npl.977 Nepal News Stream

#अन्तर्राष्ट्रिय

Sutra News logo Sutra News

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘भेनेजुएलामाथिको हवाइ क्षेत्र पूर्ण रूपमा बन्द’ भएको दाबी

सुत्र न्युज 20 hours ago

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथिको हवाई क्षेत्रलाई ‘पूर्ण रूपमा बन्द मान्नुपर्ने’ घोषणा गरेका छन्।  शनिबार बिहान सामाजिक सञ्जालमार्फत एक विशेष सन्देश सार्वजनिक गर्दै ट्रम्पले एयरलाइन्स (विमान सेवा), पाइलट र मादक पदार्थ तस्करी तथा मानव–तस्करीमा संलग्न व्यक्तिहरूलाई लक्षित गरेकाे बताएका छन् ।

उक्त सन्देशमा उनले भनेका छन्, ‘सबै विमान सेवा, पाइलट, ड्रग–तस्कर तथा मानव–तस्करहरूलाई आग्रह—भेनेजुएलामाथि तथा वरिपरिको हवाई क्षेत्रलाई पूर्ण रूपमा बन्द मान्नुहोस्।’

तर उनले उक्त भनाइ कहिले र कसरी लागू गरिन्छ वा यसले कस्तो व्यवहारिक प्रभाव पार्नेछ भन्ने बारे कुनै विवरण भने दिएका छैनन्।

यस घोषणापछि भेनेजुएलाको सरकारले कडा प्रतिक्रिया जनाउँदै ट्रम्पको भनाइलाई आप्रवासी तथा मानव अधिकार विरुद्धको कदम, अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र उपनिवेशवादी शैलीको धम्की भन्दै विरोध गरेको छ। सरकारका अनुसार यस्तो एकतर्फी घोषणा उनको राष्ट्रिय सार्वभौमिकतामाथिको हस्तक्षेप हो।

यो विवाद त्यतिबेला चुलिएको हो, जब अमेरिकाले क्यारिबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै आएको छ। भेनेजुएलामा लागुऔषध तस्करी नियन्त्रणको नाममा अमेरिकी सेनाले समुद्री तथा हवाई निगरानी गस्ती तीव्र पारेको छ, जसका कारण केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए।

अन्तर्राष्ट्रिय कानुन अनुसार, आफ्नो हवाई क्षेत्रमाथिको पूर्ण अधिकार प्रत्येक स्वाधीन राष्ट्रको हुन्छ, र अन्य कुनै देश वा राष्ट्रप्रमुखले त्यसलाई ‘बन्द’ घोषणा गर्ने अधिकार राख्दैनन्। त्यसैले ट्रम्पको दाबीलाई कानुनविद्हरूले अवैध र अमान्य मानिरहेका छन्।

Explore by Source or Category