npl.977 Nepal News Stream

PalikaNews logo

PalikaNews

Contents

भुल्केगाउँमा खानेपानी समस्या अन्त्य‘ : एक घर, एक धारा’ पालिकाकाे अभियानबाट ४६८ घरधुरी लाभान्वित

पालिका ब्यूरो 5 hours ago

खोटाङ – रामप्रसादराई गाउँपालिका–३ भुल्केमा वर्षौँदेखि रहँदै आएको खानेपानी समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् ।

‘एक घर, एक धारा’ अभियानअन्तर्गत गाउँका ४६८ घरधुरीमा खानेपानी सेवा विस्तार गरिएपछि पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने बाध्यता हटेको छ । घरघरमा धारा पुगेपछि दैनिक जीवन सहज बनेको स्थानीयले बताएका छन् ।

स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको सास्ती समाप्त भएको छ । “पहिले टाढाबाट पानी बोकेर ल्याउनुपथ्र्यो । अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ,” उनले भने, ।

अर्की स्थानीय सरस्वती भट्टराईले विगत सम्झिँदै भने, “घरभन्दा पर रहेका तीनवटा धाराबाट डोको बोकेर पानी ल्याउनुपथ्र्यो । अहिले आँगनमै धारा जडान भएपछि सरसफाइमा सहज भएको छ। खेर जाने पानी करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।”

वडाध्यक्ष रामु थापामगरका अनुसार वडाभरिका सबै ४६८ घरमा धारा जडान कार्य सम्पन्न भइसकेको छ । “एक घर, एक धारा अभियान सफल भएको छ । अब स्थानीयले वर्षौँदेखिको पानी समस्या भोग्नुपर्दैन,” उनले भने, ।

धारा जडानसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडाले ‘एक घर, एक फिल्टर’ अभियानसमेत सञ्चालन गरेको जनाएको छ । पानीजन्य रोगबाट बच्न प्रत्येक घरमा पानी फिल्टर वितरण गरिएको वडाध्यक्ष थापामगरले जानकारी दिए ।

स्थानीय तहको पहलमा सम्पन्न भएको यो योजनाले भुल्के बासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । सुरक्षित खानेपानीको पहुँचसँगै स्वास्थ्य, सरसफाइ र समय व्यवस्थापनमा उल्लेख्य सुधार आएको स्थानीयले बताएका छन् ।

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

पालिका ब्यूरो 5 hours ago

कैलाली – वर्षायाममा उग्र बहावका कारण त्रास फैलाउने कर्णाली नदी हिउँद लागेसँगै स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षयता कर्णाली नदीको किनार र टापु क्षेत्रमा बगरखेती गर्दै आएकाछन् । सिँचाइको सहजता र राम्रो उत्पादनका कारण उहाँले नदी किनारको खाली बालुवे फाँटलाई उपयोग गर्दै व्यावसायिक खेती विस्तार गरेका हुन् ।

पुनिरामले विशेषगरी प्याजखेतीलाई प्राथमिकता दिएकाछन् । उनका अनुसार बालुवे जमिनमा प्याजको उत्पादन सन्तोषजनक हुन्छ । “प्याजलाई धेरै सिँचाइ चाहिन्छ । नदी किनारमा पानीको सहज उपलब्धता हुँदा उत्पादन राम्रो हुन्छ,” उनी भन्छन्, “खाली खेर गइरहेको बगर आज आम्दानीको स्रोत बनेको छ ।”

उनले बर्सेनि १० देखि १२ क्विन्टलसम्म प्याज उत्पादन गर्दै आएका छन् । प्याजसँगै धनिया, मकै, बन्दागोभी र टमाटरसमेत लगाउने गरेका छन् ।

कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपासको क्षेत्रमा यतिबेला हरियाली छाएको छ । ढुङ्गारहित बालुवे क्षेत्रमा स–साना प्लट बनाएर लहरै प्याजखेती गरिएको देखिन्छ । वडा नं. ८ फाँटागाउँका करिब ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापु क्षेत्रमा प्याजखेती गर्दै आएका छन् ।

स्थानीयका अनुसार बगरबाट बर्सेनि करिब ७०० क्विन्टलभन्दा बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल उत्पादन गछन् । उत्पादन सोचेभन्दा राम्रो हुन्छ,” स्थानीय सम्झनी चौधरी भन्छन्, । उनका अनुसार पछिल्लो समय खेती गर्ने किसानको संख्या र क्षेत्रफल दुवै बढ्दै गएको छ ।

टीकापुर–८ बटनपुरकी सम्पुर्नी चौधरीले यस वर्ष पहिलोपटक नदी टापुमा प्याजखेती गर्नुभएको छ । गत वर्ष अरूले गरेको देखेर पाँच किलो प्याज रोप्नुभएकी उनी अहिले उत्पादनप्रति आशावादी छन् । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ। बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ,” उनी भन्छन् ।

बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याज रोप्नुभएको छ । “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि वर्षभरि घरका लागि पुग्ने प्याज उत्पादन भए पुग्छ,” उनको भनाइ छ । यद्यपि, आगामी वर्ष व्यावसायिक रूपमा विस्तार गर्ने सोच उनको छ ।

कर्णाली नदीको बाढीले वर्षायाममा स्थानीयलाई रातभर जाग्राम बस्न बाध्य बनाउँछ । तर हिउँदमा सोही नदीको किनार उत्पादनशील फाँटमा परिणत हुन्छ। सामान्य मलखाद र कम श्रममै राम्रो आम्दानी हुन थालेपछि स्थानीय उत्साहित छन् ।

“वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जे पनि हुनसक्छ भन्ने चिन्ता सताउँछ,” स्थानीय बृहस्पति थरूनी भन्नुहुन्छ, “तर हिउँदमा त्यहीँ बालुवे फाँटले आम्दानी दिँदा बर्खाको दुःख बिर्सिन्छौं ।”

खेती गरेबापत कुनै कर वा भाडा तिर्नु नपर्ने भएकाले किसानहरू झन् उत्साहित देखिन्छन् । बगरको सदुपयोग गर्दै व्यावसायिक उत्पादनतर्फ उन्मुख स्थानीय किसानले नदी किनारको अर्थतन्त्रलाई नयाँ दिशा दिएका छन् ।

खेर गइरहेको बगर अहिले स्थानीयको जीविकोपार्जनको आधार बनेको छ । कर्णालीको किनारमा फैलिएको हरियालीले प्राकृतिक जोखिमबीच सम्भावनाको नयाँ कथा लेखिरहेको छ ।

Explore news by Source or Category