npl.977 Nepal News Stream

#ताजा अपडेट

Contents
KHASOKHAS logo KHASOKHAS

आगामी दशैंमा बिहे गर्ने योजनामा थिए दिवस, इरानी ड्रोन आक्रमणमा परी दुबईमै अस्ताए 

रासस (RSS) 7 hours ago

घरको आर्थिक अवस्था सुधार्न ४ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए ।

गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए । देशमै रोजगारी नपाएपछि विदेशीएका उनले आगामी दशैँमा भने घर फर्केर विवाह गर्ने योजना सुनाएका थिए । श्रेष्ठ दम्पतीको पनि बुहारी भित्र्याउने सपना थियो । तर, त्यो सपना सदाका लागि अधुरो मात्रै भएन छोरानै गुमाएपछि अहिले निशब्द छन् उनीहरु ।

अघिल्लो दिन अर्थात् शनिबार साँझसम्म ‘भिडियो कल’ मा कुराकानी गरेको छोरा भोलिपल्टै सदाका लागि अस्ताउँलान् भन्ने बुबाआमालाई थाहा हुने कुरै भएन । तर आइतबार संयुक्त अरब इमिरेट्समा इरानको ड्रोन आक्रमणमा परी श्रेष्ठको निधन भयो ।

मृतक दिवसका काका प्रदीप श्रेष्ठका अनुसार दिवस मिडल इस्ट कम्पनीमार्फत सेक्युरिटी गार्डका रुपमा दुबई पुगेका थिए । “अस्तिको दिन बेलुकीमात्र घरपरिवारसँग भिडियोमा कुराकानी भएको रहेछ । त्यहाँको अवस्था सामान्य भए पनि आकाशमा मिसाइल पड्किरहेको छ भनेर बुबालाई भनेको थियो रे”, काका प्रदीपले भने, “त्यसपछि फोन सम्पर्क नभएको रहेछ । उसका साथीभाइसँग बुझ्दा भागदौड भएर मोबाइल हराएको र खुट्टामा चोट लागेको भन्ने खबर पाएका रहेछन् ।”

युएईस्थित नेपाली दूतावासबाट आज मात्रै छोराको मृत्यु भएको खबर औपचारिक रुपमा उनीहरुले प्राप्त गरे । दिवसको मृत्युको खबरले अहिले ठाँटी गाउँ शोकमा डुबेको छ । प्रदीप भन्छन्, “गाउँको युवा, सबैसँग मिल्ने, अत्यन्त इमान्दार, मिजासिलो थियो । उसको आमाबुबाको कोखै रित्तियो ।”

हाल गाउँमा बुबा चामबहादुर र दिवसका हजुरआमा छन् । आमा पवित्रा भने छोरी भेट्न काठमाडौँ गएको बोर्लाङका वडाध्यक्ष नारायण श्रेष्ठले बताए । “घरमा बेहाल छ । आमा र दिदी पनि यतै आउने कि बाबुको शव लिएर आउने भन्ने सल्लाह हुँदैछ । उताबाट शव कहिले आउँछ त्यसको पनि ठेगान छैन”, उनले भने ।

अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार एक सूचना जारी गर्दै अबुधाबीस्थित जायद अन्तरराष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको पुष्टि गरिसकेको छ । उनको मृत्युबारे युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ ।

KHASOKHAS logo KHASOKHAS

इरानी सर्वोच्च नेता खामेनीमाथि आक्रमण: अमेरिकाले भेटायो, इजरायलले मेटायो

भवानी प्रसाद पाण्डे 21 hours ago

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी कसरी अमेरिका र इजरायलको सटिक निशानामा परे भन्ने चासो र चर्चा अहिले सर्वत्र चुलिएको छ।

यस घटनामा अमेरिकी र इजरायली गुप्तचर निकायहरूले कसरी मजबुत सहकार्य गरे होलान् भन्ने प्रश्न पनि उब्जिएको छ। प्राप्त विवरण अनुसार, महिनौँदेखि इजरायल र अमेरिकाका गुप्तचर निकायहरूबीच यस विषयमा घनिभूत सहकार्य चलिरहेको थियो।

यस अभियानमा अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी (सीआईए) समेत संलग्न थियो। उनीहरूले मिलेर खामेनीमाथि कडा निगरानी राखिरहेका थिए। उनीहरूको दैनिक तालिका, बसोबासको स्थान, भेटघाट गर्ने व्यक्तिहरू, सञ्चारका माध्यमहरू तथा आक्रमणको जोखिम भएमा सुरक्षित हुन सक्ने सम्भावित स्थानबारे सूक्ष्म अनुगमन भइरहेको थियो।

सर्वोच्च नेताका अतिरिक्त उनीहरूले इरानका वरिष्ठ राजनीतिक तथा सैन्य नेतृत्वमाथि पनि निगरानी गरिरहेका थिए। झन्डै चार दशकदेखि देशको नेतृत्व सम्हाल्दै आएका खामेनीसँग ती नेताहरू प्रायः एकै स्थानमा भेला हुँदैनथे।

