npl.977 Nepal News Stream

#अन्तर्वार्ता

Contents
News of Nepal logo News of Nepal

सांस्कृतिक शहरको आवाज राष्ट्रिय एजेण्डा बनाउने मेरो संकल्प’ : राजेश शाक्य

न्युज अफ नेपाल 16 hours ago

काठमाडौं क्षेत्र नं. ८ का मतदातालाई नेकपा(एमालेका उम्मेदवार राजेश शाक्य भन्नेबित्तिक्कै एउटा परिचित, मिलनसार र काम गरेर देखाउने अनुहारको झल्को आउँछ । विगत २८ वर्षदेखि स्थानीय विकास, युवा उद्यम र शिक्षाका क्षेत्रमा होमिएका शाक्य राजनीतिलाई पेशा होइन, सेवा मान्ने व्यक्ति हुन्। वि.सं. २०३६ सालको विद्यार्थी आन्दोलनदेखि २०४२ को सत्याग्रह, २०४३ को स्थानीय निर्वाचन अभियान हुँदै २०४६ को जनआन्दोलनमा सक्रिय राजनीतिक प्रवेश गरेका शाक्य यसअघि २०७४ सालमा काठमाडौं क्षेत्र नं. ८ (१) बाट वाग्मती प्रदेशसभा सदस्य हुनुहुन्थ्यो। उम्मेदवार शाक्यसँग नेपाल समाचारपत्रका सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः

प्रतिनिधिसभामा तपाईंको उम्मेदवारी किन ?

म राजनीतिलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि भ¥याङ बनाउने मान्छे होइन। मेरो लागि राजनीति भनेको जन्मिएको र हुर्किएको परिवेशले दिएको संस्कार हो। सानैदेखि नेवाः गुथि, चस्वाँ युवा क्लब र लाखे आजु जिर्णोद्धारमा बितेका दिनहरूले मलाई जनताको पीरमा उभिन सिकायो। विगत २८ वर्षदेखि सामाजिक, सांस्कृतिक र भाषिक क्षेत्रमा गरेको सानो–ठूलो हरेक कामले म जनताको आवाजलाई संसदको बेन्चसम्म पुर्याउन चाहन्छु भन्ने सन्देश दिइरहेको छु। प्रदेशसभामा रहँदा अधुरा रहेका सपनाहरू अब संघीय संसदबाट पूर्णता दिन चाहन्छु।

काठमाडौं क्षेत्र नं – ८ का लागि तपाईंको मुख्य एजेण्डा के छ ?

मेरो एजेण्डा मोटोमोटी तीन शब्दमा भन्न चाहन्छु । पहिचान, पूर्वाधार, पुस्ता। काठमाडौं–८ लाई हामी सांस्कृतिक गन्तव्यको रूपमा विकास गर्नेछौं। हनुमानढोका, स्वयम्भू र इतुम्बहालजस्ता सम्पदालाई जोडेर पर्यटनमार्फत् स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने हो। तर, विकास भनेको केवल कंक्रिटको सहर होइन। नेपाल भाषा, रञ्जना लिपि र हाम्रो मौलिक संस्कृतिको संरक्षण बिनाको विकासले हामीलाई हाम्रो जरासँग जोड्न सक्दैन। यसैले भाषा र संस्कृतिलाई राष्ट्रिय समृद्धिसँग जोड्ने अठोट लिएको छु।

जनताले सुशासनको अपेक्षा गरिरहेका छन्। तपाईं निर्वाचित भएपछि के फरक गर्नुहुन्छ?

सुशासनको आधार नै जवाफदेहिता र पारदर्शिता हो। म सांसद् भएमा हरेक विकास योजनाको सार्वजनिक विवरण अनलाइन र वडास्तरमा सार्वजनिक गर्ने व्यवस्था मिलाउनेछु। नागरिक गुनासो सुन्न नियमित सार्वजनिक सुनुवाइ अनिवार्य गर्ने पहल गर्छु। बजेट विनियोजनदेखि कार्यान्वयनसम्म ‘ओपन ट्र्याकिङ सिस्टम’ लागू गर्नुपर्छ। ठेक्का प्रक्रिया पूर्ण रूपमा डिजिटल र प्रतिस्पर्धात्मक बनाउनुपर्छ। हरेक ठूला योजनामा नागरिक निगरानी समिति अनिवार्य हुनुपर्छ भन्ने मेरो धारणा छ।भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति अपनाइनुपर्छ। अनुसन्धान निकायलाई राजनीतिक दबाबबाट मुक्त राख्न कानुनी र संरचनागत सुधार आवश्यक छ। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ भन्ने अडान मेरो स्पष्ट छ।

संघीय संरचना प्रभावकारी हुन सकेको छैन भन्ने गुनासो छ, यसमा तपाईं के मत ?

