npl.977 Nepal News Stream

#ज्ञानेन्द्र विवश

Saral patrika logo Saral patrika

शीतल सम्झना बोकेर शीतका थोपाहरू

Saral Patrika 11 hours ago

दिनको पाइतो बिहानको ‘मौसम’ र ‘मुड’ बाट प्रारम्भ हुन्छ। हिउँदे यामको चिसो तापक्रममा मन पनि हिउँ जस्तै जमिरहेको हुन्छ। यद्यपि शीतलहरले जमिन सेताम्मे भए पनि र हिमपातले लेक कक्रक्क भए पनि मनले ऊर्जा मन पराउँछ। मनले अल्छी होइन, उत्साह उमार्छ। शीतल सम्झना बोकेर शीतका थोपाहरू मेरो बिहानी प्रहरलाई निद्रामै झक्झक्याउन आउँछन्। चुपचाप म तिनको आमन्त्रण सहर्ष स्वीकार्दै मुसुमुसु मुस्कानमा मौसमको ‘च्यालेन्ज’ सँग भिड्न तम्तयार हुन्छु।

आज सखारै एउटा अर्को शुभ दिन। बढ्दो चिसोको तापक्रममा पनि शीतल, सुन्दर अनि सुमधुर सम्झनाका अनेक–अनेक क्षणहरू बोकेर आँखै सामुन्ने मुसुक्क मुस्कानले स्वागत गर्दै आत्मीय सद्भावको कामना गरिरहेछ। बहँदै गरेको हावा र लाग्दै गरेको हुस्सुका हैरानीहरूमा पनि एक पल आनन्दको मिठास पस्किरहेछ। दृश्यका अनेक अनुभूति बाँडिरहेछ! दुःखलाई पनि खुसीले चुमिरहेछ।

शीतल सम्झनाहरू बोकेर शीतका स–साना थोपाहरू नवीनतम् सौन्दर्यको बीजारोपण गर्छन्। ती मेरो मनको क्यानभासमा चित्रित हुँदै जान्छन्। तिनले विगत लामो कालखण्डलाई बौराउँदै वर्तमानसँग गाँस्छन्। म ती विस्मृत सम्झनाहरूको बलेसीमा बसेर शीतका थोपाहरूको क्षणिक जीवन–लीला नियाल्छु। हठात् शीतल सम्झनाहरूले मनभित्रै खुसीले रोमाञ्चित हुन्छु।

चिसो बिहानको सेतो ओढारजस्तो हुस्सुमा बिस्तारै मस्तिष्कको झ्यालबाट बाहिर हेर्दा जीवनको एउटा अद्भुत दृश्य बुनिँदै जान्छ। ती स–साना हिउँका थोपाहरू ओठमै मुस्कान भर्दै आत्मीय अनुभूतिहरू सुमधुर सङ्गीतजस्तै गुञ्जिन थाल्छन्। यो क्षण, जहाँ हावाले मस्तिष्कलाई चिसो स्पर्श गरेर न्यानो भावनाको कथा सुनाउँछ, एक पलका लागि सबै दुःखका छायाहरू पन्छिएर आनन्दको प्रकाशले उज्यालो हुन थाल्छ। शीतलहरको चिसोपन एकछिनलाई गायब हुन्छ। हिमपातको ठण्डी पनि परै भागेर जान्छ।

जीवन सधैँ यस्तै अस्थिरतामा बाँधिएको छ। कहिले उष्ण, कहिले शीतल, कहिले उज्यालो त कहिले हुस्सु। यस शीतल बिहानले मलाई सिकाएको छ– दुःख र सुखका छालहरूमाझ पनि खुसीसाथ बाँच्न सिक्नुपर्छ। हुस्सु मात्र हाम्रो यात्रा होइन; यसका पर्खालबीच पनि मधुर सम्झनाहरूको फूल फुल्न सक्छ।

मुस्कान, त्यो सधैँको साथी, यति अनमोल छ कि दुःखले ढाक्न खोजे पनि यसको न्यानो झल्को हराउन दिँदैन। आँखैअगाडि मुस्काउँदै गरेको प्रकृतिले मलाई बताइरहेको हुन्छ– जीवनभित्रका हरेक स–साना दुःखहरूलाई आत्मसात् गर। त्यहाँ अनमोल खुसी मिल्छ। साना र सामान्य क्षणहरू पनि जीवनका अनमोल पल हुन्छन्।

न हुस्सु दिगो छ, न त चिसो। स्थायित्व भनेको केवल ती सुमधुर क्षण हुन्, जसले हामीलाई दुःखको घडीमा पनि थाम्छन्। चोटको पीडामा पनि सान्त्वना प्रदान गर्छन्। मौसमको बदलिँदो याममा पनि मुकाबिला गरेर आफूलाई समयानुकूल राख्छन्। त्यही जीवन्त जीवनको लय हो।

