरंग चल्यो। मैले कुनै हालतमा गाउँबाट नफर्कने दृढ अठोट गरेँ।

कृषि तालिम सत्रका क्रममा किसानहरूको समूह। तस्बिर स्रोत : जगतबहादुर थामी संग्रह। सौजन्य : मनोज बोहरा
बिहान ३ बजे नै लालजंग आउनुभयो। मैले उहाँलाई भनेँ, ‘म यो गाउँ र जिल्लाको जिम्मा लिएर आएको मान्छे, म गाउँमा टिक्न नसकेर फर्कन चाहन्नँ, त्यसैले म तपाईसँग एउटा सहयोग चाहन्छु, मलाई गाउँको एउटा गरिब किसानसँग भेट गराइदिनुहोस् जसको सामन्तसँग सम्पर्क सम्बन्ध नहोस्, उनलाई यो मान्छे गरिबका लागि केही गर्न हाम्रो गाउँमा आएको भनिदिनुहोस र मलाई त्यहीँ छोडेर फर्कनुहोस्, त्यसपछि जे गर्नुपर्छ, मै गरुँला।’ एक/डेढ घण्टाको छलफलपछि लालजंग मलाई गरिब किसानको घरमा लगिदिन तयार हुनुभयो। तर, उहाँले केही सर्त राख्नुभयो। केही गरी पक्राउ परे यो गाउँमा उहाँले ल्याएको नभन्ने र फेरि उहाँकाो घरमा नआउने। मैले सो सर्त स्वीकार गर्ने वाचा गरेँ।
लालजंगले झिसमिसेमै मलाई पिस्करको टोपा डाँडामुनि गैराटोलको पृथ्वीमान थामी दाइको घरमा लैजानुभयो। उनको घरमा खरको छाप्रो थियो। तला पनि थिएन। एउटा बाख्राको पाठो र एउटा पोथी कुखुरा र तीन वटा चल्ला त्यही घरको कुनामा थिए। त्यहीँ ४२ वर्षकी अधबैँसे दिदी काली थामी र पृथ्वीमान नै त्यो घरको सिंगो परिवार थियो।
२८ वर्षका पृथ्वीमानको विवाह भएको रहेनछ। जग्गाजमिनका नाममा चार माना मकैको बीउ लाग्ने बारी रहेछ। आफ्नो बारीको अन्नले तीन महिना पनि खान नपुग्ने रहेछ। पृथ्वीमानले दिनभरि चोया काटेर भकारी बुने पनि त्यतिखेर गाउँमा भकारीको मूल्य १५ रुपैयाँ मात्र दिने रहेछन्। दिदी गाउँमा पाएसम्म खेतबारीमा काम गर्नुहुँदो रहेछ। कहाँ पाइन्थ्यो र गाउँमा सधैँ काम, त्यसैले त्यो परिवारको जीवन अत्यन्त कष्टपूर्ण रहेछ। उज्यालो भइसकेकाले मलाई त्यहीँ छोडेर लालजंग सर जानुभयो।
मैले पृथ्वीमान दाइ र दिदीलाई ‘म तपाईंहरूजस्ता गरिबका लागि सुखका दिन ल्याउन घर छोडेर हिँडेको भन्दै सबै गरिब-दु:खीलाई कुरा बुझाएर संगठित गरी यो काम गर्न सकिन्छ भनेर विश्वास दिलाएँ। दिदीले हामीसँग खानेकुरा केही छैन, के खानुहुन्छ भन्नुहुन्थ्यो। म तपाईंहरूले जे खानुहुन्छ त्यही खान्छु भनेँ। लामो कुराकानीपछि उहाँहरू मलाई आफ्नो घरमा राख्न तयार हुनुभयो।
घरभित्र एउटा कुनामा पीठो पिँध्ने जाँतो, बीचमा अँगेनो र त्यसमाथि सारङ झुन्ड्याइएको र अँगेनोपछि करिब चार फिटको भाग छुट्याएर एउटा भकारीको बार लगाइएको रहेछ। त्यो उहाँहरूको भण्डार रहेछ। भित्र एउटा घ्याम्पो, सानो काठको सन्दुस र एउटा काठको फल्याक पनि बिछ्याइएको रहेछ। मलाई त्यहीँ लुकाएर राख्ने सल्लाह भयो।