अधिकारको स्पष्ट बाँडफाँट, स्रोतको न्यायोचित वितरण र तहबीच समन्वय बलियो बनाउनुपर्छ। संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपन हटाउन कानुनी स्पष्टता आवश्यक छ ।

तपाई प्रदेशसभा सदस्य हु“दा भाषा, संस्कृतिको विकासका लागि देखिने गरी मुख्य कामहरु के के हुन् ?

नेपाल भाषा र नेपाल संवतलाई प्रदेशको सरकारी कामकाजमा मान्यता दिलाउन विशेष भूमिका खेलेको थिएँ। यसले भाषा तथा संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिएको छ ।नेपालको मौलिक रञ्जना लिपिको संरक्षण तथा प्रवद्र्धनका लागि बागमती प्रदेश सरकारको पूर्वाधार विकास कोषबाट नेपाल लिपि गुथिलाई ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो। यी साना प्रयासहरूले हाम्रो पहिचान मेटिन दिएका छैनौं ।

पूर्वाधार विकासमा तपाईंको मुख्य उपलब्धि के मान्नुहुन्छ ?

मैले पूर्वाधार भनेको सडक र पुल मात्र होइन, जनजीवन सहज बनाउने माध्यम ठानेँ। टंकेश्वर र भिमसेनथान जोड्ने पुरानो पुल साँघुरो हुँदा हुने ट्राफिक जामले स्थानीय हैरान थिए। त्यहाँ नयाँ आर्कब्रिज निर्माण र विष्णुमती करिडोरको सडक विस्तारले समस्या धेरै हदसम्म समाधान गरेको छ। त्यस्तै, विष्णुमती लिङ्करोडमा ढलसहितको कालोपत्रे र हरित उद्यान निर्माणले वडा १२, १८, १९ र २० का बासिन्दाको दैनिकी सहज बनाएको छ। विकास देखिनुपर्छ, महसुस हुनुपर्छ भन्ने मेरो मान्यता छ।

तपाईंलाई धेरैले ‘काष्ठमण्डप बनाउने सांसद्’ भनेर चिन्छन्, यो उपाधिले तपाईंलाई कस्तो अनुभव गराउँछ ?

(हाँस्दै) यो उपाधि मेरो लागि गहना भन्दा पनि जिम्मेवारी हो। काठमाडौंको नै नाम ‘काष्ठ’ (काठ) बाट रहेको इतिहास छ। त्यो पहिचान २०७२ सालको भूकम्पले भत्काएको थियो। २०७४ को निर्वाचनमा मैले काष्ठमण्डप पुनःनिर्माणलाई पहिलो प्रतिबद्धता बनाएँ। तर, परिस्थितिले मलाई आफैं त्यसको अध्यक्ष बनायो। ७ वर्षको कठिन परिश्रम, ठेक्कामा १९ करोड अनुमान गरिएको काम ११ करोडमै सकेर देखाउनु, यो मेरो मात्र होइन, पूरै टोली र स्थानीयको सपना थियो। यो केवल एउटा संरचनाको पुनःनिर्माण मात्र होइन, हाम्रो सभ्यता र अस्तित्वको पुनःस्थापना हो।

हनुमानढोका र स्वयम्भूलाई जोड्ने योजना कति सम्भव छ?

हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूनाथ स्तुप बीच पैदलमार्ग विकास गर्ने स्पष्ट गुरुयोजना कार्यान्वयन गरिनेछ । यसले काठमाडौंलाई हिँड्ने सहर बनाउँदै पर्यटकमैत्री र वातावरणमैत्री सांस्कृतिक सहरको रूपमा विकास गर्नेछु ।

सम्पदा संरक्षणलाई रोजगारीसँग कसरी जोड्नुहुन्छ ?