तर, पछिल्ला केही दिनमा गुप्तचर निकायहरूले उनीहरू एकै ठाउँमा भेला हुने दुर्लभ अवसर पाए। खामेनीसहितका शीर्ष इरानी अधिकारीहरूले शनिबार बिहान तेहरानस्थित एउटै परिसरभित्रका फरक–फरक स्थानमा बैठक गर्ने योजना बनाएका थिए। उक्त परिसरमा सर्वोच्च नेताको कार्यालय, राष्ट्रपतिको कार्यालय तथा राष्ट्रिय सुरक्षा संयन्त्र अवस्थित छन्।

इजरायली स्रोतका अनुसार, सामान्यतया अत्यन्त सावधानी अपनाउने खामेनीले पछिल्ला दिनहरूमा दिनको समयमा आफू कम जोखिममा रहेको महसुस गरेका थिए। त्यसैले उनले आफ्नो सतर्कता केही हदसम्म घटाएका थिए। खामेनीको यही असावधानी अमेरिकी र इजरायली अधिकारीहरूका लागि एउटा ठुलो अवसर बन्यो।

सुरुमा रातिको समयमा आक्रमण गर्ने योजना बनाइएको भए तापनि पछि त्यसलाई परिवर्तन गरी दिनकै समयमा आक्रमण गर्ने निर्णय गरियो। इजरायली सेनाका प्रमुख इयाल जमिरले वायुसेनाका विमानचालक (पाइलट) हरूलाई पठाएको सन्देशमा भनिएको थियो, “शनिबार बिहान अपरेसन सुरु हुन्छ। तपाईँहरूलाई लक्ष्यमा प्रहार गर्ने अनुमति दिइएको छ। हामी इतिहास रच्दैछौँ।”

इजरायली समयअनुसार बिहान करिब ६ बजे इजरायली युद्धविमानहरूले परिसरभित्रका लक्ष्यहरूमा अत्यन्तै सटिक हतियार र लामो दूरीका क्षेप्यास्त्र प्रहार गरे। अमेरिकी र इजरायली समन्वयमा भएको यस आक्रमणमा परिसरभित्र रहेका तीनवटै स्थानलाई एकैसाथ निशाना बनाइएको थियो। आक्रमणको केही घण्टापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत खामेनीको मृत्यु भएको घोषणा गरे।

ट्रम्पले लेखेका थिए, “उनी हाम्रो गुप्तचर र उच्च प्रविधियुक्त अनुगमन प्रणालीबाट उम्कन सकेनन्। इजरायलसँगको निकट सहकार्यमा गरिएको यस कारबाहीका सामु उनी वा उनीसँगै मारिएका अन्य नेताहरू निरीह बने।”

यद्यपि, एकै स्थानमा यति धेरै वरिष्ठ अधिकारीहरू किन भेला भए भन्ने विषय अझै प्रस्ट भइसकेको छैन। उक्त बैठकमा रक्षामन्त्री अजीज नासिरजादेह, सैन्य परिषद्का प्रमुख अली शामखानी, गुप्तचर उपमन्त्री मोहम्मद शिराजी, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स का प्रमुख मोहम्मद पाकपुर तथा एयरोस्पेस बलका कमान्डर सेय्यद माजिद मौसावी लगायत सहभागी रहेको दाबी गरिएको छ।

विश्लेषकहरूका अनुसार, यस घटनाले पछिल्ला महिनाहरूमा इजरायल र अमेरिकाले इरानभित्र गहिरो गुप्तचर सञ्जाल विस्तार गरेको तथ्यलाई उजागर गरेको छ। इजरायलले यसअघि पनि इरानी सैन्य तथा परमाणु कार्यक्रमसँग सम्बन्धित उच्च अधिकारीहरूलाई लक्षित गरी कारबाही गर्दै आएको थियो, तर यसपटक सिधै सर्वोच्च नेतामाथि नै प्रहार गरियो।

यस अभियानको तयारी केही सातादेखि संयुक्त रूपमा भइरहेको बताइएको छ। क्रिसमसपछिको साता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाको फ्लोरिडास्थित मार-ए-लागो निवासमा ट्रम्पसँग भेट गरी इरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम अघि बढाइरहेको र परमाणु क्षमता पुनः सक्रिय बनाउन खोजिरहेको जानकारी दिएका थिए।

त्यसपछि इरानभित्र व्यापक सडक प्रदर्शन चर्किएको थियो, जसलाई सरकारले कडा दमन गर्‍यो। यही पृष्ठभूमिको बीचमा संयुक्त सैन्य कारबाहीको योजनालाई तीव्र पारिएको थियो।

यस घटनापछि मध्यपूर्वको अवस्था थप अनिश्चित र तनावपूर्ण बनेको छ। आगामी दिनमा इरानको प्रतिक्रिया कस्तो हुन्छ र क्षेत्रीय स्थिरतामा यसले कस्तो प्रभाव पार्छ भन्ने विषय अहिले विश्व समुदायको चासोको केन्द्र बनेको छ।