शीतल हावाको यो बहावसँगै म आफ्ना गहिरा भावनाहरूलाई प्रकृतिसँग बाँड्दै छु। हरेक पल, हरेक दृश्यले मलाई जीवनप्रति थप आशा जगाइरहेछ। दुःखको एक–एक झिल्को खुसीले ओगट्दै छ। अनि हृदयभित्रको आनन्दले मलाई बाँच्ने उत्साह थप्दै छ। यो क्षण आफैँमा एउटा कविता हो– शीतल, शान्त, सुन्दर र सुमधुर! एउटा चित्र हो– अनेक रङहरूको सुन्दर सन्तुलनमा संरचित। एउटा कथा हो– जीवनका सारा कैरनहरूका नालीबेली खोतलिएर लेखिएको।

कलिला पातमाथि रातभरि चिसा–चिसा शीतका थोपाहरू पर्छन्। यति हुँदा पनि तिनले सहन सिकेका छन्, धैर्य गर्न जानेका छन्। भिजेका पातहरू बिहानीको कलिलो घाममा सुकाउँछन्। प्रतीक्षाको फल मीठो हुन्छ भन्ने कुरा तिनले बुझेका छन्। लाग्छ, प्रकृतिलाई कसैले सिकाउनै पर्दैन। बरु हामी जति सिकाए पनि सिक्न नसक्ने बुद्धु भइरहेका छौँ।

हिउँदे जाडोको सिरेटोले चिलिरहेको समयको एक बिहानी। आकाशमा पूर्वतिर रातो झुल्को देखिन थालेको छ। प्रकृतिले बिस्तारै निद्राबाट आँखा उघार्दै छ। चिसो बतासले आफ्नो अस्तित्वको आभास गराउँदै गर्दा जीवनभरिका हरिया पातमा शीतका थोपाहरू टल्किएका छन्। ती थोपाहरूजस्तै निर्दोष, स्वच्छ र पारदर्शी कुनै पनि मानिसको भावना हुँदैन होला।

शीतका यी थोपाहरू प्रकृतिको आँसुजस्तै लाग्छन्। जीवनका विभिन्न अनुभूतिहरूझैँ ती थोपाहरू अनिश्चित छन्। कहिले पातमा स्थिर, कहिले ढल्किएर माटोमा समाहित। कलिला पातको हरियो चोलामा उनीहरूको उपस्थिति मानौँ पृथ्वीमा आउने पहिलो जीवनको उत्सव हो। यी थोपाहरूले पातलाई सजाएर झन् आकर्षक बनाएका छन्, मानौँ कुनै चेलीको गलामा सजिएको सुनको गहना हो।

बिहानीको सुनौलो किरणले ती थोपाहरूलाई झन् चम्काउँछ। त्यही थोपाभित्र समग्र सृष्टि प्रतिबिम्बित हुन्छ। वास्तवमा शीतका थोपाहरू जीवनको अनित्यताको प्रतीक हुन्। ती केही समयपछि तातो सूर्यको स्पर्शले बिलाएर जान्छन्। तर ती आफ्नो अस्तित्वले क्षणभर भए पनि प्रकृतिलाई सुन्दर बनाउँछन्।

यी थोपाहरूले हाम्रो जीवनलाई गहिरो शिक्षा दिन्छन्। कुनै पनि चिज स्थायी छैन। सानोतिनो प्रयासले पनि क्षणभरका लागि संसारलाई सुन्दर बनाउन सकिन्छ। पातमाथि देखिने शीतका थोपाहरू हाम्रो ताजा सपनाजस्तै हुन्, जसलाई समयको तातोले पखालेर बगाउँछ। तसर्थ, यी शीतका थोपाहरूले हामीलाई धेरै कुरा सिकाउँछन्। आफ्नो छोटो समयको अस्तित्वलाई पनि अर्थपूर्ण बनाउन प्रेरित गरिरहन्छन्। समयलाई चिन्न र समयमै काम सकिहाल्न प्रेरित गर्छन्। अल्छीलाई चटक्कै छोडिहाल्न भन्छन् र उत्साहलाई साथमा लिएर फड्को मारिहाल्न लगाउँछन्।

कलिला पात र तिनका माथि चिसा शीतका थोपाहरूलाई हेरिरहँदा मेरो मनमा सृष्टिको अपूर्व सौन्दर्यप्रति सम्मान जाग्छ। जीवन र प्रकृतिलाई यत्तिकै रमाएर हेर्ने, बुझ्ने र महसुस गर्ने क्षणलाई म आफ्नो भाग्य ठान्छु। पातमाथिका ती थोपाहरू सायद यही कुरा भन्न चाहन्छन्– ‘जति छोटो भए पनि, आफ्नो अस्तित्वलाई उज्यालो बनाऊ, अरूको जीवनमा केही योगदान गरौँ।’

सेताम्मे तुषारो र शीतको चिसो बिहान, जब सूर्यको पहिलो किरणले धरतीलाई छुन आउँछ, त्यतिबेला बोटबिरुवाका पात र फूलमा झुन्डिएका शीतका थोपा झल्किन्छन्। ती थोपाहरूमा एउटा अद्भुत जीवन्तता देखिन्छ– नभनिएका भावना र नसमेटिएका कथा बोकेर। कुनै गीतको गुञ्जनझैँ ती शीतका थोपा फूलका तरेलीहरूमा अल्झिएका हुन्छन्।