मैले एक महिनासम्म त्यहि छाप्रोमा वसेर उहाँहरुकै नातेदारहरुलाई वोलाएर कुराकानी गर्दै गाउँमा सम्पर्क विस्तार गरे र अरु सेल्टर पनि निर्माण भयो। पिस्करमा चेतना उठाउने काममा सबैभन्दा पहिला लालबहादुर थामी र जगतबहादुर थामी दुई जनाले बढी मेहनत लगाउनु भएको थियो। नपढेका र बाहिरी संसारबाट पर भएका पिस्कर बासीहरू त्यसमा पनि थामीहरुका प्रशासनिक, न्यायिक तथा बिकास निर्माणका कुरामा जनताको पक्षमा खुलमखुला पौठेजोरी खेल्ने प्रधानपन्च छत्रबहादुर बोहराको पनि कम महत्व थिएन्।
वर्ग संघर्ष समाजको वर्गीय शोषण, उत्पीडन र दमनको कारण हुँदो रहेछ। जुन समाजमा ज्यादा दमन र उत्पीडन हुन्छ, त्यही समाज छिटो उठ्दो रहेछ। ९ महिनामै एक झिल्को आगोले जंगलमा डढेलो लगाउन सक्छ भन्ने कुरा चरितार्थ भयो। २०३५ सालको हिउंद देखि नै पिस्करका किसानहरुले सामन्तहरुको थिचोमिचो र शोषण अत्याचारका विरुद्ध सामाजिक इज्जत प्रतिष्ठा र कृषि मजदुरहरुको ज्याला वृद्धिको निम्ति लडाकु संघर्ष चलाएका थिए। वर्षौदेखि वर्गिय शोषण चर्को व्याज लगाउने वतिया प्रथाको विरोध गर्ने, चक्रवर्ति व्याज लगाएर वनाएका तमसुकहरु च्यात्ने, सामन्तको कोदो धान वाली कव्जा गरी गरिव किसानहरुमा वितरण गर्ने आन्दोलन चलाएका थिए। ती संघर्षहरुमा परिवारका सवै नवजान युवा युवति वृद्ध केटाकेटी पिठ्युमा नानी वोकेका महिलाहरु समेत सहभागि भएका थिए। दमन र गिरफ्तार गर्न आएका सशस्त्र प्रहरीहरुसंग शान्तिपूर्ण प्रतिवाद गरेर आफनो अगुवा नेताहरुलाई जोगाउन करिव ३०० किसानले सामुहिक गिरफ्तारी दिएर पिस्करबाट दुई घण्टा पर धुस्कुन सम्म गएको थिए ।
पछि प्रमुख जिल्ला अधिकारी आफैं घोडा चढेर आई ती मध्येबाट ६ जना किसानहरु धन वहादुर थामी, साइला थामी, हर्कमान थामी, जगत बहादुर थामी, मान बहादुर थामी, माइला थामीलाई पक्रेर सदरमुकाम चौतारा पुर्याए र ६ महिनासम्म चौतारा जेलमा राखी कडा यातना दिएका थिए र ७० जवान किसानलाई वारेन्ट काटि महिनौंसम्म जंगल जंगलमा लुक्न पर्ने वाध्यता गराएका थिए। जंगल वढारमा वस्न वाध्य परिएका किसानको पिडा निकै दर्दनाक थियो।