KHASOKHAS logo KHASOKHAS

अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

भवानी प्रसाद पाण्डे 21 hours ago

इरानी हमलामा परी तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। शनिबारदेखि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा ठुलो क्षति भएको पुष्टि भएको यो पहिलो पटक हो।

अमेरिकी सेनाका अनुसार अन्य पाँच सैनिक “गम्भीर रूपमा घाइते” भएका छन् भने केही सैनिक सामान्य घाइते भई पुनः ड्युटीमा फर्किएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रुथ सोसल’मार्फत एक भिडियो सन्देश जारी गर्दै अमेरिकी सैनिकको मृत्युको बदला लिने चेतावनी दिएका छन्। उनले इरानी शासनमाथि “सबैभन्दा कडा प्रहार” गर्ने उद्घोष समेत गरे।

ट्रम्पले अमेरिका केवल आफ्नो वर्तमान सुरक्षाका लागि मात्र नभई, आउने सन्ततिको भविष्य सुनिश्चित गर्न विशाल सैन्य अभियान सञ्चालन गरिरहेको बताएका छन्। उनका अनुसार यो “स्वतन्त्र जनताको कर्तव्य र जिम्मेवारी” हो।

उनले थपेका छन्, “यी कदमहरू सही र आवश्यक छन्, ताकि अमेरिकी जनताले कहिल्यै पनि परमाणु हतियारयुक्त उग्र तथा रक्तपिपासु आतङ्ककारी शासनको सामना गर्न नपरोस्।”

यसैबीच, बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै बेलायतले अमेरिकी सेनालाई आफ्ना सैन्य अड्डाबाट रक्षात्मक कारबाही गर्न अनुमति दिने निर्णय गरेको जानकारी दिएका छन्।

स्टार्मरले भनेका छन्, “खतरालाई पूर्ण रूपमा रोक्ने एक मात्र उपाय भनेको क्षेप्यास्त्रहरूलाई तिनकै भण्डारण वा प्रक्षेपण स्थलमै नष्ट गर्नु हो।”

उनका अनुसार अमेरिकाले “विशेष र सीमित रक्षात्मक उद्देश्यका लागि बेलायती सैन्य अड्डा प्रयोग गर्न अनुमति मागेको” थियो।

अमेरिका र इजरायलले शनिबारदेखि इरानमाथि सुरु गरेको संयुक्त सैन्य आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित उच्च अधिकारीहरू मारिएको दाबी गरिएको छ।

KHASOKHAS logo KHASOKHAS

इरानको विद्यालयमा क्षेप्यास्त्र आक्रमण: मृतकको संख्या १५३ पुग्यो, अमेरिकाद्वारा अनुसन्धान भइरहेको जानकारी

भवानी प्रसाद पाण्डे 22 hours ago

इरानको एक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या १५३ नाघेको छ। दक्षिणी इरानमा अवस्थित एउटा बालिका विद्यालयमा भएको उक्त आक्रमणमा कम्तीमा १५३ जनाको ज्यान गएको इरानी अधिकारीहरूले बताएका छन्। मृतकहरूमा अधिकांश बालबालिका रहेका छन्।

इरानले यस आक्रमणका लागि अमेरिका र इजरायललाई दोष दिएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले घटनाबारे प्राप्त सूचनाको जाँच भइरहेको जनाएको छ। यता इजरायली सेनाले भने सो क्षेत्रमा आफ्नो कुनै पनि सैन्य कारबाही नभएको दाबी गरेको छ।

उक्त बालिका विद्यालय मिनाब सहरमा अवस्थित छ, जुन ‘इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) को सैन्य अड्डा नजिकै पर्दछ। सो अड्डा यसअघि पनि आक्रमणको निसानामा पर्दै आएको थियो।

इरानी रेडक्रसका अनुसार शनिबारदेखि इरानभर भएका हवाई आक्रमणमा कम्तीमा २०१ जनाको मृत्यु भएको छ भने ७४७ जना घाइते भएका छन्। इरानका राष्ट्रपति मसउद पेजेशकियानले यस घटनालाई “बर्बर कार्य” र “आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको अर्को कालो अध्याय” भन्दै कडा शब्दमा निन्दा गरेका छन्।

अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले अनाहक हुने क्षति न्यून गर्न आवश्यक सबै सावधानी अपनाइने बताएका छन्। घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा भवनबाट धुवाँ निस्किरहेको, वरपर भीड जम्मा भएको र मानिसहरू त्रासका साथ चिच्याइरहेको देख्न र सुन्न सकिन्छ।

यद्यपि, मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि गर्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई कठिनाइ भइरहेको छ। इरानमा भिसा प्रतिबन्धका कारण प्रत्यक्ष रिपोर्टिङ सीमित हुने गरेको छ। यस घटनाप्रति इरानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।

अमेरिका र इजरायलले शनिबार इरानका विभिन्न सहरहरूमा लगातार हवाई आक्रमण गरेका थिए र आइतबार पनि आक्रमण जारी रहेको बताइएको छ। हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी तथा उनका वरिष्ठ कमाण्डरहरूको समेत मृत्यु भएको अपुष्ट खबरहरू सार्वजनिक भएका छन्।

Explore by Source or Category