npl.977 Nepal News Stream

#खेलकुद

Contents
नेपाल न्युज logo नेपाल न्युज

कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य-सचिवका लागि १० जनाको योग्यताक्रम सार्वजनिक

नेपालन्युज 10 hours ago

सुर्खेत। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिव सिफारिस प्रक्रियाअन्तर्गत प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक भएको छ।

सामाजिक विकास मन्त्रालयले ९ मंसिर २०८२ मा परिषद्को सदस्य-सचिवको पदपूर्तिका लागि खुला दरखास्त आह्वान गरेको थियो। दरखास्तबमोजिम आवेदन दिएका उम्मेदवारहरूमध्ये १० जना प्रारम्भिक छनोटमा परेका छन्।

मन्त्रालयका अनुसार सदस्य-सचिव पदका लागि २१ जनाले आवेदन दिएका थिए। ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य-सचिव छनोटसम्बन्धी मापदण्ड‚ २०८२’ को दफा ७ बमोजिम उम्मेदवारहरूले स्वयं प्रमाणित गरी पेस गरेका शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी कागजातहरूको मूल्याङ्कनपछि सूची सार्वजनिक गरिएको हो। सोही मूल्याङ्कनका आधारमा ऐनको दफा ७ को उपदफा (७) अनुसार प्रारम्भिक योग्यताक्रमको सूची तयार गरिएको मन्त्रालयले जनाएको छ।

वर्णानुक्रमअनुसार प्रारम्भिक योग्यताक्रममा पर्ने उम्मेदवारमा जुम्लाका चेतनराज गिरी‚ दैलेखका जगतप्रसाद रिजाल‚ सुर्खेतका दीपक हमाल र दिलीप बस्याल छन्। यस्तै कालीकोटका पंखबहादुर मल्ल‚ दैलेखका पवनकुमार थापा‚ सुर्खेतका प्रभात थापा‚ प्रमोद हमाल र रवीन्द्र चन्द तथा दैलेखकी हेमा खड्काको नाम सार्वजनिक भएको छ।

प्रारम्भिक योग्यताक्रममा समावेश भएका उम्मेदवारहरूको अन्तर्वार्ता ३ माघमा तोकिएको छ।

६ पुस २०७७ मा नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव विश्वामित्र सञ्ज्यालको चारवर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो। प्रदेश सरकारले परिषद् रिक्त भएको एक वर्षपछि सदस्य-सचिव नियुक्तिको प्रक्रिया अघि बढाएको हो।

नेपाल न्युज logo नेपाल न्युज

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

नेपालन्युज 12 hours ago

काठमाडौं। सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर शीर्षस्थानमा रहन सफल भएका छन्। यससँगै उनले प्रतियोगितामा एकल अग्रता लिएका छन्।

हिमालयन चेस एकेडेमीको थापाथलीमा सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले चौथो दिन बुधबार द ब्रिटिस कलेजका सजल न्यौपानेलाई पराजित गर्दै शतप्रतिशत जित कायम राखेका हुन्। अभिक प्रतियोगितामा शीर्ष वरीयताका खेलाडी हुन्। यसअघि तीन खेल जितेका १६९७ रेटेड सजलले पहिलो हार बेहोरेका हुन्।

९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय रहेको हिमालयन च्यालेन्जर्समा पुष्पसदन स्कुलका लियोन महर्जनको यात्रामा पनि पूर्णविराम लागेको छ। उनले चौथो चरणमा आएर १६०६ रेटेड रोहित श्रेष्ठविरुद्ध हार बेहोरे। मातृभूमि स्कुलका प्रवीर केसी (१४४१) ले हार्दिक पन्त (१६०५) सँग बराबरी खेल्दै अंक बाँडे। अनरेटेड विमश लोहनीले अग्रता आचार्य (१४७४ रेटेड) सँगको खेल बराबरीमा टुंग्याए।

चौथो चरणमा उजिभानी कँडेलले अनमोल राई, सात्विकमान तुलाधरले निहाना श्रेष्ठ, शुभांग प्रधानले निवा राई, आशीर्वाद थापाले अरिज राई, अभिक रेग्मीले ईश्वर लामा, वियांका गौतमले विराज सरिया, नायुमा मगरले रियान श्रेष्ठ, रेयांश महर्जनले सूर्यप्रताप सिंह कार्की, रेयांश खनालले अरण्य तुलाधर, रेयांशु पौडेलले श्रेयांश सापकोटा र ओजस्वी श्रेष्ठले अभियान राईलाई पराजित गरे।