पिस्करका किसानहरुको यो विरतापूर्ण आन्दोलन वारे नेकपा (माले) को मुखपत्र मुक्ति मोर्चाले २०३५ साल विशेष महत्व साथ छापेको हुनाले त्यो आन्दोलन धेरै जिल्लाका किसानलाई प्रेरित गर्ने घटनाको रुपमा चर्चित थियो।लामो समयदेखि निरंकुश पंचायती तानाशाही शासनको बिरुद्धमा लड्दै भूमिगत भएका कमरेड अमृत बोहराको कारणबाट पनि पिस्कर गाउँ कडा निगरानीमा थियो र त्यस आन्दोलनमा भएको दमनले पिस्करमा केहि समय सिथिलता आए पनि पिस्करका किसानहरु जनसांस्कृतिक कार्यक्रम मार्फत सामन्ती शोषण, वर्गिय उत्पीडनका कुरालाई गाउँ गाउँमा चेतनाको लहर चलाउने अभियानमा लागे ।छाडा र अस्लिल संस्कृतिको विरोधमा जनवादी गिति कार्यक्रम गर्ने टोली वनाए र यसमा महिला पुरुषहरु क्रान्तिकारी जोश र उत्साहका साथ अगाडि बढेका थिए।
मिरा थामी, आइतमाया थामी, जगत बहादुर थामी, चिन बहादुर थामी, चतुरमान थामी, चन माया थामी लगायतको राम्रो संगित टोलिले चोकटी, धुस्कुन, टेकनपुर, फापर चौर, राम्चे, पलाती, बारबिसे आदी ठाउंमा गिति कार्यक्रम गरि ती ठाउंमा समेत सांस्कृतिक टोलीहरु निर्माण गरेका थिए । जिल्लाको पश्चिमी भेगमा पर्ने मेलम्चीमा समेत गएर गिति कार्यक्रम तथा नाटक प्रदर्शन गर्ने काम गरेका थिए । यसरी उनीहरु जिल्लाकै कम्युनिष्ट आन्दोलन अगाडी बढाउने काममा प्रेरणाका स्रोत वनेका थिए । जिल्लाको अन्य भेगमा राजनीतिक जागरण ल्याउने काममा कमरेड जगत बहादुर बोहरा र कमरेड मेघनाथ पौडेलको भूमिका महत्वपूर्ण थियो्र
१८ वैशाख २०४०मा बार्ह्रबिसे सुनकोशी शारदा माविमा भएको अनेरास्ववियुको जिल्ला सम्मेलनमा पंचायती शासकहरुले गोली प्रहार गरेका थिए त्यसमा विद्यार्थी र न्यायप्रेमी जनता सुरक्षाको लागि गरिएको प्रतिरोधी संघर्षमा पिस्करका किसानहरुले साहस पूर्वक अगुवाई गरे ।पिस्करका किसान अगुवा लाल बहादुर थामी र साइला थामीले गोली खान पर्यो भने थुप्रै किसानहरु घाइते भए। यस घटनाले पिस्करका किसानहरुले जिल्लाव्यापी रुपमा आफ्नो छविलाई अझ उच्च बनाए। मसिनो ढंगबाट ब्यहाहारिक भएर जनतासँग भिझ्न सक्ने कमरेड अष्टलक्ष्मी शाक्यले सांगठनिक जिम्मेवारी लिइ पिस्कर आउनु भयो।उहाँको बसाइले पिस्कर भेगका किसानहरुका साथै खास गरेर महिलालाई थप उर्जाशिल बनाएको थियो।
यसरी पिस्करका अल्पसंख्यक गरिव किसानहरु जिल्लाको कम्युनिष्ट आन्दोलन अगुवाको रुपमा अगाडी आए। सवै काम भूमिगत ढंगले भएकाले प्रतिकृयावादीहरुले न त्यहाका अगुवा किसान नेताहरुलाई चिन्थ्ये न किसानको शक्ति कै आंकलन गर्न सक्थे। उनीहरुलाई पिस्कर एउटा आतंकमात्र भएको थियो। त्यसैले उनीहरु कुनै पनि मौका छोपेर पिस्करबाट उर्लिरहेको किसान आन्दोलनको आगोलाई जिल्लाव्यापी रुपमा प्रेरित गरिरहेको तत्कालिन नेकपा (माले) को जनताप्रतिको आस्था र विश्वासलाई वन्दुक र गोलीको माध्यमबाट चकनाचुर पार्न चाहन्थे।