हामीसँग १५ सय वर्षभन्दा पुराना दर्जनौं सम्पदा छन्, जसलाई पुनर्जीवित गरेर नयाँ पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । एउटा सम्पदाले दर्जनौं गाइड, हस्तकला कालिगढ होमस्टे सञ्चालक र अनुसन्धानकर्तालाई रोजगारी दिन सक्छ । मेरो सपना भनेको काठमाडौं–८ लाई यस्तो बनाउने, जहाँ युवाले जागिरका लागि विदेशिनु नपरोस्, बरु यहीँको संस्कृति र पर्यटनले उनीहरूलाई रोजगार बनाओस्।इतुम्बहाल र त्यहाँको संग्रहालयलाई सांस्कृतिक पर्यटनको केन्द्र बनाइनेछ। यसले स्थानीय व्यवसाय पुनर्जीवित गर्दै दिगो रोजगारी सिर्जना गर्नेछ।

युवामैत्री अर्थतन्त्रको स्पष्ट योजना के हो?

सीपका आधारमा सहुलियत ऋण, स्टार्टअप प्रवद्र्धन र साना उद्यममा लगानी—हाम्रो लक्ष्य स्पष्ट छ, जागिर खोज्ने होइन, जागिर सिर्जना गर्ने पुस्ता तयार गर्ने छौं । उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ। सीपमूलक शिक्षा, स्टार्टअप प्रवद्र्धन र साना–मझौला उद्योगलाई कर सहुलियत आवश्यक छ। देशमै अवसर सिर्जना भए पलायन स्वतः घट्छ।

बढ्दो महँगीले जनजीवन प्रभावित छ । यसको नियन्त्रणका लागि के गर्नुपर्ला ?

बजार अनुगमन कडा गर्नुपर्छ। कृषिमा आत्मनिर्भरता र आन्तरिक उत्पादन बढाउन दीर्घकालीन योजना आवश्यक छ। आयातमुखी अर्थतन्त्र घटाएर स्वदेशी उत्पादन प्रवद्र्धन गर्नु नै समाधान हो।

सहकारी पीडितको समस्या समाधान कसरी गर्नुहुन्छ ?

सहकारी पीडितको रकम फिर्ता सुनिश्चित गरिनेछ । घरजग्गाको बैंक मूल्यांकन समस्या समाधान गर्दै न्यायोचित प्रणाली लागू गरिनेछ ।

तपाईको निर्वाचन क्षेत्रको लागि थप योजनाहरु के के छन् ?

काठ संरचनामा आधारित घर निर्माणका लागि विशेष भवन संहिता लागू गरिनेछ। परम्परागत सीप संरक्षण गर्दै नेपाललाई अन्तर्राष्ट्रिय अध्ययन केन्द्रका रूपमा विकास गरिनेछ।भूमि आयोगमार्फत भूमि समस्या समाधान गरिनेछ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति अन्तर्गत कालिमाटी बजारमा १६% स्थानीय इक्विटी सुनिश्चित गर्न पहल गरिनेछ। महिला स्वास्थ्य शिक्षा, आर्थिक सहभागिता र नेतृत्व विकासमार्फत सशक्त समाज निर्माण गरिने छ।

यो निर्वाचनमा तपाईं नै किन जित्नुपर्छ?

मैले भाषणभन्दा कामलाई प्राथमिकता दिएको छु। काष्ठमण्डप पुनःनिर्माणजस्तो ऐतिहासिक जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै परिणाम देखाएको छु। सुशासन, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमै लागू गर्ने प्रतिबद्धता मेरो छ । सांस्कृतिक सम्पदा संरक्षणदेखि भूमि समस्या समाधान, स्थानीय अर्थतन्त्र सुदृढीकरण र महिला सशक्तीकरणसम्म स्पष्ट योजना र कार्यान्वयन क्षमता मसँग छ । त्यसैले निरन्तरता, स्थायित्व र परिणाममुखी नेतृत्वका लागि मतदाताले मलाई विश्वास गर्नुपर्छ भन्ने मेरो आग्रह छ।

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ ?

