npl.977 Nepal News Stream

#Stock

Tourism Face logo Tourism Face

केटिएम हस्पिटालिटी सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने तयारीमा

Tourism Face 12 hours ago

काठमाडौं । चितवनको सौराहामा पाँचतारे लक्जरी रिसोर्ट ‘रोयल टुलिप चितवन’ सञ्चालन गर्दै आएको केटिएम हस्पिटालिटी लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले सर्वसाधारणका लागि १५ करोड ५० लाख रुपैयाँ बराबरको आइपिओ ल्याउने भएको हो।

बुधबार सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभाले पुँजी संरचना परिमार्जन गर्दै आइपिओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गरेको छ। सभाबाट अधिकृत पुँजी १ अर्ब रुपैयाँ, जारी पुँजी ७७ करोड ५० लाख रुपैयाँ र चुक्ता पुँजी ६२ करोड रुपैयाँ कायम गर्ने निर्णय भएको छ। कुल चुक्ता पुँजीको २० प्रतिशत हिस्सा सर्वसाधारणलाई सेयरमार्फत उपलब्ध गराइनेछ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा पर्यटन तथा आतिथ्य क्षेत्रमा हुने लगानीले राष्ट्रिय अर्थतन्त्रलाई थप चलायमान बनाउने धारणा व्यक्त गरियो।

कम्पनीका अध्यक्ष रामेश्वर शाहले आइपिओमार्फत सर्वसाधारणलाई पनि कम्पनीको यात्रामा सहभागी गराउँदै हस्पिटालिटी व्यवसायलाई विस्तार गर्ने लक्ष्य लिइएको बताए।

हाल केटिएम हस्पिटालिटीले सौराहामा ६५ कोठा क्षमताको पाँचतारे लक्जरी रिसोर्ट सञ्चालन गर्दै आएको छ। अन्तर्राष्ट्रिय ब्रान्ड ‘रोयल टुलिप’ अन्तर्गत सञ्चालन भइरहेको यस रिसोर्टले नेपाली पर्यटन बजारमा उच्चस्तरीय सेवा प्रवाह गर्दै आएको छ।

पर्यटन क्षेत्रमा सार्वजनिक लगानी बढाउने र होटल उद्योगमा नयाँ पुँजी भित्र्याउने प्रयासका रूपमा केटिएम हस्पिटालिटीको आइपिओलाई अर्थपूर्ण कदमका रूपमा हेरिएको छ।

The post केटिएम हस्पिटालिटी सार्वजनिक सेयर बजारमा प्रवेश गर्ने तयारीमा first appeared on Tourism Face.

Explore by Source or Category