News of Nepal
अर्बौँ खर्च भइसकेको इम्बोस्ड नम्बर भविष्य के ?
इम्बोस्ड नम्बर प्लेट जडानका लागि यातायात व्यवस्था विभाग र ‘डेकाटुर टाइगर आईटी’बीच भएको सम्झौता २०८२ मंसिर ११ गतेबाट सकिएको छ । विभागले अतिरिक्त आर्थिक भार नपर्नेगरी समय थप्ने प्रस्ताव गरेको थियो । तर, जडानकर्ता डेकाटुर टाइगरले जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट १६ मिलियन डलरभन्दा बढी क्षति भएको र क्षतिपूर्ति पाए मात्र समय थप्न तयार भएपछि अहिले इम्बोस्ड नम्बर प्लेट परियोजना अलपत्र छ ।
आगजनीबाट ८ लाख ५० हजारभन्दा बढी नम्बर प्लेट जलेर नष्ट भएका थिए, जसमा करिब ६ लाख ८० हजार विभागले बुझिसकेका र २ लाखभन्दा बढी कम्पनीले प्रिन्ट गरेर राखेका थिए । सम्झौता २०७३ मा भएको र दुईपटक समय थपिएको थियो । हालसम्म १ लाख सवारीमा मात्र इम्बोस्ड प्लेट जडान भएको र विभागले कम्पनीलाई १० लाखभन्दा बढी प्लेटको अर्डर दिइसकेको छ ।
दुवै पक्षबीच सहमति नभए यो विषय कानुनी तथा प्रशासनिक रूपमा झनै जटिल बन्ने संकेत देखिएको छ । इम्बोस्ड नम्बर प्लेट परियोजनाको प्रारम्भिक अवस्थाले नै भविष्यको विफलता संकेत गरेको थियो । बोलपत्रको मूल्यांकनमा सबैभन्दा सस्तो प्रस्ताव गर्ने कम्पनीलाई कागजात अपूर्णता देखाएर प्रतिस्पर्धाबाट हटाउँदै महँगो प्रस्तावलाई छनोट गरिएको थियो । यस्तो पक्षपाती निर्णय राजनीतिक तथा प्रशासनिक चलखेलको परिणाम भएको देखिन्छ । सोही कारण परियोजनाको लागत अनावश्यक रूपमा बढ्दै गयो र अन्ततः उपभोक्ताले ५ गुणा महँगो मूल्य तिर्नुपर्ने अवस्था सिर्जना भयो ।
चयन गरिएको कम्पनी विवादास्पद भएकै कारण परियोजना सुरुदेखि जोखिमयुक्त रह्यो । उक्त कम्पनीलाई विश्व बैंकले कालोसूचीमा राखिसकेको थियो । तर, यस्तो कम्पनीलाई ठेक्का दिलाउन विभिन्न शक्ति केन्द्रले भूमिका खेलेको देखिन्छ,परियोजनामा समावेश गरिएको ‘काम नगरे पनि ९५ प्रतिशत रकम भुक्तानी’ को बुँदा नेपालका सार्वजनिक खरिद इतिहासकै सबैभन्दा एकपक्षीय र अस्वीकार्य प्रावधान हो । यस्ता प्रावधानका कारण परियोजना ढिलो हुँदा पनि राज्यले निरन्तर भुक्तानी गर्नुपर्ने बाध्यता सिर्जना भयो, सरकारी नियन्त्रण कमजोर बन्यो र कम्पनीले उल्टै क्षतिपूर्ति माग्दै कानुनी विवादतर्फ धकेल्ने अवस्था आएको छ।
कम्पनीले देवनागरी अक्षर नमान्ने अडान लिएपछि सर्वोच्च अदालतको मुद्दाका कारण दुई वर्षभन्दा बढी काम रोकियो । त्यसपछि कोभिड–१९ ले थप अवरोध सिर्जना ग¥यो । नेपालमा नम्बर प्लेट भारतको तुलनामा ५ गुणा महँगो पर्नु उपभोक्तामाथिको आर्थिक अन्याय हो । विभाग स्वयंले ३६ प्रतिशत नाफा राख्ने व्यवस्था मिलाएको तथ्य कालोबजारी विरोधी ऐनको प्रत्यक्ष उल्लंघन हो । यसले विशेषगरी निम्न तथा मध्यम आय वर्गका नागरिकमाथि ठूलो आर्थिक भार थोपरेको छ ।
विभागले पटक–पटक ‘अनिवार्य’ भन्दै जरिवाना घोषणा गर्ने तर आलोचना भएसँगै चाँडै फिर्ता लिने प्रवृत्तिले जनतामा अविश्वास गहिरो बनायो । नीति अस्पष्ट हुँदा नागरिक निरन्तर अन्योल र दबाबमा परे, जसले विभागको मनोमानीका बारेमा उठ्ने आलोचना अझ प्रबल बनायो ।
त्यस्तै जडान केन्द्र सहरमा मात्र सीमित हुँदा ग्रामीण क्षेत्रका नागरिकले धेरै दिन यात्रा गर्नुपर्ने, बढी खर्च बेहोर्नुपर्ने बाध्यता बन्यो । यस्तो अवस्था समावेशी सेवाको मर्मसँग मेल खाँदैन । जनता र राज्यको अर्बौ रुपियाँ खर्च भइसकेको परियोजना ज्यूँदै राख्ने वा नयाँ प्रणाली लागू गर्ने दुवै अवस्थामा नाफा सीमाको कडाइ, ठेक्काको पुनरावलोकन, घरेलु उद्योगलाई प्रोत्साहन, सेवा विस्तार र डिजिटल पारदर्शिता अनिवार्य हुनुपर्छ । यस्तो नहुँदा इम्बोस्ड प्लेट परियोजना फेरि अर्बौं घाटा, राजनीतिक–व्यावसायिक सिण्डिकेट र अविश्वासको नयाँ चक्रमा फस्ने जोखिम उच्च छ ।





