तथ्यांक कार्यालयले माग्यो ५२६ सुपरिवेक्षक र ३९१३ गणक, अढाइ महिनालाई आवेदन खुला
काठमाडौं। राष्ट्रिय आर्थिक गणना २०८२ मा स्थलगत तथ्यांक संकलन तथा सुपरिवेक्षणका लागि राष्ट्रिय तथ्यांक कार्यालयले उल्लेख्य संख्यामा सुपरिवेक्षक र गणक लिने भएको छ।
साढे दुई महिनाको कामका लागि करारमा ५२६ सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक लिइने भएको हो। यसका लागि कार्यालयले बिहीबार सूचना जारी गरेको छ।
राप अनंकित प्रथम श्रेणी दर्जाको सुपरिवेक्षकले मासिक ३४ हजार ७ सय ३० रुपैयाँ तलब पाउनेछन्। शैक्षिक योग्यतामा स्नातक तह उत्तीर्ण हुनुपर्छ। यस्तै राप अनंकित द्वितीय श्रेणी दर्जाको गणकले मासिक ३२ हजार ९ सय २ रुपैयाँ पाउनेछन्। शैक्षिक योग्यतामा १२ कक्षा पास गरेको हुनुपर्छ।
दरखास्त अनलाइन दिन सकिन्छ। आवेदकको छनोट सर्टलिस्ट र अन्तर्वार्ताबाट गरिने सूचनामा छ। राष्ट्रिय तथ्यांक कार्यालयले गर्ने राष्ट्रिय आर्थिक गणना भनेको मुलुकभर सञ्चालनमा रहेका उद्योग, व्यापार, सेवा, निर्माण, यातायात, पर्यटनलगायत कृषिबाहेकका सबै आर्थिक गतिविधिको पूर्ण गणना हो। यसमा व्यवसायको प्रकार, स्थान, स्वामित्व, लगानी, रोजगारी, उत्पादन र कारोबारसम्बन्धी विवरण संकलन गरिन्छ।
साधारण सर्वेक्षणभन्दा फरक, यसले सबै आर्थिक एकाइ समेट्छ। सामान्यतया १०–१० वर्षमा एकपटक गरिने यो गणनाले नेपालको अर्थतन्त्रको संरचना, औपचारिक तथा अनौपचारिक क्षेत्रको अवस्था र रोजगारीको वास्तविक तस्बिर देखाउँछ। यसका आधारमा जीडीपी गणना सुधार, नीतिनिर्माण, योजना तर्जुमा तथा क्षेत्रगत विकासका कार्यक्रम तय गर्न सहयोग पुग्छ।
दोस्रो राष्ट्रिय आर्थिक गणना २०८२ का लागि राष्ट्रिय तथ्यांक कार्यालयले कार्यतालिका सार्वजनिक गरिसकेको छ। तालिका अनुसार स्थलगत रुपमा २ वैशाख २०८३ देखि ७ असार २०८३ भित्र तथ्यांक संकलन गर्ने लक्ष्य छ।
गणनामा १८ वटा आर्थिक क्षेत्र अन्तर्गत उद्योग, व्यापार, सेवा, विद्यालय, अस्पताल आदि प्रतिष्ठान/एकाइहरूको विवरण संकलन गरिनेछ, तर सुरक्षा निकाय, कूटनीतिक नियोग, प्रशासनिक कार्यालय तथा घरायसी क्रियाकलापहरू समावेश नहुने स्पष्ट गरिएको छ।
गणनाका लागि तयारी कार्यहरू (पूर्वचरण) फागुन मसान्तसम्म पूरा गर्ने र देशभर ७७ जिल्ला र थप ८४ कार्यालयहरू स्थापना गर्ने योजना छ। यसले आर्थिक संरचना, रोजगारी, लगानी र उत्पादनबारे विस्तृत तथ्यांक उपलब्ध गराउनेछ। करारमा लिइने कर्मचारीले सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमा काम गर्नुपर्ने सूचनामा छ।
The post तथ्यांक कार्यालयले माग्यो ५२६ सुपरिवेक्षक र ३९१३ गणक, अढाइ महिनालाई आवेदन खुला appeared first on BIZMANDU.