म साधारण परिवारमा हुर्केको, जनताकै बीचमा रमाउने मान्छे हुँ। मैले कहिल्यै ठूला–ठूला वाचा गरिनँ, तर जे गर्छु, पारदर्शी रूपमा गर्छु। काष्ठमण्डप बनाउँदा देखियो, प्रदेशसभामा भाषा र संस्कृतिको पक्षमा उभिँदा देखियो। अब संघीय संसदमा पुगेर काठमाडौं–८ लाई ‘समृद्ध संस्कृति र रोजगारीको नमुना क्षेत्र’ बनाउने अठोट छ । मेरो लागि राजनीति पद होइन, जनताको सेवा र परिवर्तनको बाटो हो। यस पटक पनि म तपाईंको आशीर्वाद र भरोसाको केन्द्रमा रहन चाहन्छु।

News of Nepal logo News of Nepal

काठमाडौँँ १ लाई नेपालकै व्यवस्थित, सुरक्षित र सुन्दर नमुना क्षेत्र बनाउँछु : मोहनराज रेग्मी

न्युज अफ नेपाल 21 hours ago

मोहनराज रेग्मी, नेकपा एमालेका काठमाडौँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुुनुहुन्छ । राजनीतिलाई सधैँ जनताको सेवामा लगाउनुपर्छ भन्ने मान्यता बोक्नु हुने रेग्मी व्यवसायमार्फत समाजसेवामा सक्रिय रहँदै आउनुभएको छ । उहाँले काठमाडौँँ १ लाई नेपालकै व्यवस्थित, सुरक्षित र सुन्दर नमुना क्षेत्र बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गर्नुभएका रेग्मीले पार्टीको केन्द्रीय लेखा आयोग सदस्यका रूपमा समेत जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । उहाँ राजनीति पेसा नभई सामाजिक सेवा भएको विश्वास राख्दै काठमाडौँँँ–१लाई व्यवस्थित, सुरक्षित र नमुना क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । काठमाडौँँको क्षेत्र नं १ मा पूर्वाधार सुधार, बाढी नियन्त्रण, सम्पदा संरक्षण, युवालाई प्रविधिमैत्री रोजगारी र सुशासनमार्फत समग्र मुलुकको समृद्धिमा योगदान पु¥याउने आफ्ना प्रमुख एजेण्डाहरु रहेको उहाँ बताउनुहुन्छ । चुनाबी एजेन्डा र प्रतिबद्धतामा केन्द्रित रही नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले उहाँसँग गरेको कुराकानीको सार संक्षेप:

तपाईँको संक्षिप्त परिचय दिनुहोस् न ?

म नेकपा एमालेको स्थापना कालदेखि नै सक्रिय रूपमा राजनीतिक गतिविधिमा संलग्न रहँदै आएको व्यक्ति हुँ । लामो समयदेखि पार्टी संगठनभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै आएको अनुभव छ । हाल म नेकपा एमालेको केन्द्रीय लेखा आयोगको सदस्यका रूपमा कार्यरत छु । ११औँ महाधिवेशनबाट समेत सदस्यको रूपमा निर्वाचित भई पार्टीप्रति आफ्नो दायित्व निर्वाह गर्दै आएको छु । संगठनात्मक अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण नेतृत्वलाई प्राथमिकता दिँदै निरन्तर पार्टी र जनताको हितमा काम गरिरहेको छु ।

तपाईँको राजनीतिक यात्रा कसरी सुरु भयो ?

मेरो राजनीतिक यात्रा २०४४ सालदेखि सुरु भएको हो । प्रारम्भमा पार्टीको भातृ संगठन स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मार्फत विद्यार्थी राजनीतिमा सक्रिय भएँ । त्यस क्रममा प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी हुँदै जिल्ला अध्यक्षसम्मको जिम्मेवारी सम्हाल्ने अवसर पाएँ । साथै, पेसागत जिल्ला कमिटी र उपत्यका प्रदेश कमिटीमा बसेर पनि काम गर्ने अनुभव संकलन गरेको छु । विद्यार्थी राजनीति र विभिन्न पेसा–व्यवसायसँग जोडिएर काम गर्दै संगठन विस्तार, नेतृत्व विकास र जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै मेरो राजनीतिक यात्रा अघि बढेको हो ।

काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिनु पछाडिको मुख्य प्रेरणा के हो ?

