रंगिए कलाकार [तस्बिरहरू]
काठमाडौँ- रंगहरूको पर्व होली नेपाली कलाकारहरूले हर्षोल्लासका साथ मनाएका छन्। फागु पूर्णिमाकाे अवसरमा परिवार र आफन्तसँगै रङ दलेर होली मनाएको केही तस्बीर उनीहरूले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।
देशका पहाडी क्षेत्रमा आज परेकाे हाेलीमा अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, विपीन कार्की, महेश त्रिपाठी, अभिनेत्री दीपाश्री निरौला, झरना थापा, केकी अधिकारी, निशा अधिकारी, सुरक्षा पन्त, प्रियंका कार्की, सुहाना थापालगायत कलाकारले फोटो सार्वजनिक गरेका छन्।
कतिपय कलाकारले भने पुरानै फोटो पुनः अपलोड गरेका छन्। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन आयोगले होलीमा सांगीतिक कन्सर्ट नगर्न आग्रह गरेको थियो। त्यसैले प्राय: मानिसहरूले बाहिरभन्दा यस वर्ष घरपरिवारसँगै होली मनाइरहेका छन्। केही कलाकार चुनावी मैदानमै होमिएका छन्। जो होलीकै रंगमा घरदैलो अभियानमा छन्।
अभिनेत्री निशा अधिकारी काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेकी छन्। उनी गतिशील लोकतान्त्रिक पार्टीबाट चुनावमा होमिएकी हुन्। होलीको दिन बिहानै उनले अभिनेता राजेश हमालसँग रंग दलेर होली मनाएकी छन्। साथै उनी होली खेल्दै घरदैलो अभियानमा हिँडीरहेकी छन्।

अभिनेता विपिन कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग होली मनाएका छन्। चितवनमा उनीहरूले एक अर्कालाई रंग दलेर होली मनाएका हुन्।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले परिवारसँग होली मनाएकी छन्। परिवारसँगको तस्बिर फेसबुकमा राख्दै उनले लेखेकी छन्, ‘असत्यमाथि सत्यको जीत मनाउने चाड होली रे।’
कलाकार निर्मल शर्माले पुरानै फोटो राखेर फेसबुक राखेका छन्। उनले लेखेका छन्, ‘यसपाली पुरानो फोटोमै होली, छिट्टै युद्धविराम होस्।’

केकी अधिकारीले यसपटकको होली सबै नेपालीको लागि खास रहेको भन्दै फेसबुकमा फोटो राखेर सबैलाई शुभकामना दिएकी छन्। ३ दिनपछि देशको मुहार फेर्ने नयाँ आशा बोकेर मतदान गर्न तयार रहेको स्मरणसमेत गराएकी छन्।
मतदान गर्नुअघि आफ्ना सपना र बिदेशिनुपरेको बाध्यता, सहिदहरू, घरमा भएका हजुरबुबाआमाका निराशापनलाई सम्झिन आग्रह समेत गरेकी छन्। साथै उनले लेखेकी छन्, ‘असत्य माथि सत्यको जित, यो कुनै दन्त्य कथा र मिथकमा मात्र सिमित नहोस्। सुशासन र स्थिरता कायम हुन सकोस्।’ उनले लेखेकी छन्।

प्रियंका कार्कीले पनि परिवारसँग होली मनाएकी छन्। होली भनेको रंगमात्र नभएर सम्झनाहरू, प्रेम र पागल हाँसोको समिश्रण रहेको उनले बताएकी छन्। साथै उनले सुरक्षित रहेर आफन्तसँग होली खेल्न अनुरोध पनि गरेकी छन्।
हेरौं, होलीमा रंगिएका कलाकारका तस्बिरहरू