यसका लागि उनीहरु अघिल्लो कालखण्डामा पंचायतीहरुलाई हाका हाकी हांक दिंदै हिंडन कमरेड वोहोराका खाजीलाई अझ तेज पारेका थिए । हामीजस्ता भूमिगत व्यक्तिहरुबारे उनीहरुलाई नाउं निसाना नै थाहा थिएन । न त त्यतिखेरको आन्दोलनको अगुवाई गर्ने लालबहादुर थामी, मिरा थामी, पूर्ण थामी, जगत बहादुर थामी, शुक्रमान थामी, तिलमान, वीरबहादुर थामी, पूर्णमाया थामी, चतुरमान थामी, मेघनाथ पौडेल, राम कार्की तथा मानबहादुर थामी आदीको नाम नै थाहा थियो उनीहरुलाई। किसानको पक्षमा कानुनी रुपमा वकालत गर्ने छत्रबहादुर बोहरालाई मात्र आँखाको तारो बनाएका थिए ।

सिन्धुपाल्चोक पिस्करस्थित थामी संग्रहालयमा राखिएको सहीद वीरबहादुर थामीको सालिक। तस्बिर सौजन्य : मनोज बोहरा
अत्यत प्रतिक्रियावादीहरूले षड्यन्त्र रची छोडे ०४० साल माघे संक्रान्तीका दिन। मलाई ती कुरा संझदा अहिले पनि आक्रोस पैदा हुन्छ। परम्परागत चाडलाई राजतन्त्र समर्थीत निरंकुश शासकहरूका विरुद्ध जन चेतना जगाउने माध्यमको रुपमा तत्कालिन नेकपा (माले) को जिल्ला कमिटीकै निर्णयमा पिस्कर भेगका किसानहरूले जन सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए। आफनो प्रेरणाको स्रोतको रुपमा रहेका पिस्करमै गिति कार्यक्रम हुने भए पछि सहभागिताको लागि चोकटी, धुस्कुन, कर्थली, राम्चे, पलाती, तौथली, टेकनपुर लगायत गाउंका किसानहरू पनि आफना आफना गिति नाच र प्रहसन लिएर कार्यक्रमलाई व्यापकता दिने भए।
आर्थिक अवस्था ज्यादै नाजुक भए पनि मनभरी कमरेड माया वोकर पिस्करका किसानहरू आफनो गाउँमा आउने पाहुनाहरूलाई त्यो रात खुवाउने र बस्नका लागि बारीको पाटोभरि सोत्तरहरू ओछ्याउने आदी काममा उत्साहका साथ लागे। खाजाको लागी घर घरमा मकै, भटमास, सकरखण्ड, तरुल, पिंडालु जम्मा गरे। करिव दुई हजार मानिसलाई पुग्ने खानेकुरा जनताले आफु खुसी दिएका थिए।
३० पुस २०४० राती ८ बजे नै कार्यक्रम शुरु भएर ३ बजे सकिएको थियो। पिस्कर र सवै गाउंका किसानहरूले गित, नाच प्रहसन र वेला वेलामा शोषण अन्याय अत्याचारको विरुद्धमा भाषण गर्ने कार्यक्रम भयो। कार्यक्रम अत्यन्त रोचक जनताको मनछुने खालको थियो र पंचायती प्रतिक्रियावादीहरूका चम्चे र दलालहरूले कार्यक्रम वारे दुइ चार दिन अघि नै आफनो केन्द्रमा नाइकेहरूलाई खवर गरि सकेका रहेछन् ।