काठमाडौँँँ क्षेत्र नं. १ बाट उम्मेदवारी दिनुको मुख्य प्रेरणा स्थानीय प्रतिनिधित्वको आवश्यकतासँग जोडिएको छ । विगतमा यस क्षेत्रबाट स्थानीय स्तरकै नेतृत्व चयन हुन सकेको अवस्था थिएन । तर यसपटक स्थानीय तहबाटै विशेष प्रतिनिधिको रूपमा छनोट हुने अवसर प्राप्त भयो । स्थानीय तहको सिफारिस र पार्टी केन्द्रबाट प्राप्त विश्वास तथा टिकटका आधारमा मैले उम्मेदवारी दिएको हुँ । यसलाई मैले स्थानीय जनताको अपेक्षा पूरा गर्ने अवसर र जिम्मेवारीका रूपमा लिएको छु ।

तपाईँका प्रमुख एजेन्डा र प्राथमिकताहरू के–के हुन् ?

प्रतिनिधि सभा मूलतः कानुन निर्माण गर्ने सर्वोच्च थलो हो । त्यसैले आफ्नो भूगोल, आवश्यकता र जनताको वास्तविक समस्यालाई आधार मानेर प्रभावकारी र व्यावहारिक कानुन निर्माण गर्नु नै सांसदको प्रमुख दायित्व हो । संविधान र लोकतन्त्रको रक्षा तथा सुदृढीकरणलाई केन्द्रमा राखी समयानुकूल कानुन बनाउने प्रतिबद्धता मेरो प्राथमिकता हो । हामी देश निर्माणको जिम्मेवारी बोकेको राजनीतिक शक्ति भएकाले क्षति पुगेका तथा जीर्ण बनेका संरचनाको पुनर्निर्माण र सुदृढीकरणतर्फ विशेष ध्यान दिन आवश्यक छ । काठमाडौँँँ क्षेत्र नं. १ भित्र सिंहदरबारलगायत महत्वपूर्ण सरकारी संरचना रहेका कारण यो अत्यन्त संवेदनशील क्षेत्र हो । त्यसैले ती भवनहरूको संरक्षण, मर्मत–सम्भार र व्यवस्थापनको विषयलाई संसदमा प्राथमिकताका साथ उठाउनु नै मेरो प्रमुख एजेन्डा रहनेछ ।

काठमाडौँँ क्षेत्र नं. १ मा देखिएका मुख्य समस्या के–के हुन् ?

काठमाडौँँँ क्षेत्र नं. १ मा देखिएका प्रमुख समस्यामध्ये बाढीजन्य जोखिम एक महत्वपूर्ण समस्या हो । बाढीका कारण भौतिक संरचनामा क्षति पुगेको मात्र होइन, स्थानीय बासिन्दामा त्रास र असुरक्षाको भावना पनि सिर्जना भएको छ । त्यसैले दीर्घकालीन बाढी नियन्त्रण, जलनिकास व्यवस्थापन र जोखिम न्युनीकरणका योजनामा विशेष ध्यान दिन आवश्यक छ । यसका साथै, यस क्षेत्रमा रहेका सरकारी जग्गाको प्रभावकारी सदुपयोग हुन नसक्नु पनि अर्को चुनौती हो । केही खाली जग्गालाई व्यवस्थित रूपमा विकास गरी सुन्दर पार्क तथा हरित क्षेत्र निर्माण गर्न सकिन्छ । यस्ता स्थानलाई रमणीय र आकर्षक बनाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने वातावरण तयार गर्नु आवश्यक छ । योजनाबद्ध ढंगले पूर्वाधार र हरियाली प्रवद्र्धन गर्न सके यस क्षेत्रलाई सुन्दर, सुरक्षित र व्यवस्थित नमुना क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।

सडक, खानेपानी, ढल तथा ट्राफिक व्यवस्थापन जस्ता पूर्वाधार समस्यालाई कसरी समाधान गर्ने योजना छ ?

काठमाडौँँ क्षेत्र नं. १ मा सडक र ट्राफिक व्यवस्थापन अत्यन्त जटिल बन्दै गएको छ । विभिन्न आन्दोलन, भीडभाड र सवारी चापका कारण बारम्बार जामको समस्या देखिन्छ । त्यसैले यातायात व्यवस्थापनलाई व्यवस्थित, दीर्घकालीन र व्यावहारिक योजनासहित अघि बढाउन आवश्यक छ । सरकारी जग्गाको संरक्षण गर्दै सम्भव भएसम्म व्यवस्थित पार्किङ स्थल निर्माण गर्ने, केही खाली स्थानलाई पार्किङका रूपमा विकास गर्ने र ‘पार्क एन्ड वाक’ अवधारणालाई प्रोत्साहन गर्ने योजना प्रभावकारी हुन सक्छ। यसले सवारी चाप घटाउने र क्षेत्रलाई व्यवस्थित बनाउन सहयोग पु¥याउनेछ । खानेपानी र ढल व्यवस्थापन जस्ता आधारभूत पूर्वाधारका समस्या धेरै हदसम्म स्थानीय तहसँग समन्वय गरेर समाधान गर्न सकिने प्रकृतिका छन् । त्यसैले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै चरणबद्ध रूपमा सुधारका कार्यक्रम सञ्चालन गर्नुपर्छ । साना तर महत्वपूर्ण समस्यालाई समयमै सम्बोधन गर्न सके यस क्षेत्रलाई नमुना र व्यवस्थित क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । यस लक्ष्य प्राप्तिका लागि म निरन्तर पहल गर्नेछु ।

