npl.977 Nepal News Stream

#ताजा अपडेट

Contents
KHASOKHAS logo KHASOKHAS

अमेरिकी पत्रकारको घरमा किन मार्यो एफबीआईले छापा ?

भवानी प्रसाद पाण्डे 54 minutes ago

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एक पत्रकारको घरमा छापा मारेको छ। यसै हप्ता ‘वासिङ्टन पोस्ट’ की पत्रकार हान्ना नाटान्सनको घरमा एफबीआईले छापा मारेको हो।

अधिकारीहरूका अनुसार, गोप्य सरकारी सूचना चुहाएको आरोप लागेका एक सरकारी ठेकेदारमाथिको अनुसन्धानका क्रममा यो छापा मारिएको हो।

अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, पेन्टागनका एक ठेकेदारबाट “गोप्य र गैरकानुनी रूपमा चुहाइएको सूचना प्राप्त गरी रिपोर्टिङ गरेको” आरोपमा पत्रकारको घर खानतलासी गरिएको बताउनुभएको छ। ती ठेकेदारलाई भने प्रहरीले पक्राउ गरिसकेको छ।

वासिङ्टन पोस्टले ती पत्रकार हान्ना नाटान्सन नै भएको पुष्टि गरेको छ। नाटान्सनले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले संघीय कर्मचारी संरचनामा गरेको ठूलो कटौती र पुनर्संरचनाबारे रिपोर्टिङ गर्दै आएकी थिइन्।

नाटान्सन भर्जिनियास्थित आफ्नै घरमा भएको बेला संघीय एजेन्टहरू त्यहाँ पुगेका थिए। एजेन्टहरूले उनको मोबाइल फोन, कार्यालय तथा व्यक्तिगत कम्प्युटर र एउटा ‘गार्मिन’ घडी जफत गरेका छन्। यद्यपि, नाटान्सन आफू यस अनुसन्धानको मुख्य लक्ष्य (Target) नभएको जानकारी पाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ।

एफबीआईको शपथपत्र अनुसार, सन् २००२ देखि सरकारी ठेक्कामा कार्यरत प्रणाली इन्जिनियर तथा सूचना प्रविधि विशेषज्ञ पेरेज-लुगोनेसले गोप्य गुप्तचर प्रतिवेदनहरूमा पहुँच बनाई ती कागजात प्रिन्ट गरेका थिए।

अदालतमा पेश गरिएको कागजातअनुसार, पेरेज-लुगोनेसको कार खानतलासी गर्दा उनको ‘लन्च बक्स’ भित्र गोप्य जानकारी फेला परेको थियो। तर, ती कागजातहरू उनले अरू कसैलाई वितरण गरे/नगरेकोबारे भने केही खुलाइएको छैन।

पेरेज-लुगोनेसविरुद्ध राष्ट्रिय सुरक्षासम्बन्धी गोप्य सूचना गैरकानुनी रूपमा राखेको अभियोग लगाइएको छ। उनी बिहीबार अदालतमा उपस्थित हुने कार्यक्रम छ।

महान्यायाधिवक्ता बोन्डीले ट्रम्प प्रशासनले “राष्ट्रको राष्ट्रिय सुरक्षा र देशको सेवामा समर्पित सुरक्षाकर्मीहरूको जीवन जोखिममा पार्ने गैरकानुनी सूचना चुहावट सहन नगर्ने” स्पष्ट पार्नुभएको छ। नाटान्सनको घरमा गरिएको यस छापाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका अभियन्ताहरूबीच भने गम्भीर चिन्ता पैदा गरेको छ।

KHASOKHAS logo KHASOKHAS

भेनेजुएलाद्वारा चार अमेरिकी बन्दी रिहा

भवानी प्रसाद पाण्डे 22 hours ago

भेनेजुएलामा थुनामा राखिएका कम्तीमा चार जना अमेरिकी नागरिकलाई त्यहाँको अन्तरिम सरकारले रिहा गरेको छ।

निकोलस मदुरो पदच्युत भएपछि अमेरिकी बन्दीहरूलाई सार्वजनिक रूपमा रिहा गरिएको यो पहिलो घटना हो। उपराष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको अन्तरिम सरकारले दर्जनौँ राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेको सन्दर्भमा यो कदम चालिएको हो।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताले भने, “भेनेजुएलामा थुनामा राखिएका अमेरिकीहरूको रिहाइलाई हामी स्वागत गर्छौँ। यो अन्तरिम अधिकारीहरूद्वारा सही दिशामा चालिएको एक महत्त्वपूर्ण कदम हो।”

विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार, रिहाइ प्रक्रियामा सहयोग गर्न मन्त्रालयको एउटा टोली भेनेजुएला पुगेको थियो। पछिल्ला महिनाहरूमा कम्तीमा पाँच जना अमेरिकी नागरिक भेनेजुएलामा पक्राउ परेका थिए। मदुरो सरकारले राजनीतिक दबाब सिर्जना गर्न अमेरिकी नागरिकहरूलाई बन्दी बनाउने लामो इतिहास कायम राखेको थियो।

ट्रम्प प्रशासनले भेनेजुएलामा रहेका सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न माग गर्दै आएको छ। प्रशासनका अनुसार अन्तरिम सरकारसँग सहकार्य गराउन अमेरिकासँग आर्थिक र सैन्य दबाब प्रयोग गर्ने क्षमता छ, र यो रिहाइ सोही मागहरूको एउटा हिस्सा हो।

गत साता भेनेजुएलाले विपक्षी राजनीतिज्ञहरूलाई रिहा गरेको थियो, जसलाई सरकारले “शान्ति खोज्ने प्रयास” का रूपमा व्याख्या गरेको छ। तर, रिहाइको गति अपेक्षाभन्दा निकै सुस्त भएको भन्दै सयौँ परिवार अझै आफ्ना प्रियजनको प्रतीक्षामा पीडित छन्।

मानवअधिकार संस्था ‘पेनल फोरम’ का अनुसार राजनीतिक कारणले स्वेच्छाचारी ढंगले थुनामा राखिएका ८०० भन्दा बढी व्यक्तिमध्ये सोमबार साँझसम्म ५६ जना मात्र रिहा भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाले “ठूलो स्तरमा राजनीतिक बन्दीहरू रिहा गर्ने प्रक्रिया सुरु गरिसकेको” बताएका छन्।

KHASOKHAS logo KHASOKHAS

अमेरिकाले आक्रमण गरे प्रतिरोध गर्ने इरानको चेतावनी

भवानी प्रसाद पाण्डे 23 hours ago

इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनलाई अमेरिकाले सहयोग गर्ने तयारी गरेको छ। पछिल्लो विरोध प्रदर्शनका क्रममा भएको दमनमा कम्तीमा २ हजार जनाको मृत्यु भएको तथ्य बाहिर आएपछि अमेरिकाले सहयोगको तयारी गरेको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनताका लागि सहयोग “आउँदैछ” भन्दै प्रतिबद्धता जनाएका छन्। अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी’ का अनुसार इरानमा इन्टरनेट पूर्णरूपमा बन्द गरिएको छ।

पछिल्ला १७ दिनमा कम्तीमा १,८५० प्रदर्शनकारी, सरकारसँग आबद्ध १३५ जना, कुनै समूहमा संलग्न नभएका ९ सर्वसाधारण र ९ बालबालिका मारिएका छन्। एक इरानी अधिकारीले करिब २,००० जनाको मृत्यु भएको स्वीकार गरे तापनि उनले यसको दोष प्रदर्शनकारीहरूमाथि नै थोपरेका छन्।

राष्ट्रपति ट्रम्प इरानसम्बन्धी बैठकमा सहभागी हुँदैछन्। उनले “वास्तविक मृतक संख्या” पत्ता लगाउने प्रतिबद्धता जनाएका छन्। ह्वाइट हाउस फर्किने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “हत्या निकै ठूलो स्तरमा भएको देखिन्छ, तर अहिले नै पूर्ण रूपमा निश्चित भन्न सकिने अवस्था छैन।” उनले थपे, “यथार्थ संख्या थाहा पाएपछि हामी सोहीअनुसारको कदम चाल्नेछौँ।”

यसअघि ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इरानी अधिकारीहरूले “ठूलो मूल्य चुकाउनु पर्ने” चेतावनी दिँदै जनतालाई “प्रदर्शन जारी राख्न” आग्रह गरेका थिए।

इरानी दमनको प्रतिक्रिया स्वरूप ट्रम्पले सैन्य तथा अन्य विकल्पहरूबारे विचार गरिरहेका छन्। यसअघि उनले इरानसँग व्यापार गर्ने कुनै पनि देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरिसकेका छन्।

इरानी मुद्राको अवमूल्यन र बढ्दो महँगीको विरोधमा सुरु भएको यो प्रदर्शन पछि राजनीतिक परिवर्तनको मागमा रूपान्तरण भएको हो। यसलाई सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा ठूलो चुनौतीका रूपमा हेरिएको छ।

अमेरिकी रक्षा अधिकारीहरूका अनुसार ट्रम्पलाई दूरगामी क्षेप्यास्त्र हमला, साइबर अपरेशन र मनोवैज्ञानिक अभियान लगायतका विकल्पहरूबारे जानकारी गराइएको छ। यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले इरान कूटनीतिका लागि खुला रहे पनि अमेरिकाले सैन्य विकल्प प्रयोग गरे त्यसको कडा जवाफ दिन तयार रहेको चेतावनी दिएका छन्।

Explore by Source or Category