उनीहरूले पिस्करमा तत्कालीन नेकपा (माले) को राष्ट्रिय कार्यक्रम हुने हुनाले अमृत बोहरालगायत सबै केन्द्रीय नेता आउने राष्ट्रिय कार्यक्रमको रूपमा चित्रित गरेका रहेछन्। तर केन्द्रबाट कोही आउने कार्यक्रम थिएन। उनीहरूले दमनको लागि डिएसपी मोहन बहादुर पाण्डेको नेतृत्वमा चार जना इन्स्पेक्टर सहित ५०० सशस्त्र कमाण्डो टोली केन्द्रबाट सोझै पठाए छन् । गोली हान्ने सम्मका आदेश रहेछ। तत्कालिन नेकपा (माले) का सवै नेतालाई एक चियानमा मारि दिएपछि आफ्नो निरंकुश शासन लम्बिन सक्ने सम्झेर होला उनीहरू एक दिन अघि नै बाह्रबिसे आएर बेलुकी बाह्रबिसेबाट पिस्कर गाउँमा जान उकालो लागेका रहेछन्। यी सवै कुरा हामीलाई थाहा पत्तै भएन।
८ वजे शुरु भएको औपचारिक कार्यक्रम ३ वजे नै सकिएको थियो। अझैं गाउन नाच्न धित नमरेका साथीहरू मञ्चमा नै भएकोले मैनटल मञ्चमा नै बलिरहेको थियो। गाउँ गाउँबाट आएका साथीहरूलाई विदाइ गर्ने क्रम चलेको थियो। जिल्लाकै भूमिगत कमरेड तारा पन्थलाई पनि मैले विदा गरि सकेको थिएं। पार्टी कामका वारेमा थप कुराकानी गर्ने म उहांलाई भेट्न पछि पछि कुदेको थिए। तर मैले उहांलाई भेटन भन्दा पहिले नै गाउंको मुखमै मेरो प्रहरी टोलीसंग जम्का भेट भयो ।
मलाई उनीहरूले नियन्त्रणमा लिएर केर कार गर्न लागे। साथमा गाउँको दलाल पनि रहेछ। सुरुमै नेता को हो? तँ को होस्? के–के भैरहेछ? आदि सोधे। मैले आफु बारबिसे, कर्थलिको शिक्षक भन्ने परिचय दिए तर उनीहरूले पत्याएनन र उनिहरूले भने नेता को चिनेको छस् जवाफमा छैन भने । एकजना मोटो मानिसले शोषक सामन्ती मास्नुपर्छ भन्ने भाषण गरेको थियो।
उनीहरू मलाई अगाडी लगाएर कार्यक्रम स्थलतिर लागे, अध्यारो भएकोले पुलिसहरूको आँखा छलेर मैले बाटोमा आफुसँग भएको केहि कागजपत्र र मार्कर कलमलाई सिस्नोको झ्याङ्गमा फाल्न भ्याएँ र म ढुक्क भएँ। तर उनीहरूलाई सँगैको दलालले यो भूमिगत मान्छे हुन सक्ने बताइसकेका थिए। त्यसैले म माथि कडा निग्रानी गरेका थिए।
कार्यक्रम स्थलभन्दा केहि नजिक हामीलाई करिब बाह्रजना जति प्रहरीको निगरानी नीमा राखियो। मेरो साथी तारा पन्त लगायत केहि गाउँलेलाई पनि समातेर ल्याएको रहेछ। त्यतिबेला पुलिसहरू बारीको पाटोमा लाइनबद्ध भए। पुलिस हाकिमले निर्देशन दियो-अहिले मंच बाहिरकालाई केहि नगर्ने तर मंचभित्रका सबैलाई झिरिप पार्ने, एकजना पनि नबाचोस्।
हामी बसेको ठाउंबाट कार्यक्रम स्थल राम्ररी नै देखिन्थ्यो। निर्धारित कार्यक्रम सकिए पनि, साथीहरू आफ्ना आफ्ना फर्मासमा गीत र नाच गरिरहेका थिए। प्रहरी टोली हिडेको केहि बेर भैसकेको थियो। त्यति नै बेला भुड़े डीएसपी आए। ठुलो पेटको कारण उसलाई उकालो चढ्न गाह्रो भएर पछि परेको हुनुपर्छ।उसले प्रहरीहरूलाई गोली ठोक्न आएकाहरू किन यहाँ भन्यो। म नजिकै भएकोले , ‘ए केटा, बाटो देखेको छस?’ भनेर सोध्यो। मैले ‘देखेको छु भनें।