युवा खेलाडीको स्तरोन्नतिका लागि आयोजित हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ। चौथो चरणको खेल सकिँदा अभिक शाह चार जितसहित १२ अंक बनाएर शीर्षस्थानमा रहे। उनले पाँचौँ चरणमा सात्विकमानविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। सात्विकसहित रोहित, शुभांग, आशीर्वाद, लियोन र उजिभानीले समान तीन जितसँगै नौ अंक जोडेका छन्।

स्विस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ। कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस ४ माघसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ।

Kendrabindu logo Kendrabindu

सूर्य नेपाल इस्टर्न ओपन सुरू

इन्द्र कमल रोक्का 13 hours ago

धरान । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा छन्।

१८ होलको समाप्तीमा निरजले टंक बहादुर कार्की र बलभद्र राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३-अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् । १-अन्डर ६९ को स्कोरमा दुई पुर्व नम्बर एक गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटी तथा दुई एमेच्योर खेलाडी प्रकृत तामाङ र राहुल विश्वकर्मा संयुक्त रुपमा चौथो स्थानमा छन् ।

यस्तै, इभन-पार ७० को स्कोर बनाएका रवि खड्का, जयराम श्रेष्ठ र सुमन परियार पहिलो दिनको समाप्तीमा संयुक्त रुपमा आठौं स्थानमा रहेका छन् ।

धरान गल्फ क्लबमा डिफेन्डिङ च्याम्पियन निरजले सानदार सुरूवात गर्ने क्रममा दोस्रो होलमा बोगी प्रहार गरे। यसपछि भने तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डीको सफलतामा फ्रन्ट नाइन ३-अन्डर ३३ खेले । यसपछि १२औं, १३औं, १६औं र १८औं होलमा एक-एक सट बचाए। १५औं होलमा बोगी खेप्दै ब्याक नाइन ३-अन्डर ३१ मा सकाए ।

टंकले भने फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गर्ने क्रममा दोस्रो होलमा एक सेट खेर फाले। आठौं र नवौं होलमा लगातार दुई बर्डी प्रहार गरे। यसपछि १४औं र १८औं होलमा एक-एक सट बचाएका उनले ब्याक नाइन बोगीरहित २-अन्डर ३२ खेले ।

धरानका भेट्रान प्रो बलभद्रले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो र सातौं होलको बर्डीले २-अन्डर ३४ को नतिजा निकाले। १०औं होलमा बोगी प्रहार गर्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३३ मा सकाए ।

एमेच्योरतर्फ राहुल र प्रकृत १-अन्डर ६९ सहित संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । राम तामाङ १-ओभर ७१ सहित तेस्रो स्थानमा रहे ।

सूर्य नेपाल प्रालिको प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ।

प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । शीर्ष १८ स्थान सम्म रहने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा ह्यान्डिक्याप ५ वा सोभन्दा कम भएका २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका छन् ।

३६ होलको खेलपछि कट लागु हुनेछ। जसअनुसार शीर्ष १८ व्यावसायिक खेलाडी र सोहि कटमा पर्ने एमेच्योरहरू अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ । नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Kendrabindu logo Kendrabindu

राष्ट्रिय लिग फुटबलः चर्च ब्वाइज र भगवतीबीचको खेल बराबरीमा

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडौं । आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइज र श्री भगवती क्लबबीचको खेलमा १–१ गोल भएको हो ।

खेलमा सुरुआती अग्रता भने भगवतीले लियो । भगवतीका लागि हरिहर बूढामगरले गोल गरे । उनले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता लिए । त्यसपछि खेलको ६५औँ मिनेटमा यता चर्च ब्वइजका कप्तान एरिक विष्टले गोल गर्दै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाँडेका छन् ।

सोही मैदानमा आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबमाथि ३–१ गोलको जित निकाल्दै विजयी भयो । उक्त प्रतियोगितामा भोलि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ । उक्त खेल बिहान ११ बजे हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा लालीगुराँस एशोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

Explore by Source or Category