पार्टीको घोषणापत्र कार्यान्वयनका विषयमा तपाईँको धारणा के कस्ता छन् ?

पार्टीको घोषणापत्र व्यावहारिक र कार्यान्वयनयोग्य दस्तावेज हो भन्ने मेरो विश्वास छ । यसमा विशेषगरी नव पुस्तालाई लक्षित गर्दै १० जीबी निःशुल्क डाटा उपलब्ध गराउने, विद्यार्थीलाई विश्व प्रतिस्पर्धी बनाउने तथा युवालाई प्रविधिमैत्री बनाउने विषय समेटिएका छन् । महिलालाई उद्यमशीलतामा प्रोत्साहन गर्न २० लाख रुपैयाँसम्मको ब्याजमुक्त ऋणको अवधारणा र प्राविधिक शिक्षा हासिल गरेका विद्यार्थीलाई सहुलियत कर्जा दिने व्यवस्था पनि सकारात्मक कदम हुन् । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका प्रतिबद्धताहरू योजनाबद्ध रूपमा कार्यान्वयन गर्न सके पार्टीले गरेका वाचा पूरा गर्न सक्नेमा म विश्वस्त छु ।

अव्यवस्थित सहरीकरण र वातावरणीय प्रदूषण नियन्त्रणका लागि तपाईँको मु्ख्य दृष्टिकोण के छ ?

अव्यवस्थित सहरीकरण र बढ्दो प्रदूषण आजको गम्भीर चुनौती हो, जसमा विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा पनि स्पष्ट देखिन थालेको छ । त्यसैले योजनाबद्ध सहरी विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउन आवश्यक छ । विशेषगरी वागमती कोरिडोर आसपास बसोबास गर्ने समुदायलाई व्यवस्थित गर्दै हरियाली बगैँचा तथा खुला क्षेत्रको विकास गर्नुपर्छ । साथै, यस क्षेत्रमा रहेका सरकारी कार्यालय परिसरभित्रसमेत व्यापक वृक्षारोपण र हरित क्षेत्र विस्तार गर्न सके वातावरणीय सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान पुग्नेछ ।

ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा तपाईँको योजना के हो ?

नेपाल ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण देश हो, र काठमाडौँँँ विशेषगरी मन्दिर र सांस्कृतिक धरोहरले समृद्ध छ । मेरो क्षेत्रमा पनि भद्रकाली जस्ता महत्वपूर्ण स्थलहरू रहेका छन् । यी सम्पदाहरूको संरक्षणका लागि व्यवस्थित योजना बनाएर अतिक्रमण रोक्ने, सबैको पहुँच सुनिश्चित गर्ने र प्राविधिक सहयोगमार्फत संरक्षण तथा व्यवस्थापन अघि बढाउने मेरो प्राथमिक लक्ष्य हुनेछ ।

स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय कसरी प्रभावकारी बनाउनुहुन्छ ?

स्थानीय तह, प्रदेश र संघीय सरकारबीच प्रभावकारी समन्वयका लागि तीनै तहको जिम्मेवारी स्पष्ट परिभाषित गर्नु आवश्यक छ । जनतालाई प्रत्येक तहले गर्ने कामबारे जानकारी गराउने र सबै निकायसँग सहकार्य गर्दै योजनाबद्ध रूपमा अघि बढाउने मेरो प्राथमिकता हुनेछ । यसरी मात्र नीतिगत निर्णय प्रभावकारी र कार्यान्वयन योग्य बन्न सक्छ ।

युवालाई रोजगारी सिर्जना गर्ने तपाईँको ठोस कार्यक्रम के हो ?

