मिचेलको शतकमा न्युजिल्याण्डले भारतलाई हरायो
एजेन्सी – ड्यारिल मिचेलको अविजित १ सय ३१ रनको मद्दतमा न्युजिल्याण्डले भारतलाई ७ विकेटले हराउँदै ओडिआई सिरिज १-१ बराबरीमा ल्याएको छ। अब अन्तिम खेल निर्णायक हुनेछ।
आज राजकोटमा भएको खेलमा न्युजिल्याण्डले भारतले दिएको २ सय ८५ रनको लक्ष्य १५ बल बाँकी रहँदै ३ विकेट गुमाउँदै पूरा गर्यो।
पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनायो। भारतका लागि केएल राहुलले अविजित १ सय १२ रन बनाए। राहुलले ९२ बलमा ११ चौका र १ छक्का प्रहार गरे ।
एक समय भारत १ सय १८ रन बनाउँदा ४ विकेट गुमाएर दबाबमा थियो। त्यसपछि राहुलले इनिङ्स सम्हाल्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्याए।
ओपनर कप्तान शुभमन गिलले ५३ बलमा ९ चौका र १ छक्काका साथ ५६ रन बनाए । रविन्द्र जडेजाले २७, अर्का ओपनर रोहित शर्मा २४, विराट कोहलीले २३, नितिश कुमार रेड्डीले २० रन जोडे। न्युजिल्याण्डका क्रिस्टियन क्लार्कले ३ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले सुरुमै २ विकेट गुमाएको थियो। डेभन कन्वे १६ र हेन्री निकोल्स १० रनमा आउट भए। त्यसपछि ड्यारिल मिचेल र विल यंगले तेस्रो विकेटका लागि १ सय ६२ रनको साझेदारी गर्दै खेल न्युजिल्याण्डको पक्षमा पारेका थिए।
यंगले ९८ बलमा ७ चौकासहित ८७ रन बनाए भने मिचेल अन्तिमसम्म आउट भएनन्। उनले १ सय १७ बलमा ११ चौका र २ छक्कासहित १ सय ३१ रन बनाउँदै टोलीलाई सहज जित दिलाए। ग्लेन फिलिप्सले पनि अविजित ३२ रन जोडे।
न्युजिल्याण्डले ४७.३ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। भारतविरुद्ध भारतमै न्युजिल्याण्डको यो अहिलेसम्मकै सबैभन्दा ठूलो सफल रन पछ्याउँदै जित निकालेको हो। अब दुवै टोलीबीचको अन्तिम खेल इन्दौरमा आइतवार हुनेछ।
The post मिचेलको शतकमा न्युजिल्याण्डले भारतलाई हरायो first appeared on हाम्रो खेलकुद.