उसलाई हामीबारे केहि थाहा थिएन। म उठिहालें, ‘सर, अगाडी हिड्नुस भनेर म पछि लागें। अरु पुलिस र पक्राउ परेका साथीहरू अलि पछि परे। थोरै हिड्दा नै, मैले भाग्ने मौका खोजेर दुई कान्ला माथि उक्लिहालें। साले चोर भाग्यो भनेर गालि गर्दा गर्दै दुई मिनेटमै उता मंचमा गोली चलेपछि सबै दौडेर त्यतै गए। यसरी म भागेको दुई मिनेटमै गोली चल्यो। म भाग्न सफल भएँ।
आक्रमणकारी प्रहरीले पहिलै मंचको मैनटूल फुटाएर सबैतिर अन्धकार बनाएर निहत्य जनता माथि अन्धधुन्द गोली चलाए। त्यसै बखत पिस्करका जनताले सुरक्षार्थ राखेका घंगारुको एकाहाते लट्ठीहरू र ससाना ढुंगाहरूले गोली हान्ने प्रहरीहरूलाई प्रहार गर्न थाले।करिब आधा घण्टा दोहोरो भिडन्त भयो।त्यसले प्रहरीहरूलाई पनि तितरबितर पार्यो।अझै उज्ज्यालो भएको थिएन गोलीहरू चारैतिरबाट बर्सिरहेको थियो।
अब पुलिसका हाकिमहरूलाई आफ्नो गोली हो वा किसानहरूको गोली थाहा हुन नसकेपछि पिस्करका जनताले पनि गोली चलाए कि भन्ने डरले प्रहरी प्रमुखहरू उज्ज्यालो नहुँदै घाइतेलाई सँगै ल्याउने आदेश दिएर भागे।यसरी पुलिसहरू जाने क्रममा घाइते सहित इले थामीलाई घिसार्दै लैजाने क्रममा मरेको आशंकामा खोला नजिक झासले छोपेर गएछन। पेटमा गोली लागेका इलेलाई घिसार्दै लैजाँदा आन्द्राभुडी कान्लामा चुडिएर मृत्यु भएको रहेछ। वीरबहादुर थामी निधारमै गोली लागेर तत्काल वीरगति प्राप्त गर्नु भएको थियो।
गोली लागेका अन्य किसान नेताहरू जगतबहादुर बोहरा, पाल्कमाया थामी, श्रीमान तामांग, बेत्रागति पौडेल, नैन बहादुर पौडेल, राजु थामी, साङ डोल्मा, भीमबहादुर, मीन बहादुरलाई पक्राउ गरेर लागे। भोलीपल्ट प्रहरी गाउँमा आउन सकेन। १ माघमा श्रदान्जली सभा आयोजना भयो। शहिदहरूको सदिक्षा साकार पार्ने प्रण गरियो ।
निशस्त्र जनतालाई गोली हानेर मार्ने तत्कालीन सरकारले मुद्दा लगाउने कुनै बिषय नपाएपछि पिस्कर हत्याकाण्डको मुद्दा लगाएर जिल्लाको नेताहरू अरुण नेपाल, सरेश नेपाल, मेघनाथ पौडेल, सावित्री बोहरा, जगत बहादुर थामी, शिव कार्की, मानबहादुर थामी, राम प्रसाद रिसाल, नैन बहादुर पौडेल, प्रितम बहादुर, सुन बहादुर थामी, बिष्णु बहादुर बोहरा, राजु थामी, जनक शाक्य, कमल श्रेष्ठ आदि सैयौं नेता, कार्यकर्ता, पत्रकारहरूलाई पक्राउ गरी यातना दिई जेलमा हालियो।
– पौडेल नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य हुन्।