प्रकृतिको यो क्षणीय दृश्यले अनेक अर्थहरू दिन्छ। शीतका थोपाहरूले एउटा प्रतीक झल्काउँछन्– जीवन सौन्दर्य र क्षणभङ्गुरता! ती थोपाहरूले हामीलाई सम्झाउँछन्– जीवन पनि यस्तै क्षणहरूको सँगालो हो। यसलाई हृदयले महसुस गर्नुपर्छ। ती थोपाहरू बिहानको शीतल हावासँग खेल्छन्, कहिलेकाहीँ जमिनमा खस्छन्। फूलका तरेलीहरू मुस्कुराइरहन्छन्, जतिबेला ती थोपाहरूले आफूलाई समर्पित गर्छन्।

फूलका तरेलीहरू जीवनको स्थायित्वका प्रतीक हुन्। ती तरेलीहरूमा शीतका थोपाहरू बसेका बेला फूलले आफ्नो सौन्दर्य झनै फैलाउँछ। त्यो फैलावटमा जीवनका निर्दोष सपनाहरू तैरिन्छन्। तिनले विराट प्राकृतिक वैभवको शक्तिशाली स्वरूप दर्शन गराउँछन्।

म मेरा आँखाका परेलीहरूमा तिनलाई सजाएर मनको क्यानभासमा आकृतिबद्ध गर्न अग्रसर हुन्छु। त्यतिबेला मैले देखेका पातमाथिका मोती विन्दुजस्तै शीतका थोपा गायब हुन्छन्। तैपनि म प्रकृतिको यो लीलामा सम्बन्धको मिठास महसुस गरिरहन्छु। यो सम्बन्ध गहिरो प्रेमको जस्तै लाग्छ, जहाँ एकले अर्कोको सान्निध्यमा पूर्णता पाउँछ। फूलका तरेलीहरू जीवनका ती सुन्दर क्षण बन्छन्, जहाँ म मेरा विगत यादहरूमा बाँचिरहन्छु।

जब सूर्यको किरणले ती थोपाहरूलाई चुम्छ, उनीहरू अदृश्य बन्छन्। यो प्रक्रियाले हामीलाई जीवनको निस्सारता सम्झाउँछ। हरेक कुराको अन्त्य निश्चित छ, तर त्यो अन्त्य पनि सुन्दर हुन सक्छ। ती शीतका थोपा हाम्रा सपना र अपेक्षाजस्तै हुन्, जो समयसँगै हराउँछन्। फूलका तरेलीहरू भने ती सपनाहरूका स्मृति हुन्, जो सधैँ रहिरहन्छन्।

झारपात, बाटो, छाना र पर्खालमा तुषारोको प्रहारले किञ्चित् पनि नरोई रातभर जाग्राम बसेझैँ लाग्छ। पातमा परेका शीतका थोपा र जमिनमाथिका तुषारो चिसोका उस्तै उपस्थिति हुन्। तुषारोले सेताम्मे पातलो हिउँ परेको झल्को दिन्छन् भने शीतका थोपाहरू पातबाट चुहिँदा चाँदीजस्तै रङ–सौन्दर्यमा प्रतिबिम्बित हुन्छन्। यी दुवैको आगमन र दृश्य–रमण नौलो लाग्छ। चिसोपनको आभास गराउँदै मानिस र प्रकृतिलाई परिवर्तनको सङ्केत गर्छन्।

यो प्राकृतिक दृश्यले जीवनलाई हेर्ने हाम्रो दृष्टिकोणलाई थप गहिराइ दिन्छ। जीवन क्षणभङ्गुर छ, तर प्रत्येक क्षणमा सौन्दर्य छ। शीतका थोपा र फूलका तरेलीहरूले यही पाठ सिकाउँछन्। जीवनका यस्ता पलहरूमा हामी आफैँलाई हराउन सक्नुपर्छ। त्यहाँ प्रकृतिको सौन्दर्यले आत्मालाई सन्तोष दिन्छ।

शीतका थोपाहरू, फूलका तरेलीहरू र प्रकृतिको यो अद्भुत नाटकले हामीलाई जीवनको प्रत्येक पललाई स्वीकार्न सिकाउँछ। क्षणिक पलहरूमा पनि अनन्तको अनुभूति गर्न उक्साउँछ। फूलका परेलीहरूमा र पातका तरेलीहरूमा बसेका शीतका थोपाझैँ जीवनका पलहरूमा रमाउन जान्नु नै साँचो आनन्द हो भन्ने पाठ पढाउँछ। म त्यही पाठ प्रकृतिको काखमा कक्षा लिएझैँ शीतल सम्झना लिएर शीतका थोपामाथि तैरिरहेको हुन्छु।

Explore by Source or Category