युवालाई रोजगारी सिर्जना गर्न प्रविधिमैत्री बनाउनु आवश्यक छ । पार्टीको घोषणापत्रअनुसार युवालाई आईटी र डिजिटल सीपमा सशक्त बनाउने, उद्योगसँग जोड्ने र विश्व बजारसँग प्रतिस्पर्धी बनाउने योजना मेरो प्राथमिकता हो । यसले दक्ष जनशक्तिको विकाससँगै दीर्घकालीन रोजगारी सिर्जना गर्नेछ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधारका लागि तपाईँको नीति के छ ?

शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर सुधारका लागि म ठोस र योजनाबद्ध कदम चाल्ने योजना बनाएको छु । स्थानीय सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूको व्यवस्थापन सुधार्न सरकारसँग समन्वय गर्नेछु । साथै, महानगरले प्रदान गरिरहेको घरघरमा स्वास्थ्य सेवा अझ प्रभावकारी र नवीन तरिकाले सञ्चालन गरिनेछ ।

साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्न के योजना छ ?

साना र मझौला व्यवसाय प्रवद्र्धन गर्न ठुला उद्योग मात्र होइन, यी व्यवसायलाई पनि प्राथमिकता दिन आवश्यक छ । उचित वातावरण सिर्जना गरी साना व्यवसायीलाई सहयोग, प्रोत्साहन र दक्ष श्रमिकसँग जोड्ने माध्यमबाट काम गर्ने वातावरण बनाउने मेरो योजना छ ।

पर्यटन प्रवद्र्धनबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन के पहल गर्नुहुन्छ ?

स्थानीय अर्थतन्त्र मजबुत बनाउन पर्यटन र जलस्रोत क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै, पर्यटकको सुरक्षा सुनिश्चित गर्ने र स्रोतको व्यवस्थित व्यवस्थापन गर्ने मेरो मुख्य पहल हुनेछ । यसले दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

वर्तमान कर प्रणालीबारे तपाईँको धारणा के छ ?

वर्तमान कर प्रणालीमा केही कानुनी दुविधा र जटिलता देखिन्छ । संविधान जारी भएपछि पुराना कानुन हटाउँदै नयाँ कानुन बनाइरहेका छौँ । कर तिर्नु हाम्रो दायित्व मात्र नभई सामाजिक सुरक्षा सुनिश्चित गर्ने माध्यम हो भन्ने जनचेतना जगाउन आवश्यक छ । रजिस्ट्रेसन र अन्य करसम्बन्धी कार्यलाई सहज र एकै ढाँचामा व्यवस्थापन गर्न मेरो अनुभव प्रयोग गरी प्रभावकारी कदम चाल्ने योजना छ ।

महिला, दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायको सशक्तीकरणका लागि तपाईँको रणनीति के हो ?

महिला, दलित, जनजाति र अन्य सीमान्तकृत समुदायको सशक्तीकरण हाम्रो प्राथमिकता हो । पार्टीको घोषणापत्र र संविधानअनुसार उनीहरूको समान अधिकार सुनिश्चित गर्दै कानुनी एकीकरण र पहुँचको व्यवस्था गर्न सक्रिय भूमिका निर्वाह गर्ने मेरो योजना छ ।

लैङ्गिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न कस्ता कानुनी वा नीतिगत सुधार आवश्यक ठान्नुहुन्छ ?

लैङ्गिक समानता र सामाजिक न्याय सुनिश्चित गर्न आवश्यक कानुनी र नीतिगत सुधारहरूमा दिर्घकालीन समानता सुनिश्चित गर्ने कानुनहरूको प्रभावकारी कार्यान्वयन महत्त्वपूर्ण छ । म यस प्रक्रियामा उचित व्यवस्थापन र निगरानी गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता राख्छु ।

संघीय संरचनाको प्रभावकारिता बारे तपाईँको मूल्याङ्कन के छ ?

संघीय संरचनाको प्रभावकारिता सुनिश्चित गर्न सबै क्षेत्र र तहमा समानुपातिक बजेट वितरण अत्यावश्यक छ । स्रोतको न्यायोचित व्यवस्थापन र समान अवसर सुनिश्चित गर्दै बजेट विनियोजन गर्दा संघीय प्रणाली प्रभावकारी र दिगो बन्न सक्छ ।

संसद्मा निर्वाचित भएमा तपाईँले उठाउने पहिलो प्रस्ताव के हुनेछ ?

संसद्मा निर्वाचित भए मेरो पहिलो प्रस्ताव संविधानको रक्षा र सुशासन सुनिश्चित गर्ने हुनेछ । हाल भइरहेका कामहरूलाई प्रभावकारी र व्यवस्थित बनाउँदै भविष्यमा कुनै समस्या उत्पन्न नहुने वातावरण सिर्जना गर्ने योजनालाई प्राथमिकताका साथ अगाडि बढाउनेछु ।

राष्ट्रिय स्तरका प्रमुख मुद्दा (आर्थिक सुधार, परराष्ट्र नीति, ऊर्जा संकट आदि) मा तपाईँको धारणा के छ ?

राष्ट्रिय स्तरका आर्थिक सुधार, परराष्ट्र नीति र ऊर्जा जस्ता प्रमुख मुद्दामा हाम्रो पार्टीले पृथक दृष्टिकोण अपनाएको छ । छिमेकी मुलुकप्रति समान दृष्टिकोण राख्दै सबैसँग मित्रवत् सम्बन्ध विकास गर्नुपर्नेछ । हामी स्वाधीनतामा आधारित निर्णय गर्दै छिमेकी राष्ट्रहरूको उच्च सम्मान गर्दै कूटनीतिक र आर्थिक सम्बन्ध अगाडि बढाउनेछौँ ।

तपाईँको जितपछि मतदातासँग प्रत्यक्ष संवाद र गुनासो सुनुवाइ कसरी गर्नुहुन्छ ?

म निर्वाचित भएपछि मतदातासँग प्रत्यक्ष संवाद कायम राख्ने मेरो प्राथमिकता हुनेछ । नियमित भेटघाट, छलफल र प्रभावकारी माध्यममार्फत उनीहरूको समस्या, सुझाव र गुनासो सुन्ने सुनिश्चित गर्नेछु ।

तपाईँ एउटा सफल व्यवसायी हुँदाहुँदै किन राजनीतिमा लाग्नुभयो ?

म व्यवसायमा सफल भए पनि राजनीतिमा लाग्नुको कारण राजनीति केवल कमाउने माध्यम होइन, सामाजिक सेवा गर्ने अवसर हो भन्ने मेरो दृढ विश्वास हो। नेपालमा सकारात्मक परिवर्तन ल्याउन, जनताको जीवनस्तर सुधार्न र समाजका चुनौती समाधान गर्न सक्ने क्षमता प्रयोग गर्ने उद्देश्यले म राजनीतिमा आएको हुँ । राजनीति मार्फत सेवा गर्दा प्राप्त हुने सन्तुष्टि नै मेरो प्रेरणा हो ।

अन्त्यमा, काठमाडौँँँ क्षेत्र नं. १ का मतदातालाई तपाईँको सन्देश के छ ?

अन्त्यमा, म काठमाडौँँँ क्षेत्र नं. १ का सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्न चाहन्छु कि यस क्षेत्रलाई नेपालकै व्यवस्थित, सुरक्षित र सुन्दर नमुना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट योजना र प्रतिबद्धता मसँग छ । विकास, सुशासन र उत्तरदायी नेतृत्वका लागि म पूर्ण समर्पणका साथ काम गर्नेछु । तपाईँहरूको अमूल्य मत र विश्वासले मात्र यो प्रयास सफल हुनेछ । एकपटक मलाई अवसर दिनुहोस्, र म तपाईँहरूको अपेक्षा र भरोसालाई व्यवहारमा उतार्ने वाचा गर्दछु ।

-कानुन निर्माणलाई प्राथमिकता

-बाढी जोखिम न्युनीकरणको प्रयासमा समर्पित हुन्छु

-सडक र ट्राफिक सुधार मेरो उच्च प्राथमिकता

-युवालाई रोजगारी सिर्जना गर्ने विशेष रणनीति ल्याउनेछु

-शिक्षा र स्वास्थ्य सुधारको योजनाअनुसार काम गर्नेछु

-साना व्यवसाय प्रवद्र्धनमा विशेष जोड दिइने छ

-पर्यटन र जलस्रोत विकासमा विशेष ध्यान दिइने छ

-युवालाई आईटी र डिजिटल सीपमा सशक्त बनाउँछु

-राजनीतिमार्फत सधँ जनताको सेवामा समर्पित हुनेछु

Explore by Source or Category